कर्णाली प्रदेश : थप १ सय २० जनामा कोरोना सङ्क्रमण, निको हुने ५ सय नाघे

 असार ४, २०७७ बिहिबार १७:४३:४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा थप एक सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । 

बिहीबार थप एक सय २० जना कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय २४ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा ८६ र सुर्खेतका ३४ जनामा कोरोना सङ्क्रमण भेटिएको हो । 

अहिलेसम्म सबैभन्दा धेरै दैलेखमा सङ्क्रमित भेटिएका छन् । दैलेखमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या सात सय २२ रहेको छ । सुर्खेतमा दुई सय ७१, सल्यानमा एक सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/एक जना र जाजरकोटमा आठ जनामा काेराेना पुष्टि भएकाे छ ।  

यस्तै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भएर अहिलेसम्म पाँच सय पाँच जना घर फर्किएका छन् । बिहीबार थप ११ जना कोरोना सङ्क्रमित निकाे भएर घर गएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, सुर्खेतको सालकोट आइसोलेशन सेन्टरबाट तीन जना, सिम्ता गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट एक जना र दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट एक जनालाई निको भएपछि डिस्चार्ज गरिएको महाशाखाले जनाएको  छ । 

अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएको  छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया