भारतले नेपालसँग तत्काल वार्ता नगर्ने, ईपीजी प्रतिवेदन पनि नबुझ्ने : गोरखा सैनिकबारे चिन्ता

 असार ३, २०७७ बुधबार १८:५५:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले वर्षाैंदेखि कब्जा गरेको नेपाली भूमि नक्सामा समेटिएपछि नेपालले वार्ताबाटै समस्या समाधान खोजिरहेको बेला भारतले भने बेवास्ता गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको वार्ता तत्कालकाे लागि अस्वीकार गरेको खबर भारतीय समाचार माध्यम आजतकको अनलाइन संस्करणमा छापिएको छ ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन गरेर निशान छाप परिमार्जन गरेपछि भारतले तत्काल नेपालसँग वार्ता गर्न अस्वीकार गरेको हो । चार दिनअघि भारतीय प्रधानमन्त्री निवासमा भएको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकमा मोदीले अहिलेको अवस्थामा सीमाका विषयमा नेपालसँग वार्ता गर्नुको अर्थ नभएको बताएका खबरमा उल्लेख छ ।

आजतकका अनुसार कोरोना महामारी नसकिँदासम्म मोदीले कुनै प्रकारको वार्ता गर्न चाहेका छैनन् । कोरोना महामारी सकिसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने मोदीको निष्कर्ष छ । ‘भारतले कुटनीतिकस्तरमै नेपालसँगको सबै प्रकारका द्विपक्षीय मुद्दा सुल्झाउन चाहेको अवस्थामा पनि नेपालले भारतको अधिनमा रहेको भूभागलाई नयाँ नक्सामार्फत आफ्नो देशमा गाभेकाले आवश्यक परेको खण्डमा अब सैन्य कुटनीतिको भाषामा व्यवहार गर्ने सन्देश प्रष्ट रुपमा दिएको छ,’ मोदीको भनाइ उद्धृत गर्दै आजतक ले लेखेको छ ।

यस्तै मोदीले नेपालको मागअनुसार ईपीजी प्रतिवेदन पनि नबुझ्ने बताएको आजतकले जनाएको छ । दुवै देशका विज्ञले तयार पारेको प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि मोदीले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएका छन् ।

भारत र चीनबीच तनाव बढ्दा गोरखा सैनिकको चिन्ता

यसैबीच भारत र चीनबीचको तनाव बढ्दै जाँदा भारतीय सेनामा कार्यरत गोर्खा सैनिकबारे नेपालमा चिन्ता बढेको छ । विवादित भूमि लद्दाखमा सोमबार राति भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा झडप हुँदा एक कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको छ । यही बेला बिदामा नेपाल आएका गोरखा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । कोरोना सङ्क्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोरखा सैनिकहरु बिदामा स्वदेश फर्किएका थिए ।

चीनसँगको विवाद चुलिएपछि भारतले सैनिकहरूलाई काममा फर्कन आदेश दिएको हो । भारतले बोलाएपछि नेपालमा छुट्टी मनाउन आएका भारतीय सेनामा कार्यरत नेपालीहरु विभिन्न नाका हुँदै भारत फर्किरहेका छन् । भारतको गोर्खा रेजिमेन्टमा झण्डै डेढ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । यीमध्ये धेरैलाई भारतले पाकिस्तान तथा चीनसँगका विवादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ ।

पछिल्लो पटक लद्दाखमा भएको घटनाले भारत र चीनबीच झनै तनाव बढ्ने स्थिति छ । यसले भारतीय सेनामा कार्यरत नेपालीहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई फिर्ता बोलाउनुपर्ने आवाज पनि उठिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया