क्वरेण्टीनमा बसेका गर्भवतीलाई समस्या, शौचालय ओहोरदोहोर गर्नै गाह्रो

 असार २, २०७७ मंगलबार ११:४०:१२ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै - कैलालीको घोडाघोडी नगरपालिका-२ अत्तरियाकी रोजी गैरे भारतबाट फर्केको ६ दिन भयो । उहाँ अहिले अत्तरियामा रहेको महालक्ष्मी बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बस्नुभएको छ । उहाँ ८ महिनाकी गर्भवती हुनुहुन्छ ।

यस्तो अवस्थामा खान, बस्नदेखि हरेक कुरामा परिवारको हेरचाह आवश्यक हुन्छ । तर रोजी क्वरेण्टीनमा कष्टसाथ बसिरहनुभएको छ । 

‘पटक-पटक शौचालय गइरहनुपर्छ । शौचालय नै टाढा छ । आउँदा जाँदा नै थकित हुन्छु । मलाई त यस्तो बेला भोक पनि धेरै लाग्छ । यहाँ त बिहान र साँझको खानामै बस्नु परेको छ’, रोजीले आफ्नो समस्या सुनाउनुभयो ।

यस्तो अवस्थामा पटक-पटक गर्भ जाँच गराइरहनुपर्छ तर, रोजीले लकडाउन भएदेखि स्वास्थ्य संस्था नै जान पाउनुभएको छैन । बिहे गरेर श्रीमानसँगै भारत जानुभएकी रोजी श्रीमानसँगै भारतको बैंगलोरमा बस्नुभएको थियो । कोरोना भाइरसको त्रासले भारतमा लकडाउन भएपछि श्रीमानको काम बन्द भयो । कोरोनाको त्रास बढ्दै गएपछि रोजी श्रीमानसँगै नेपाल फर्कनुभएको होे । 

रोजीजस्तै भारतको मुम्बईबाट फर्कनुभएकी कैलाली बौनियाँकी भागरती विश्वकर्मालाई पनि उस्तै समस्या छ । भागरती ५ दिनदेखि बौनियाँको क्वरेण्टीनमा बसिरहनुभएको छ । उहाँ ४ महिनाकी गर्भवती हुनुहुन्छ ।

४ महिनादेखि भागरतीले न त आइरन चक्की खान पाउनुभएको छ न त कुनै स्वास्थ्य जाँच गराउन नै । 

‘भारतमा पनि गर्भ जाँच गर्न पाइएन । यहाँ झन सिमेन्टको चिसोमा एकसरो ओछ्यानमा सुत्नुपरेको छ,’ भागरतीले भन्नुभयो । 

अछामको कमलबजार नगरपालिकाकी कौशिला शाहीको पीडा पनि उस्तै छ । उहाँ अछामको कमलबजारमा ८ दिनदेखि क्वरेण्टीनमा बस्नुभएको छ । उहाँ ८ महिनाकी गर्भवती हुनुहुन्छ ।

लकडाउन पहिले भारतमा हुँदा गर्भ जाँच गराएको भए पनि लकडाउनपछि ४ महिनासम्म भने जाँच गराउन पाउनुभएको छैन । क्वरेण्टीनमा राति चिसो हुने भएकाले कौशिलालाई पेट दुख्ने समस्या भयो । अहिले घरबाट बाक्लो बिच्छ्याउना ल्याएकाले केही सञ्चो भएको छ । 

गर्भवती अवस्थामा स्वास्थ्य जाँच अनिवार्य

गर्भ रहेदेखि बच्चा नपाएसम्म कम्तीमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । 

पहिलोपटक गर्भवती भएको शङ्का लाग्नेबित्तिकै, दोस्रोपटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रोपटक गर्भवती भएको ८ महिनामा र अन्तिमपटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ ।

यसरी जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्य अवस्था र पाठेघरमा हुर्कँदै गरेको शिशुको अवस्थाबारे जानकारी हुन्छ । नियमित परीक्षणसँगै टिटानस टक्सोइड (टीटी) सुई लगाउने तथा फोलिक चक्की, आइरन चक्की, क्याल्सियमलगायतका औषधि नियमित रुपमा खाने गर्नुपर्छ ।

आइरन, क्याल्सियम आदि औषधि सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्नुपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक पटक जुकाको औषधि पनि खानुपर्छ ।

गर्भावस्थामा यस्तो समस्या देखा पर्न सक्छ : डा.सन्देश पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ 

यो अवस्थामा महिलामा शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउँछ । यतिखेर श्रीमान घरपरिवारले विशेष हेरविचार गर्नुपर्छ । यो बेला ध्यान पुगेन भने खतरा हुन्छ ।

यो अवस्थामा शरीरका हर्मोनमा वृद्धि भइरहेकाले महिलाहरूले चाँडै थकान तथा गाह्रो भएको महसुस गर्छन् । पिसाब नलीमा पाठेघरले बढी चाप दिने र मृगौलाबाट पनि अतिरिक्त रसायन निस्कने भएकाले बारम्बार पिसाब लाग्ने गर्छ । कतिपयलाई ज्वरो आउने तथा वाकवाकी लाग्ने हुन्छ ।

यो अवस्थामा आमाले आफ्नो शरीरमा भएको प्रोटिन बच्चालाई पनि प्रदान गर्ने भएकाले आमालाई कमजोरी तथा बेहोस हुने पनि हुन्छ । शरीरको तापक्रम एकदम बढ्ने गर्छ । ढाड दुख्छ । पेटमा भएको बच्चाको तौलका कारण ढाड दुख्ने समस्या देखा पर्छ ।

होम क्वरेण्टीनमा बस्न पाउने निर्देशिका छैन : डा. समिर अधिकारी, सहायक प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

क्वरेण्टीनमा गर्भवती र सुत्केरी पनि छन् । यस्तो अवस्थामा उहाँहरुलाई बढी हेरचाहको आवश्यकता पर्छ, तर क्वरेण्टीनमा राख्नैपर्ने बाध्यता हो । हामीले विशेष गरी तीन किसिमको उदेश्यले क्वरेण्टीन बनाएको हौँ । 

पहिलो समुदायमा सङ्क्रमण नफैलियोस्, दोस्रो सम्बन्धित व्यक्तिमा लक्षण देखिएर जटिलता नहोस् र तेस्रो भनेको उहाँहरुलाई समस्या पर्नेबित्तिकै परीक्षण गरेर वा समय अवधि कटेपछि परीक्षण गरेर घर पठाउन सकियोस् । 

गर्भवती महिलालाई यस्तो अवस्थामा जहाँ क्वरेण्टीनमा बस्नुहुन्छ, त्यो क्वरेण्टीनमा विशेष निगरानी गर्नुपर्छ । उहाँहरुकोे छुट्टै बसोबास, खानपानका कुरादेखि लिएर अन्य सहयोगका कुराहरु गरेर राख्नुपर्ने हुन्छ । 

यदि त्यहाँ यस्तो सुविधा भएन भने लिखित सहमति गरेर स्वास्थ्यकर्मी र सवारीसाधनको प्रत्यक्ष सम्पर्क र घरनजिकै घरपरिवारको सहयोग हुनेगरी व्यवस्था गर्न सकिन्छ । तर घरमै राख्न भने पाइँदैन । 

पछिल्लो समयमा महिला बालबालिका क्वरेण्टीनमा जोखिममा परे भन्ने कुरा पनि उठिरहेको छ । यस्तो अवस्थामा हामीले लक्षण देखा नपरेकाहरुलाई होम क्वरेण्टीनमा राख्ने भन्ने कुराहरु गरिरहेका छौँ, तर यो निर्देशिका तयार भएको छैन । यसका लागि छुट्टै निर्देशिका बनाउनु पर्ने हुन्छ । 

अहिले हामीले गर्न सक्ने भनेको जो गर्भवती हुनुहुन्छ, जसलाई परिवारको सहयोग चाहिएको छ, उहाँहरुलाई पोषिलो खानेकुरा चाहिन्छ । मनोसामाजिक रुपमा पनि सहयोग चाहिन्छ ।

यो सबै कुरालाई ध्यानमा राखेर स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र सवारी साधनको निगरानीमा रहेर घर नजिकै बस्न सक्नुहुन्छ । अर्को कुरा, को व्यक्ति जोखिममा छ र उनीहरुको हेरविचार कसरी गर्नुपर्छ भन्नेबारे पालिकाले नै हेर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया