आजदेखि के खुले, के खुलेनन् ? (विवरणसहित)

 असार १, २०७७ सोमबार ११:२१:१८ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – आजदेखि सरकारी र निजी कार्यालय खुलेका छन् । लकडाउन खुकुलो बनाउँदै सरकारले अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरु खोल्ने निर्णय गरेसँगै उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालयहरु खुलेका हुन् । तर सार्वजनिक गाडी, शिक्षण संस्था लगायत भने खुलेका छैनन् ।

आजदेखि खुलेका क्षेत्रहरु :

१) स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनकसमेत) 
२) सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि बिक्री बितरण)
३) उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स ।
४) सबै प्रकारका ढुवानी ।
५) पैदल आगमन ।
६) साइकल र मोटरसाइकल (चालक मात्र रहनेगरी)
७) काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) ।
८) फोहोरमैला व्यवस्थापन ।
९) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा ।
१०) बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा ।
११) नर्सरी र वनजन्य उद्यम ।
१२) विकास आयोजना 
१३) निर्माण कार्य (निजी समेत)
१४) नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री वितरण ।
१५) रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।
१६) क्वरेण्टीनका लागि तोकिएका होटल र यातायातका साधन ।
१७) सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु (बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने) 
१८) सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यलयका श्रमिक तथा कर्मचारी ओसारपोसार गर्न प्रयोग गरिने सवारी साधन (सिटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने) 
सरकारको निर्णय अनुसार यी व्यवस्थाहरु २१ दिनसम्म कार्यन्वयनमा आउनेछन् । परिस्थितिको मूल्यांकन गरी थप निर्णय गर्न सकिने पनि सरकारले जनाएको छ । खुल्ने क्षेत्रहरुमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने अथवा स्यानिटाईजरको प्रयोग गर्नुपर्ने छ । जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य प्रयोग गरेर सेवा सञ्चालन गर्न पनि सरकारले आग्रह गरेको छ ।

यस्तै सरकारले केही क्षेत्रहरुमा अझै सङ्क्रमणको जोखिम रहेकाले ती क्षेत्रहरु तत्कालका लागि नखोल्ने निर्णय गरेको छ । अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्दै जाने रणनीतिमा रहेको सरकारले तत्कालका लागि यी क्षेत्रहरु भने नखोल्ने भएको छ ।

तत्काल नखुल्ने क्षेत्रहरु :

१) विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्थाहरु ।
२) अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।
३) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत ।
४) सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।
५) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।
७) सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाघर ।
८) स्पा, सैलुन तथा ब्यूटीपार्लरहरु ।
९) स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।
१०) सपिङ मल ।
११) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।
१२) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।
१३) यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)
१४) काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने नीजि सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने । 

अन्तिम अपडेट: चैत २८, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया