कोरोनाभन्दा पनि अरु रोगका बिरामी जोखिममा : नियमित औषधि र उपचारको अभाव

 असार ५, २०७७ शुक्रबार १४:३९:४५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – कोरोनाले भन्दा पनि अरु रोगका कारण मानिसको ज्यान गएको खबरहरु दैनिकजसो पढिन्छ र सुनिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा कोरोनाको जोखिम बढी हुने भन्दै विभिन्न सङ्घ संस्थाले सचेत गराउँदै आएका छन् । तर नेपालमा भने अन्य विभिन्न रोगका बिरामीले नियमित औषधि र उपचार नपाएर ज्यान गुमाइरहेका छन् । 

सरकारको ध्यान कोरोनामा मात्र केन्द्रित हुँदा लकडाउनको समयमा धेरै गर्भवती तथा सुत्केरीको ज्यान गयो । यतिमात्र नभइ स्वास्थ्यका अरु क्षेत्रले झनै नकारात्मक परिणाम दिन थालिसकेको भन्दै विज्ञले चिन्तासमेत व्यक्त गरेका छन् । 

स्वास्थ्यका अरु क्षेत्रलाई ध्यान नै नदिइ एक्कासी गरिएको लकडाउनको कारण कतिपय क्यान्सरका बिरामी उपचारबाट बञ्चित भएका छन् । मिर्गौलाको डायलासिस र प्रत्यारोपणसँग सम्बन्धित आकस्मिक शल्यक्रिया गर्न नपाएका बिरामी पनि उत्तिकै छन् । यस्तै अवस्था रहे एचआईभी, क्षयरोग, औलो र हैजाजस्ता महामारीको कारण ज्यान गुमाउनेको सङ्ख्या कोभिड १९ कै परिमाणमा हुने आशङ्का विज्ञले व्यक्त गरेका छन् । मुख्य रुपमा खोप अभियानबारे चिन्ता बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस महामारीको कारण बालबालिकामा दादुरा, भ्यागुते र पोलियोजस्ता रोगको जोखिम बढेको  चेतावनी दिइसकेको छ । 

नियमित उपचार र औषधिको अभाव 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार श्वासप्रश्वास, मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप र क्यान्सर तथा दीर्घ रोगबाट पीडित बिरामीहरु कोरोनाको उच्च जोखिममा छन् । नियमित औषधि र उपचार नपाउँदा यस्ता बिरामी थप जोखिममा छन् । सङ्गठनका अनुसार विश्वमा कोभिड–१९ बाट ज्यान गुमाएकामध्ये १३ दशमलव २ प्रतिशत मुटु रोग, ९ दशमलव २ प्रतिशत मधुमेह, ८ दशमलव ४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७ दशमलव ६ प्रतिशत क्यान्सर पीडित छन् । 

नियमित उपचार र औषधि नपाएर यस्ता बिरामीको जीवन झन् जोखिममा परेको छ । स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्याङ्क अनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घ रोगी छन् । आर्थिक वर्ष ०७५/७६ मा चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्याङ्क छ । देशभर उच्च रक्तचापको समस्या भएका बिरामी मात्रै पाँच लाख ७५ हजार १२ जना छन् । तर लकडाउनको कारण उनीहरूले नियमित सेवन गर्नुपर्ने औषधि नै पाउन छोडेको छ । लकडाउन खुकुलो नहुँदा अधिकांश औषधि पसल बन्द भएकोले समस्या भएको थियो । अहिले पनि बिरामीलाई स्वास्थ्य संस्था वा औषधि पसल पुग्न यातायातको समस्या छ । सुविधा भएकाहरु पनि कोरोनाको डरको कारण अस्पतालसम्म पुग्न सकेका छैनन् । 

कमजोर स्वास्थ्य रणनीति 

कोरोनाको कारण नेपालमा अहिलेसम्म २२ जनाको ज्यान गएको छ । ज्यान गएकाहरुमध्ये पनि अरु विभिन्न स्वास्थ्य समस्या भएका धेरै छन् । लकडाउनको अवधिमा गर्भवती, सुत्केरी, क्यान्सर, मिर्गौला, उच्च रक्तचापलगायतका रोगका कारण ज्यान जानेको सङ्ख्या तुलनात्मक रुपमा धेरै छ । यसो हुनुमा कमजोर चिकित्सकीय प्रणाली दोषी भएको जनस्वास्थ्यविद् डाक्टर पुष्प पन्त बताउनुहुन्छ । राजनीतिमा समानुपातिक भएजस्तै कोरोनाविरुद्ध लड्नको लागि पनि सरकारले समानुपातिक रणनीति बनाउन आवश्यक थियो । तर त्यसो हुन सकेन । अस्पतालमा कोरोनाका बिरामी मात्र होइनन्, अरु बिरामी पनि आउन सक्छन् भन्ने ध्यान हुनुर्थ्याे, त्यो पनि हुन नसकेको पन्त बताउनुहुन्छ । जसको कारण अरु रोगका कारण धेरै बिरामीको ज्यान गयो । 

जता बजेट, त्यता काम 

जता जता बजेट छ,  त्यता त्यता काम गर्ने परिपाटी भएकोले समस्या भएको जनस्वास्थ्यविद् पन्त बताउनुहुन्छ । अहिले कोरोनातर्फ बजेट भएकोले सबैको ध्यान कोरोनामा मात्र केन्द्रित छ । यसले स्वास्थ्यका अरु क्षेत्र ओझेलमा परेका छन् । कोरोना सङ्क्रमितकै हकमा पनि पर्याप्त काम हुन नसकेको गुनासो पनि आइरहेकै छन् । क्वरेण्टीनको हालत उस्तै दयनीय छ । एम्बुलेन्सहरु बिरामी बोक्न मान्दैनन् । यी विभिन्न कारणले अरु रोगका बिरामीमा थप जोखिम निम्तिएको पन्त बताउनुहुन्छ । 

सरकारले कोरोनाका बिरामी मात्रै बोक्ने छुट्टै एम्बुलेन्स र अरु बिरामी बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्था गर्नुपथ्र्यो । यस्तै अस्पतालहरुमा पनि एउटा वार्डमा कोरोना सङ्क्रमित र अर्को वार्डमा अरु बिरामी राख्नुपर्थ्याे । त्यसको लागि छुट्टाछुट्टै डाक्टर र नर्सको व्यवस्था हुनुपथ्र्यो । त्यो पनि हुन सकेको छैन । एउटै डाक्टरले कोरोनाका बिरामी र अरु बिरामी पनि हेर्नुपर्दा सङ्क्रमणको डरले कतिपय बिरामी उपचार गर्न जान डराउने गरेका छन् । सङ्क्रमित कम हुँदैमा सरकारले लकडाउन गरेर राम्रो कदम त चाल्यो । तर लकडाउन लम्बिँदै गर्दा कोरोना नियन्त्रणको लागि गरेको काम प्रभावकारी हुन सकेन । 

लकडाउनको बेला उपत्यका भित्रने र बाहिरिनेको होडबाजी नै चल्यो । सोर्सफोर्समा सवारी पास बनाउने र पास भएकालाई त कोरोना नै लाग्दैन जस्तो गरी डुल्ने गर्नाले पनि कोरोनाको जोखिमसँगै अरु जोखिम पनि थपिएको उहाँ बताउनुहुन्छ ।  

स्रोत साधनको कमी 

सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बास्तोला बिरामी बढेको तर अस्पतालहरुमा स्रोत साधनको कमी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका बिरामीले अस्पताल भरिएका छन् । धेरैजसो डाक्टर तथा नर्स त्यसैमा केन्द्रित हुनुपर्ने अवस्था छ । अस्पतलमा उपकरण तथा औषधिको अभाव छ ।’

निमोनिया, मानसिक स्वास्थ्य, मुटु, मिर्गौलालगायतका स्वास्थ्य समस्या भएका बिरामी बढ्ने क्रममा छन् । स्वास्थ्य सेवा खुम्चिँदा र बिरामी बढ्दा समस्या भएको उहाँ बताउनुहुन्छ । बास्तोलाका अनुसार चार घण्टा डाइलासिस गर्नुपर्ने बिरामीलाई दुई घण्टामै गरेर पठाउनुपर्ने अवस्था छ भने क्षयरोगीलगायतका बिरामीहरुले पनि नियमित औषधि खान पाएका छैनन् । खोप सेवा प्रभावित भएको छ । दीर्घ रोगीहरुलेसमेत नियमित औषधी खान पाइरहेका छैनन् । यसले पनि स्वास्थ्य क्षेत्र जटिल बन्दै गएको बास्तोला बताउनुहुन्छ । 

अहिले कोरोना मात्रै नभइ डेङ्गी, झाडापखालालगायतका बिरामी पनि बढेका भन्दै त्यसतपर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: असार १३, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया