‘लकडाउन खुकुलो हुँदैमा ह्वारह्वार्ती बाहिर ननिस्कौँ’

 जेठ ३०, २०७७ शुक्रबार १७:५६:२२ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - सरकारले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने रणनीतिअनुसार पहिलो चरणको मोडालिटी लागु भइसकेको छ । पहिलो चरणको मोडालिटीअनुसार निजी गाडीमा जोर बिजोर प्रणाली लागु भएको छ भने अति आवश्यक पसल र केही व्यवसायहरु खुलेका छन् । तर नयाँ मोडालिटीअनुसार लकडाउन खुकुलो बनाइएको भनिएसँगै सहरबजारमा चहल पहल निकै बढ्न थालेको छ ।

कोरोनाको सङ्क्रमण दर बढ्दो क्रममा छ । तर गाडीको आवत जावत र चहल पहल पनि बढ्दै गइरहेको छ । मानिसहरु ह्वारह्वार्ती बाहिर निस्कन थालेका छन् । यसै विषयमा टेकमान शाक्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्नुभएको छ ।

लकडाउन नै हटिसक्यो, कोरोनाको सङ्क्रमण नै टरिसक्यो जस्तोगरी मानिसहरु बाहिर निस्कन थालेका छन् । यसले सङ्क्रमण झन् बढ्ने खतरा भयो । यस विषयमा केही सोच्नुभएको छ ?

हामीले पहिलेदेखि नै भौतिक दूरी कायम गर्नुपर्ने भन्दै आएका छौँ । अहिले कोरोना सङ्क्रमण समाप्त भइसकेको अवस्था होइन । भिडभाडमा जानु घातक छ भनेर सबैले बुझ्नुपर्यो । स्वास्थ्य मन्त्रालयले यसको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पाएको छ । रोगको विषयमा खेलाँची नगरौँ भन्छु म । जो बाहिर निस्कन्छन्, उसैको माध्यमबाट सङ्क्रमण बढ्ने भएकोले अति आवश्यक कामबाहेक खचाखच भएर बाहिर ननिस्कन म सबैलाई अनुरोध गर्न चाहन्छु ।

सङ्क्रमण दर बढ्दैछ । त्यससँगै चहलपहल पनि बढ्दैछ । अरु देशकोजस्तै अवस्था भयो भने के होला भन्ने चिन्ता पनि छ । यतातिर हामीले ध्यान दिन सकिरहेका छौँ कि छैनौँ ?

कोरोना सकिएको होइन । लामो समयसम्म लकडाउन भएसँगै मान्छेलाई निकै गार्हो भयो भनेर अलिक खुकुलो बनाएका मात्रै हौँ । त्यो पनि स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अपनाएर । व्यापार तथा व्यवसाय पनि सङ्चालन होस् र कोरोनाले असर पनि गर्न नसकोस् भनेर हामीले बिचको बाटो रोजेका हौँ । सधैँभरि लकडाउन कडाइ गरेर मात्रै पनि सम्भव नभएकोले लकडाउनलाई थप खुकुलो बनाउँदै लैजाने सरकारको रणनीति हो । 

हामीले जे जे मापदण्ड अपनाउनुपर्ने भनेका छौँ, त्यो सबै पालना गरौँ । यदि सङ्क्रमणदर ह्वात्तै बढ्यो भने हामीले अरु उपायहरु खोज्नुपर्ने हुन सक्छ । पछिको बाटोलाई हेरेर पनि हामीले अहिले होसियार हुनुपर्ने बाध्यता छ ।

मापदण्ड पूरा गरेर मात्रै घरबाहिर निस्कन दिने भनिएको छ । त्यसको पालना भएन भने सरकारले फेरि कडा निर्णय गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा झन् धेरै समस्या आउन सक्छ । त्यसैले यस्तो सम्वेदनशील विषयमा एक पक्षले मात्रैभन्दा पनि सबै पक्षले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । 

लकडाउन खुकुलो बनाएर केही गतिविधि सञ्चालन गर्ने नाममा हामी कतै चुक्यौँ कि ? चहल पहल ह्वात्तै बढेकोले लकडाउनको मोडालिटीबारे अझै गम्भीर बन्नुपर्छ कि ?

त्यस्तो कमजोरी भएको छैन । सरकार र स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने र भन्नुपर्ने काम राम्रैसँग भएको छ । यदि भोलिका दिनमा भयानक असर पैदा गर्यो भने त्यसको तयारीका लागि फेरि हामीले अर्को स्तरमा काम गर्नुपर्ने हुन्छ । आज धेरै व्यक्तिमा कोरोना देखियो र भयावह अवस्था भइसक्यो भन्ने हिसाबले विचार गर्न भएन । काठमाण्डौको कुरा गर्ने हो भने कम्युनिटीमा कोरोना प्रवेश गरेकै छैन । 

परीक्षण गर्दै आवश्यकताअनुसार आइसोलेसनमा राख्ने, अस्पताल लैजानेलगायतका काम भइरहेकै छन् । तर अझै धेरै केसमा कोरोना परीक्षण गर्न बाँकी हुन सक्छ । त्यस्ता मानिसरुले भौतिक दूरी कायम गर्नेदेखि हरेक कुरामा अलि ध्यान पुर्याउन म आग्रह गर्छु । कोरोनाको शङ्का लागेका व्यक्तिले अलिक सावधानी पुर्याउने हो भने एक जनाको कारणले अरु व्यक्तिमा यसको असर र डर कम हुने थियो ।

साथीभाइ र आफन्त जो कोही व्यक्तिमा पनि कोरोना पोजेटिभ हुन सक्ने कुरा हामीले भुल्नुहुँदैन । सबै जना कोरोना संक्रमित हुन सक्छन् भनेर हामीले गतिविधिहरु अघि बढाउनुपर्ने हुन सक्छ । सङ्क्रमण नै सकिएको जस्तोगरी ह्वारह्वार्ती बाहिर ननिस्कौँ ।

लकडाउनको नयाँ मोडालिटीअनुसार २१ दिनको पहिलो चरणका गतिविधि सञ्चालन भइसकेका छन् । अहिलेकै चहलपहल हेर्ने हो भने २१ दिनपछि दोस्रो चरणको मोडालिटीमा जान सक्ने अवस्था नरहन पनि सक्छ । लकडाउन खुकुलो बनाउने पहिलो चरणको मोडालिटी कसरी व्यवस्थापन हुँदै छ ?

सरकारले जे निर्णय गरेको छ, त्यसको पूर्ण कार्यान्वयन हुन्छ । लागु गर्दै जाँदा कतै समस्या आइपर्यो भने त्यसको पनि समाधान निस्कने छ । हामी अध्ययन गर्दै अघि बढ्नेछौँ । सरकारको निर्णय कार्यान्वयन गर्दै चुपचाप लागेर हामी बस्दैनौँ । परीक्षणको दायर कसरी बढ्छ, गतिविधि कसरी सञ्चालन हुन्छ, त्यो हेरेर तय गर्नेछौँ । आज गरेको निर्णय सधैँभरिलाई लागु हुने भन्ने हुँदैन । लकडाउन सुरु गर्ने समयमा पनि त्यसरी नै सुरु गरेका थियौँ । अवस्था हेरेर हाम्रा प्रयासहरु परिवर्तन हुन सक्छ ।

परीक्षणको दायरा हामीले कसरी अघि बढाउँदैछौँ ?

हामीले बढाइरहेका छौँ । हरेक दिन ५ हजारभन्दा धेरैको सङ्ख्यामा परीक्षण गर्न थालेका छौँ हामीले । पहिलो रिपोर्ट हङकङमा स्वाब लगेर परीक्षण गरेर ल्याइएको थियो । अहिले पीसीआर मेसिनले ५ हजार १ सय भन्दा धेरैमा परीक्षण गर्दैआएका छौँ । हामीले परीक्षण दर बढाउने प्रयास गरिरहेका छौँ । पीसीआर मेसिनहरु थप्ने, टेष्ट किटहरु थप्ने र एक सिफ्टमा चलेका ल्याबहरुलाई दुईदेखि तीन सिफ्टमा सञ्चालन गर्नेलगायत काम गरेर हामीले प्रयास गरिरहेका छौँ । हामी अझै परीक्षणको दायरा बढाउँदै छौँ ।

सङ्क्रमण दर घटाउन स्वास्थ्य मन्त्रालयले के के गरिरहेको छ ?

जसलाई कोरोना लागेको आशङ्का लागेको छ, जो उच्च जोखिममा छ उसलाई परीक्षण गर्ने, जसको कोरोना पोजेटिभ आएको छ उसको व्यवस्थापन गर्ने, समस्या परेकोलाई उपचार गर्ने काम गरिरहेका छौँ । कोरोना पोजेटिभ हुँदैमा सबैलाई स्वास्थ्य समस्या भइहाल्छ भन्ने छैन । स्वास्थ्य मन्त्रालयले त्यसको पूर्ण व्यवस्थापन गरेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया