बजार खुल्यो :  किन्ने मान्छे छैनन्

 असार ६, २०७७ शनिबार १८:४९:१ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमण नियन्त्रणकाे लागि सरकारले गएको चैत ११ गतेदेखि देशभरि नै लकडाउनको घोषणा गर्‍याे । त्यसपछि पनि पटक–पटक लकडाउन थपियो ।

लकडाउनकाे कारण अरु क्षेत्रजस्तै व्यापार व्यवसाय पनि ठप्प भयो । व्यवसाय ठप्प भएपछि चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने मागसहित प्रदर्शन नै गरे । रोगले भन्दा भोकले मर्ने अवस्था भयो भन्दै केही व्यापारीले जबर्जस्ती नै पसल खोल्न थाले । सरकारले पनि लकडाउन केही खुकुलो बनाएर दुरी कायम गर्दै र सुरक्षाका उपाय अपनाउँदै पसल खोल्न पाउने व्यवस्था गर्‍याे । 

अहिले बजार धमाधम खुल्न थालेका छन् तर ग्राहक कम मात्रै आउने गरेको व्यापारीले गुनासो गरेका छन् ।  

पसल त खुल्यो तर व्यापार छैन 

काठमाण्डौ सामाखुसीमा जुत्ता चप्पलको व्यवसाय गर्दै आउनुभएका दिपेश कुशवारले पसल खोल्नुभएको दुई/तीन दिन जति भयो । लामो समयपछि पसल खोल्न पाउँदा उहाँलाई लागेको खुसी छोटो समयमै निराशामा परिणत हुन पुग्यो । त्यसको कारण हो, ग्राहक कम मात्रै आउनु । सरकारले सुरक्षाको उपाय अपनाएर पसल खोल्न अनुमति दिएपछि अब त भोकले नमरिएला नि ! भनेर ढुक्कको सास फेरेको उहाँ बताउनुहुन्छ ।   

दिपेशको 'गोल्डस्टार' नामक जुत्ता चप्पल पसल छ । रौतहट घर भएका कुशवारले सामाखुसीमा जुत्ता चप्पलको व्यापार गर्न थाल्नुभएको तीन वर्ष भयो । उहाँले राम्रै आम्दानी गर्दै आउनुभएको थियो । लकडाउनभन्दा अगाडि दैनिक ५० जनाभन्दा धेरै ग्राहक आउने गरेको अनुभव उहाँले हामीलाई फोनमार्फत् सुनाउनुभयो । तर अहिले उहाँको पसलमा मुस्किलले १० देखि १५ जनासम्म ग्राहक आउने गरेका छन् ।

एक सयदेखि दुई हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल उहाँका पसलमा बिक्रीका लागि राखिएका छन् । उहाँ भन्नुहुन्छ, 'लकडाउन त केही हदसम्म खुकुलो भयो तर व्यापार साह्रै नै कम छ । के गर्ने ? शटर भाडा तिर्नुपर्छ । परिवार पाल्नुपर्छ ।' यद्यपि उहाँले शटरको भाडा भने खुलाउन चाहनुभएन । धेरैजसो नियमित ग्राहक उपत्यका छोडेर बाहिर गएका र भएका पनि कम मात्रै किन्न आउने गरेकाे उहाँ बताउनुहुन्छ । 'यतिका दिन पसल बन्द भयो । पैसा आउने ठाउँ पनि बन्द भयो । तर कोठा भाडा र शटर भाडाको मिटर भने बढेको बढ्यै', उहाँ भन्नुहुन्छ 'सधैँ यस्तै भयो भने कसरी गुजारा चलाउने ? 

कोरोनाको डर अझै हटेको छैन 

गाेङ्गबुमा रहेको मित्रता आयुर्वेद उपचार केन्द्रका सञ्चालक शिव लम्साल पनि ग्राहक कम मात्रै आउने गरेका बताउनुहुन्छ । तुलनात्मक रुपमा सामान्य अवस्थामा भन्दा लकडाउन पछाडि ७० प्रतिशत कम व्यापार हुने गरेको उहाँको भनाइ छ । लम्सालले  बिरामीकाे उपचार तथा औषधिको व्यापार गर्न थाल्नुभएको १० वर्ष भयो । यो अवधिमा राम्रै कमाइ गर्नुभयो । पसलकै कमाइले सानो घरसमेत बनाउन थाल्नुभएको छ । तर लकडाउनपछि पहिलाजस्तो व्यापार नभएकाेले बनाउन थालेको घर कसरी पूरा गरौँ भन्ने चिन्ता थपिएको बताउनुहुन्छ ।

राम्रो उपचार तथा औषधि व्यापार गर्ने भनेर आफूलाई धेरैले विश्वास गर्ने गरेकाे उहाँ दाबी गर्नहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विदेश जानेले समेत दुई/तीन वर्षकाे लागि मेरै पसलबाट औषधि लिएर जान्थे' । एक हप्ता अगाडिदेखि उहाँले दिनभर पसल खोल्न थाल्नुभएको हो । त्योभन्दा अगाडि बिहान र बेलुका मात्रै पसल खोल्ने गर्नुभएको थियो ।

रोग लागेपछि औषधि खान्न भनेर हुँदैन, अरु सामानजस्तो औषधि पनि पैसा भए किन्ने नभए नकिन्ने गर्न मिल्दैन, बिरामी भएपछि त जसरी नि किन्नुपर्‍याे, होइन र ? भन्ने प्रश्नमा उहाँ ठट्टा गर्दै भन्नुहुन्छ, 'लकडाउनकाे कारण मानिस घरभित्र नै बसे । बाहिरका 'फोहर' खानेकुरा खाएनन् । व्यक्तिगत सुरक्षाका उपायमा ध्यान दिए । त्यही भएर रोग नै कम लागेको होला नि ?' 

अहिले धेरै जना बाहिर गएका छन् । कतिपय भने कोरोनाकाे डरकै कारण पनि पसलमा नआएका हुन सक्ने उहाँ बताउनुहुन्छ । बरु मित्रता उपचार केन्द्रमा जण्डिस हेपाटाइटिस बी, मधुमेह, पिनास, महिला स्वास्थ्यसँग सम्बन्धित उपचार हुन्छ र औषधि पनि पाइन्छ भनेर तपाईँको मिडियाबाट भन्दिनुस् है, लम्सालले फोनबाटै हामीलाई अनुरोध गर्नुभयो । 

दशकौँपछि लागेको सुख्खा 

दिपेश र शिवजस्तै पाँचपोखरी बुक्स स्टोर न्युरोडकी सञ्चालिका विष्णुमाया श्रेष्ठ पनि पसलमा पहिलाजस्तो ग्राहक नआएर चिन्तित हुनुहुन्छ । पहिला भिडभाड हुने पसलमा अहिले दैनिक पाँ/सात जना मात्रै आउने गरेकाे श्रेष्ठ बताउनुहुन्छ । उहाँले १० वर्ष अगाडिदेखि नै पसल सञ्चालन गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, 'मैले यति लामो समयदेखि पसल सञ्चालन गरेँ, अहिलेजस्तो सुख्खा कहिल्यै लागेको थिएन ।' श्रीमान् श्रीमतीलाई सामान्य अवस्थामा बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले दिनभर मोबाइलमा गेम खेलेर बित्छ । उहाँले धेरै होलसेलमा र थोरै मात्र खुद्रा मूल्यमा व्यापार गर्दै आउनुभएको छ । उहाँ सुस्केरा हाल्दै भन्नुहुन्छ, 'लामो समय लकडाउन हुँदा अर्थ उपार्जनको बाटो खोसिएकाहरुलाई कसरी हातमुख जोडौँ  भन्ने छ । किताब किनेर पढ्ने त परकै कुरो होइन र ?'   

भएका पैसा सकियो, कसरी ग्राहकको भिड बढोस्  

कीर्तिपुरकाे नमस्ते मिट शपमा पनि ग्राहक फाट्टफुटट रुपमा मात्रै जाने गरेका छन् । मिट शपका सञ्चालक निरज खड्गीले पूर्णरुपमा पसल खोल्न थाल्नुभएको एक हप्ता मात्रै भएको छ । लकडाउनको सुरुका एक/दुई हप्ता बिहान मात्रै पसल खोल्दा पनि व्या​पार धेरै भएको उहाँ बताउनुहुन्छ । तर अहिले ग्राहक नआएर उहाँ हैरान हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, 'सुरुका एक/दुई दिनसम्म त मानिसहरुले लकडाउन धेरै लम्बिँदैन होला भनेर घरमा रमाइलो गरे । मासु पनि धेरै–धेरै लैजाने र विभिन्न परिकार बनाउने गरे । तर लकडाउन लामै समय लम्बियो । भएको पैसा पनि सकियो । त्यसैले होला अब त मान्छेले मासु किन्नै छोडे ।

घर नै कीर्तिपुर भए पनि आम्दानीको स्रोत अरु केही पनि नभएको र पसलमा ग्राहक पनि नआउँदा कसरी जीवन धान्ने भन्ने चिन्ता भएको उहाँ बताउनुहुन्छ । सङ्क्रमित थपिँदै गएकाले फेरि पनि सरकारले लकडाउन थप्ने त होइन भन्ने उहाँलाई आशङ्का छ । फेरि लकडाउन भयो भने त कहिल्यै उठ्न नसक्ने गरी लडिन्छ होला भन्ने पीर लागिरहने उहाँ बताउनुहुन्छ ।

पसल खोल्दा उहाँले सामान्य सुरक्षाको उपाय पनि अपनाउने गर्नुभएको छ । लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थामा उहाँले दैनिक ५० किलोभन्दा धेरै कुखुराको मासु बेच्नुहुन्थ्यो । तर अहिले २५ किलो पनि मुस्किलले मात्रै बिक्ने गरेको उहाँको भनाइ छ । मासु पसल उहाँको पुर्ख्याैली व्यवसाय हो । पहिला हजुरबाले गर्नुुहुन्थ्याे रे । त्यसपछि बुबाले अनि आफूले पनि मासुकै व्या​पार थालेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Bhabanath lamsal

    June 20, 2020, 10:07 p.m.

    राम्रो ,यथार्थ बिस्लेशन keep it up.

  •  0 Reply

तपाईको प्रतिक्रिया