लकडाउनभरि ४५ सय जनालाई निःशुल्क एम्बुलेन्स सेवा दिएको महानगरपालिकाको दाबी

 जेठ ३२, २०७७ आइतबार १४:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले लकडाउनभरि चार हजार पाँच सय जनालाई निःशुल्क एम्बुलेन्स सेवा दिएको दाबी गरेको छ ।

हृदयघात, मिर्गाैला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन लकडाउन अवधिभरि एकतर्फी झण्डै तीन हजार र दुईतर्फी चार हजार पाँच सयलाई सेवा दिएको काठमाण्डाै महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौँ ।’

काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, 'बिरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि आग्रह गरेको थियो । याे हटलाइनमा लकडाउन अवधिभर ६ हजार बढीले सम्पर्क गरेका थिए । एम्बुलेन्स चालक सङ्घ नेपाल काठमाण्डाै जिल्ला कार्य समितिले आर्थिक सहयोग गरी काठमाण्डाै महानगरपालिकाले लकडाउन अवधिभर निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।'

काठमाण्डाै महानगरपालिकाले मुख्य गरेर डायलसिस गर्नुपर्ने बिरामी, मुटु रोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर पाँच वटा एम्बुलेन्सबाट लकडाउन अवधिभर सेवा दिएको हो । एम्बुलेन्स चालक सङ्घ नेपाल काठमाण्डाै जिल्ला कार्य समितिका अध्यक्ष गणेश सापकोटाले पनि काठमाण्डाै महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच वटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्रभित्रका बिरामीलाई बढी प्राथमिकतासहित सेवा प्रदान गरेको बताउनुभयो ।

चक्रपथबाहिर दुई किलोमिटरसम्मका बिरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलासिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाइ छ । सुरुमा वैशाख १ बाट एक महिनाकाे लागि याे संस्थासँग सम्झौता भएको थियो, पछि फेरि लकडाउन लम्बिएकाेले एक महिना समय थप भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया