रेडियो र टेलिभिजनको पढाइ : हाजिर, गृहकार्य र परीक्षा के हुन्छ ?

 असार १, २०७७ सोमबार ९:२५:३२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । 

कोरोना भाइरसको सङ्क्रमणको डर र लकडाउनका कारण औपचारिक रुपमा कक्षाकोठाभित्र पढाइ हुन सकेको छैन । यस्तो अवस्थामा वैकल्पिक माध्यमबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाउन सरकारले सोमबारदेखि रेडियो तथा टेलिभिजनबाट पढाउन सुरु गर्दैछ । पाठ्यक्रम र पढाइको तालिका पनि सार्वजनिक भैसकेको छ ।

रेडियो र टेलिभिजनबाट हुने पढाइको तालिका :


लकडाउनका कारण स्कुल तत्कालै खुल्न सक्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री  पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी माधव दाहालका अनुसार  १० कक्षासम्मकालाई हुने गरी एउटा डिजिटल कपी तयार पारिएको  र त्यो  केन्द्रको वेवसाइटमा राखिएको छ । यसरी राखिएको पाठ्यपुस्तकमा आधारित भएर टेलिभिजन र रेडियोको माध्यमबाट पढाइने केन्द्रले जनाएको छ । 

नेपाल टेलिभिजनबाट असार १ गतेदेखि ३१ गतेसम्म विषयगत पाठहरु पढाइ हुनेछ । यस्तै ९ र १० कक्षाको विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने भएको छ । पालिकाहरुले स्थानीय एफएमबाट पनि पढाउने तयारी गरेका छन् ।

पढाई निरन्तर चल्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार टेलिभिजन र रेडियोबाट पढाइ निरन्तर चल्नेछ । कोरोनाका कारण लामो समय पठनपाठन हुने अवस्था नभएकाले टेलिभिजन र रेडियोको माध्यमबाट पढाउने काम निरन्तर चल्ने उहाँले बताउनुभयो ।

कोरोना भाइरस नियन्त्रणमा आएर स्कुलहरुमा पठनपाठन सुरु भए पनि रेडियो र टेलिभिजनबाट पढाउने कामलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । अहिलेको सङ्क्रमणको अवस्थामा वैकल्पिक शिक्षा प्रभावकारी हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । पछि पनि यसलाई निरन्तरता दिँदा विद्यार्थीलाई फाइदा पुग्ने उहाँको भनाई छ ।

कक्षा  कोठामा पढाई सुरु भए पनि कतिपय विद्यार्थीले रेडियो तथा टेलिभिजनमा दोहोर्याएर पढ्दा थप जानकारी प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न कारण स्कुल छुटेको बेलामा पनि यसरी पढ्दा छुटेको विषय पनि कभर हुने हुन्छ । त्यसैलाई आधार बनाएर पढाइ सुरु गरिएको र यो निरन्तर चल्ने तर अहिलेको तालिका भने फेरबदल हुन सक्ने दाहालले बताउनुभयो । 

हाजिर, गृहकार्य र परीक्षा के हुन्छ ?

पढाइ भन्नेबित्तिकै धेरै विद्यार्थीले दैनिक हाजिर, गृहकार्य र परीक्षाको कुरा सम्झन्छन् । त्यसैले रेडियो, टेलिभिजन र अनलाइनबाट पढ्दा हाजिर, गृहकार्य र परीक्षा के हुन्छ भन्ने धेरैको चासो छ । तर यो सम्भव नहुने सरकारले जनाएको छ ।

एक त रेडियो र टेलिभिजनबाट सबै विद्यार्थीले पढ्छन् भन्ने छैन । कसले पढ्यो, पढेन भनेर अनुगमन गर्न पनि गाह्रो हुन्छ । त्यसैले यस्तो पढाइ ऐच्छिक भएको सरकारले जनाएको छ । विद्यार्थीले आफ्नो समय अनुसार मिलाएर पढ्न सक्नेछन् । घरमा त्यत्तिकै बस्नुभन्दा रेडियो तथा टेलिभिजनबाट हेरेर र सुनेर पढ्दा पनि ज्ञान लिन सक्ने भएकाले सकेसम्म पढ्नु राम्रो भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताउनुभयो ।

सरकारले पढाउनका लागि जुन किसिमको तालिका बनाएको छ, त्यही अनुसार पढाउन सकेमा सहज हुने उहाँले बताउनुभयो । ठूला कक्षाका विद्यार्थी आफैँलाई पनि पढाइको महत्वबारे धेरै थाहा हुने भएकाले उनीहरुलाई रेडियो र टेलिभिजनबाट पढ्न रुचि हुन्छ । तर साना कक्षाका बालबालिकाहरुका लागि भने अभिभावकले पढाउन सहयोग गर्नुपर्ने र नबुझेका कुराहरु बुझाउन प्रयास गर्नुपर्ने भएकाले अभिभावकको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 

मूल्याङकनबारे सोचिएको छैन 

सरकारले तोेकेको पाठ्यसामग्रीमा आधारित भएर पढाई हुनेछ । तर आन्तरिक मूल्याङकन कसरी गर्ने भन्नेबारे भने केन्द्रले अहिलेसम्म सोचेको छैन । भर्खरै सुरु भएकाले यसको प्रभावकारिताका बारेमा थाहा हुन केही समय लाग्ने हुन्छ । त्यसैले मूल्याङकन कसरी गर्ने र प्रभावकारिता कस्तो भयो भन्नेबारे पछि सरोकारवाला सबैपक्षको बैठक बसेर टुङग्याइने सरकारले जनाएको छ । 

कतिपय निजी विद्यालयको पाठ्यपुस्तक फरक हुने गरेका छन् । त्यस्तो अवस्थामा भने विद्यार्थीहरुलाई पढ्न गाह्रो हुनसक्छ । फरक फरक पाठ्यक्रमका कारण आउन सक्ने समस्यालाई ध्यान दिंदै सरकारले सामुदायिक तथा निजी विद्यालयलाई एउटै पाठ्यपुस्तक लागू गर्न पहिलेदेखि नै आग्रह गर्दै आएको छ ।

निजी विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यसामग्रीमा आधारित भएर नपढाएको खण्डमा, विद्यार्थीको पढाई छुटेमा वा विद्यार्थीले पढ्न नपाएमा सम्बन्धित विद्यालय नै जिम्मेवार हुनुपर्ने दाहालले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘पाठ्यक्रम, पाठ्यपुस्तक मिल्नुपर्छ, मिलाउनुपर्छ, तर सरकारले भने पाठ्यक्रम विकास केन्द्रले  तयार पारेको पाठ्यसामग्री नै पढाउनेछ ।’

धेरै ठाउँमा नयाँ पाठ्यपुस्तक पुगेको केन्द्रको दावी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले धेरै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेको जनाएको छ । नयाँ पाठ्यपुस्तकलाई नै आधार बनाएर पठनपाठनको कार्यक्रम संचालन गरिनेछ । नेपालमा ९० प्रतिशतसँग एफएम रेडियो र ५० प्रतिशतसँग टेलिभिजनको सुविधा भएकाले वैकल्पिक माध्यमबाट पढाउँदा धेरै समेटिने पनि केन्द्रले बताएको छ । विद्यार्थीको अभिलेखीकरणसँगै विद्यार्थीलाई पुस्तक दिएर वैकल्पिक विधिबाट पढाउन शिक्षकले सहयोग गर्नुपर्ने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउनुहुन्छ । सङ्क्रमणको जोखिम रहेको यस्तो अवस्थामा वैकल्पिक विधिको  माध्यमबाट पढाउन उपयुक्त हुने उहाँको सुझाव छ । 

उहाँले टेलिभिजनबाट सञ्चालित कक्षामा सम्बन्धित विद्यार्थीलाई सहभागी गराउन जनप्रतिनिधि, शिक्षक, अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । 

उच्च पहाडी र हिमाली क्षेत्रमा कक्षाकोठामै पठनपाठन थाल्न सकिने 

केन्द्रले उच्च पहाडी तथा हिमाली क्षेत्रमा कोरोनाको असर खासै नदेखिएकाले यस्ता ठाउँमा सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गर्न पनि सक्ने बताएको छ । देशभर २७ हजार ७ सय ४ सामुदायिक विद्यालयमध्ये २५ जनाभन्दा कम विद्यार्थी संख्या भएका ३ हजार र १ सयभन्दा थोरै विद्यार्थी भएका १५ हजार विद्यालय छन् ।

यी विद्यालयहरुमा सामाजिक दूरी कायम गरेर तत्काल नै पठनपाठन थाल्न सकिने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी दाहालले बताउनुभयो ।  कम विद्यार्थी भएका विद्यालय धेरै हिमाली र उच्च पहाडी क्षेत्रका हुन् । थोरै विद्यार्थी संख्या भएका विद्यालय खोल्न सकिने उहाँको भनाई छ । ‘शिक्षक, विद्यार्थीको कोरोना परीक्षण गरेर माक्स, सेनिटाइजर र हात धुने व्यवस्था गरेपछि सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Prashant Jha

    June 15, 2020, 6:53 p.m.

    Prashant jha read in class7

  •  0 Reply

तपाईको प्रतिक्रिया