एसईईको ‘कन्फ्युजन’ सकियो, कक्षा ११ र १२ को परीक्षा अन्योलमै

 जेठ ३१, २०७७ शनिबार २०:९:५१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भइसकेपछि एकाएक अघिल्लो दिन परीक्षा स्थगित भयो । स्थगित भएसँगै परीक्षाको तयारीमा रहेका लाखौँ विद्यार्थी अन्योलमा परे । विगतमा ‘आइरन गेट’को नामले चिनिएको र केही वर्षअघि एसएलसी नाम रहेको एसईई सबैभन्दा महत्त्व र चासोका साथ हेरिँदै आएको छ । आन्तरिक मूल्याङ्कनको आधारमा एसईई उत्तीर्ण गराउने सरकारको पछिल्लो निर्णयसँगै लाखौँ विद्यार्थीको अन्योलता अन्त्य भएको छ । 

सरकारले यस वर्षको एसईई नगर्ने निर्णय गरेपछि यस विषयमा मिश्रित प्रतिक्रिया आएका छन् । धेरैले सरकारको कदमको स्वागत गरेका छन् भने केहीले विरोध गरेका छन् । केही सङ्घसंस्थाले विज्ञप्तिमार्फत सरकारलाई धन्यवाद दिएका छन् । कतिपयले भने सरकारको यो निर्णयले विद्यार्थीहरुको यथार्थ मूल्याङ्कन हुन नसक्ने र एसईई परीक्षाका लागि बढी मिहिनेत गरेका र मिहिनेत नै नगरेका विद्यार्थीहरुबीच फरक नरहने प्रतिक्रिया दिएका छन् ।  

बाध्यात्मक तर सकारात्मक

धादिङको नीलकण्ठ नगरपालिकाकी सुनिता लम्साल (दुवाडी) सरकारको यो निर्णय बाध्यात्मक निर्णय भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरसको कारण सरकारले चाल्नुपरेको यो कदम बाध्यात्मक भएकोले अहिलेको अवस्थाको लागि यो ठिकै हो ।’ उहाँकी छोरी सुस्मिता नीलकण्ठ उच्च माध्यमिक विद्यालय धादिङबेँसीबाट एसईई परीक्षा दिने तयारीमा हुनुहुन्थ्यो । एसईई परीक्षा सञ्चालन हुने अघिल्लो दिन मात्रै स्थगित भएको खबरले सुरुमा आफूहरुलाई निकै तनाब भएको सुनिता बताउनुहुन्छ । ‘अलि अगाडि नै यो निर्णय आएको भए परीक्षा बाँकी नै छ भन्ने भय उहिले नै सकिन्थ्यो,’ उहाँले भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘छोरी भने खुसी नै छिन् । छोरी स्कुलको औसत विद्यार्थी हो । एसईईको लागि उनले राम्रै तयारी गरेकी थिइन् । कोरोनाको जोखिम कायमै छ । यस्तो बेलामा यो निर्णयलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ 

सरकारले लकडाउन सुरु गर्नुअघि नै एसईई परीक्षा भइसक्नुपर्थ्यो  । त्यतिखेर परीक्षा हुन नसकेपछि आन्तरिक मूल्याङ्कन नै अन्तिम विकल्प भएको उहाँको भनाइ छ ।  अहिले भिडभाड गर्न त्यति उचित नभएकोले एसईई परीक्षा गर्ने भनेर तालिका निकालेको भए झनै त्रास बढ्ने सम्भावना रहेको सुनिताले बताउनुभयो । कोरोना सङ्क्रमणको चिन्ता थपिनुभन्दा सरकारको कदम राम्रै भएको उहाँको तर्क छ । 

अमरज्योती माध्यमिक विद्यालय कलङ्कीका प्रधानाध्यापक सुन्दर पन्त भने सरकारको निर्णयप्रति त्यति सकारात्मक हुनुुहुन्न । उहाँ भन्नुहुन्छ, ‘सरकारले अहिले यस्तो निर्णय गर्नु लाजमर्दो कुरा हो ।’ त्यतिखेर देशभर थोरै सङ्ख्यामा कोरोना सङ्क्रमित रहेकाले उहिले परीक्षाका लागि प्रशस्त र उचित समय रहेको पन्तको भनाइ छ । त्यति बेला नै सरकार चुकेको भन्दै उहाँले यो निर्णयले पढ्न ध्यान दिने र नदिने विद्यार्थीमा खासै अन्तर नपारेको बताउनुभयो । अबदेखि सधैँका लागि यो नियम लागु गर्ने हो भने ठिकै हुने तर यो वर्षका लागि मात्रै भए व्यावहारिक नभएको उहाँको तर्क छ ।

विद्यालयले घरमा राम्रोसँग तयारी गरुन् भनेर टेस्ट परीक्षाको कापी ‘टाइट’ जाँच्ने गरेको र नम्बर घटाएर समेत दिने हुनाले त्यसलाई मात्र आधार मानेर नम्बर दिँदा विद्यार्थी समस्यामा पर्ने उहाँको भनाइ छ । प्रधानाध्यापक पन्त भन्नुहुन्छ, ‘कतिपय देशमा सामाजिक दूरी कायम गरेर परीक्षा लिएको पाइएकाले नेपालमा पनि सामाजिक दूरी कायम गरेर खुला ठाउँमा परीक्षा लिन सकिने प्रशस्तै सम्भावना थियो । तर सरकारले त्यसो गर्न सकेन ।’ 

सरकारको बाटो सही 

अहिलेको कदमले सरकार राम्रो बाटोमा लागेको कतिपय शिक्षाविद्ले टिप्पणी गरेका छन् । आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क दिनु राम्रो भएको तर टेस्ट परीक्षालाई मात्र आधार बनाउनु नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘त्यसको विकल्प धेरै हुन सक्छन् । आन्तरिक मूल्याङ्कनको आधारमा कक्षा १० का पहिलो, दोस्रो र तेस्रो तीन वटै परीक्षाको नम्बरलाई आधार मानेर पनि अङ्क दिन सकिन्छ । यसो गर्दा विद्यार्थीको क्षमता निर्धारणमा त्यति असर पर्दैन ।’ यस्तै शिक्षकले कमजोर विद्यार्थीका लागि पनि ‘प्राक्टिकल नम्बर’ धेरै दिएको हुन सक्ने भएकाले ‘प्राक्टिकल नम्बर’ दिँदा ‘थ्योरी र प्राक्टिकल’को आधारमा अङ्क निर्धारण गर्नुपर्ने कोइरालाको भनाइ छ ।

यस्तै अहिलेको लागि गर्न सकिने अर्को काम भनेको एसईई परीक्षा सञ्चालनको अघिल्लो दिन मात्रै परीक्षा स्थगित भएकोले प्रश्नपत्रहरु प्रहरी कार्यालयमा छन् । प्रहरी कार्यालयमार्फत् प्रश्नपत्रलाई पालिकामा पठाएर सबै विद्यार्थीलाई १५ दिन लेख्न लगाएर त्यसको आधारमा पनि अङ्क दिन सकिने उहाँ बताउनुहुन्छ । यस्तै, अर्को विकल्प भनेको टेस्ट परीक्षाबाट २० नम्बर मात्र दिएर अरु विधिबाट पनि परीक्षा लिन सकिने उहाँको भनाइ छ ।  

सरकारको कदम राम्रो रहेको र यसलाई निरन्तरता दिनुपर्ने उहाँ बताउनुहुन्छ । यो वर्षमात्र आन्तरिक मूल्याङ्कनका आधारमा अक दिँदा भोलि कोरोना वर्षको एसईई भन्ने उखान नै बन्न सक्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाब छ । आन्तरिक मूल्याङ्कनको आधारमा दिइएको नम्बर जति आएपनि कक्षा ११ मा विद्यार्थीले जुनसुकै विषय लिएर पढ्न चाहे पढ्न दिनुपर्ने कोइराला बताउनुहुन्छ । कलेजहरुले प्रवेश परीक्षाबाट मूल्याङ्कन गरेर विद्यार्थी भर्ना लिँदा कुन विषय लिएर पढ्न सक्ने या नसक्ने विद्यार्थी र अभिभावकलाई थाहा हुने भएकाले कलेजहरुले यसमा नाईंनास्ती गर्नु हुँदैन । 

११ र १२ को परीक्षामा चासो

शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्ने बाध्यकारी व्यवस्था छैन । त्यही भएर कक्षा ११ को परीक्षा विद्यालय आफैँले लिन सक्ने शिक्षाविद् कोइराला बताउनुहुन्छ । यसका लागि ऐन परिवर्तन गर्नुपर्ने नियम नभएको उहाँको भनाइ छ ।  उहाँ भन्नुहुन्छ, ‘ केन्द्रले कक्षा ११ को वार्षिक परीक्षा लिनु कानुनी रुपमा नै गलत हो । यस्तो महामारीको बेला कानुनमै व्यवस्था नभएको परीक्षा लिन मरिहत्ते गर्न नहुने उहाँको तर्क छ । त्यस्तै अहिले कक्षा १२ मा रहेकालाई १३ कक्षामा स्वतः भर्ना दिनुपर्ने उहाँले तर्क गर्नुभयो ।

त्यसो गर्न क्याम्पसहरुले नमाने अनलाइन, टिभी र रेडियोलगायतका माध्यमबाट प्रश्नपत्र दिएर घरमै परीक्षा दिन लगाएर त्यसैको आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पछिल्लो समय पढाइलाई हाउगुजी बनाउँदै लगेकाले त्यसलाई तोड्दै परीक्षालाई सिर्जनात्मक र सामान्यीकरण गर्दै लैजानुपर्ने आवश्यकता भएको शिक्षा क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । शिक्षा मन्त्रालयले भने कक्षा ११ र १२ को परीक्षाको विषयमा एक हप्तामा निर्णय गर्ने जनाएको छ । 

कोरोना भाइरसको जोखिमको कारण सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । यसबीचमा एसईईलगायत ११ र १२ कक्षाको परीक्षा सञ्चालनका बारे विभिन्न कुराहरु बाहिर आएका थिए । गएको बिहीबार सरकारले एसईईको परिणाम आन्तरिक मूल्याङ्कनको आधारमा गरिने निर्णय गरेको छ । यस वर्ष एसईई परीक्षामा सहभागी हुन चार लाख ८२ हजार २ सय १९ जना विद्यार्थीले आवेदन दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले गएको चैत ८ गतेदेखि हुने भनिएको कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि लकडाउनको कारण स्थगन गरेको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Tej bahadur kunwar

    June 14, 2020, 8:20 a.m.

    आज सम्पूर्ण देश कोरोना भाइरस ले तहसनहस भएकोे हामीलाई थाहा नै छ SEE exam दिने लाई पास अनि कक्षा 11/12 लाई पनि पास गराउनु पर्यो भन्न खोजेको होइन / अहिले को SEE दिने भाइबहिनी हरुले ले कक्षा 12 मा राष्टिय परिक्षा बोर्ड दिनुहुन्छ अहिले कक्षा 11/12 मा पढ्ने लाई कोरोना नलाग्ने हो र ?? त्यस माथी हामी लक दाउन ले गर्दा tuestion नै पढन नपाउदा हामी अहिले नै तयारीमा हामी छैनौ के हामिलाइ कोरोना भाइरस लाग्दिन र ??? हामिले पनि कक्षा 11/12 मा पढन कसैले SEE र कसैले SLC पास गरेर नै आएको हौ यदि 11/12 को परिक्षा गराउने नै हो भने कोरोन कहिले हत्छ र परिक्षा कहिले हुन्छ हामिलाइ छैटो निणय चाहियो अनि एक महिना हामिलाई कोचिङ को लागि बिदा हुनु पर्यो नत्र हमिलाई पनि पास गर्नु पर्यो SEE दिने विद्यार्थी लाई जस्तो गरि

  •  0 Reply

तपाईको प्रतिक्रिया