कर्णालीमा कोरोना कहरः जनशक्ति र पूर्वाधार अभाव

 जेठ ३१, २०७७ शनिबार २१:२६:४६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको छ । सामान्य अवस्थामै चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको अभाव झेल्नुपर्ने कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाे बेला उपचारमा खटिने स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको हो ।

कोरोना महामारीकाे समयमा पालिकामा चिकित्सकको अभाव छ । पालिकाले क्वरेण्टीनलाई नै केही सुधार गरेर आइसोलेशनकाे रुपमा परिवर्तन गरी सङ्क्रमितको उपचार गरेका छन् । पूर्वाधार र जनशक्तिको अभाव भएको उनीहरुले बताएका छन् । कर्णालीमा शनिबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नाै सय १६ पुगेको छ । 

अहिलेसम्म सबैभन्दा बढी दैलेखमा कोरोना सङ्क्रमित भेटिएका छन् । दैलेखमा पाँच सय दुई जना सङ्क्रमित भेटिएको महाशाखाले जनाएको छ । सुर्खेतमा एक सय ९७ जना, सल्यानमा एक सय जना, कालीकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा आठ जना, मुगुमा दुई जना, हुम्लामा एक जना, डोल्पामा एक जना र अन्य प्रदेशका बासिन्दाको सङ्ख्या १६ रहेको छ ।
 
दरबन्दी अनुसार जनशक्ति नहुँदा कोरोना महामारीसँग जुध्न चुनौती थपिएको छ । प्रदेशभर अहिले ५० जना विशेषज्ञ चिकित्सक छन् । कर्णालीमा प्रदेश मातहतका ३३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । त्यसमध्ये पनि २५ जना चिकित्सक भने करारमा नियुक्त गरिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुुसार प्रदेश मातहतका मात्रै ५९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ ।

तर त्याे दरबन्दीमा आठ जनाको मात्रै पदपूर्ति भएको छ । ५१ चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले चिकित्सकको अभावकाे कारण कोरोना उपचार प्रक्रियामा चुनौती भएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेकाे बेला स्थानीयस्तरमा समेत आइसोलेशन थप गर्नुपर्ने देखिएको छ ।

तर त्यहाँ खटाइने डाक्टरको अभाव छ । पालिकाहरूमा अहिले पाँचौँ र छैठौँ तहका स्वास्थ्यकर्मी मात्रै छन् । उनीहरुकै भरमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । 

प्रदेशका अधिकांश पालिकामा कोरोना सङ्‍क्रमण फैलिसकेको छ । सङ्क्रमितलाई पालिकामै आइसोलेशन बनाएर उपचार गर्ने गरिएको छ । आइसोलेशनमा कम्तीमा एक जना मेडिकल अधिकृत खटिनुपर्ने हुन्छ । जनशक्ति अभावमा अहिले त्यहाँ अनमी, अहेब र एचए उपचारमा खटिनुपरेको छ । 

पालिकाका आइसोलेशनमा भने अनुसार चिकित्सक खटाउन सकिएको छैन । ‘अहिले पालिकामै भइरहनुभएका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमितको उपचारमा खटिनुभएको छ,’ निर्देशक भण्डारीले भन्नुभयो, ‘आपत्कालीन रुपमा चिकित्सक खटाउने गरेका छौँ', उहाँले भन्नुभयो ।

भण्डारीका अनुसार जनशक्ति अभाव भएपछि करारमा चिकित्सक भर्ना गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको छ । तर करारमा पनि तत्काल चिकित्सक आउने अवस्था देखिएको छैन ।

पहिले पनि करारमा चिकित्सक माग गर्दा यहाँ डाक्टर नआएकाले यस पटक झन् कोरोना महामारीमा खटिने गरी चिकित्सक आउने सम्भावना कमै रहेको उहाँको भनाइ छ ।

कर्णालीका जिल्लाहरूमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति भएको छैन । प्रत्येक जिल्ला अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अधिकांश जिल्लामा करारमा एक/एक जना विशेषज्ञ चिकित्सक राखेर व्यवस्थापन गरिएको छ । 

तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको मुगुमा एक जना पनि चिकित्सक छैनन् । जाजरकोट, कालीकोट, डोल्पा र हुम्लामा एक/एक जना विशेषज्ञ चिकित्सक करारमा राखिएको छ ।

प्रदेशभर एक सय १२ जना मेडिकल अधिकृतको दरबन्दी भएकोमा २० जनाको मात्रै पदपूर्ति भएको छ । ९२ दरबन्दी रिक्त छ । ५८ जना मेडिकल अधिकृत करारमा लिइएको छ । 

प्यारामेडिकमा ७८ जनाको दरबन्दीमा ४५ जना कार्यरत छन् । ३३ दरबन्दी रिक्त छ । ५५ जनालाई करारमा लिइएको छ । प्रदेशमा दुई सय ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा ८२ जनाको मात्रै पदपूर्ति भएको छ । एक सय ५२ पद रिक्त छ । पालिकाहरूले विभिन्न प्रक्रियामार्फत एक हजार दुई सय ३१ जना स्टाफ नर्स नियुक्त गरेर स्वास्थ्य संस्थाहरूमा खटाएका छन् ।

निर्देशनालयले अहिले कोरोना सङ्क्रमण बढी देखिएका ठाउँमा आपत्कालीन रूपमा प्रदेश अस्पतालबाट जनशक्ति खटाउने गरेकोे छ । प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित देखिएको दैलेखमा सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश अस्पतालबाट दुई जना चिकित्सक पठाइएको  निर्देशनालयले जनाएको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ७९ वटा पालिकामा एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । सबै पालिकामा गरी १४ जनामात्रै मेडिकल अधिकृत कार्यरत छन् । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३३ स्वास्थ्य चौकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा जम्मा ६५ वटा एम्बुलेन्स छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया