सुनको व्यापार शून्य, बेच्नेहरु बढ्दै

 असार ८, २०७७ सोमबार १०:१४:४० | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ- काठमाण्डौको भगवानपाउ नजिकै राजेन्द्र सदाशंकरको सुनचाँदी पसल छ । उहाँले सुनचाँदी व्यापार गर्न थालेको ८ वर्ष भयो । लकडाउन अघिसम्म व्यापार राम्रो थियो, कमाई पनि सन्तोषजनक नै थियो । तर लकडाउनपछि व्यापार हुन छोड्यो । 
तीन महिना बन्द गरेको पसल खोल्न थालेको केही दिन भयोे । तर पसल खोलेदेखि अहिलेसम्म  सुन किन्नका लागि कोही पनि नआएका उहाँको गुनासो छ । हिजोआज किन्नेभन्दा पनि सुन बेच्नेहरु बढ्न थालेका उहाँले बताउनुभयो । 
‘लकडाउनले त साह्रै समस्या भयो नि । पहिले दैनिक रुपमा कम्तिमा पनि ३, ४ तोला सुनको व्यापार हुन्थ्यो । तर अहिले दिनभर बस्दा कहिलेकाहीँ शून्य नै हुन्छ’ उहाँले भन्नुभयो । 
सटर भाडा  १३ हजार रुपैयाँ मात्रै छ । त्यही पनि तिर्न भने गाह्रो भएको उहाँ बताउनुहुन्छ । 
मिनभवन ठूलो खरीबोट मार्गका माइला ल्वागुन पनि लकडाउनपछि सुनको कारोबार ठप्प भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘पसलमा कोही आउँदैनन् के गर्ने  ? मान्छे नआए पनि खोल्न त परिहाल्यो नि ।’ उहाँका आफ्नै नियमित ग्राहक थिए । ती पनि हिजोआज आउन छोडेका उहाँ बताउनुहुन्छ । उहाँले १० वर्षदेखि नियमित सुनको व्यापार गर्दै आउनुभएको छ । 
लकडाउनको अवधिमा साढे ५ अर्ब रुपैयाँ घाटा 
नेपाल सुनचाँदी व्यवसायी महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्य लकडाउनपछि सुनचाँदीको कारोबार ठप्प भएको बताउनुहुन्छ । लकडाउन खुकुलो बनाएर व्यवसाय सञ्चालन गर्न दिइए पनि ग्राहक नआएकाले अहिले पनि एक किसिमको लकडाउन जस्तै भएको उहाँको भनाई छ । लकडाउनको समयमा  साढे ५ अर्ब रुपैयाँको घाटा भएको उहाँ बताउनहुन्छ । 
नेपालमा वर्षमा ६० अर्ब रुपैयाँको सुनको कारोबार हुँदै आएको छ । हुन त २०७६ सालदेखि नै सुनको भाउ निरन्तर उकालो नै लाग्यो । त्यसले गर्दा कारोबार त कम नै हुन थालेको थियो ।  तर अहिले भने कारोबार शून्यकै अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अझै केही समय सुन बिक्री  हुने छाँट देखिंदैन ।’
विश्व बजारमा भाउ बढेकाले नेपालमा पनि बढ्यो
सुनको भाउ निरन्तर जस्तै बढ्दै गइरहेको छ । विश्व बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि यसको असर परेको शाक्यले बताउनुभयो । लकडाउनपछि सुनको मूल्य बढेर ९० हजारको हाराहारीमा आइपुगेको छ । सुनको भाउ बढेकाले कारोबार कम हुँदै गएको भनिए पनि सामान्य अवस्थामा दैनिक १० देखि १५ किलो र अरु तिज, बिबाह ब्रतबन्ध परेका बेला भने महिनामा नै २५ देखि ३० किलोसम्म ब्यापार हुने  गथ्र्यो । तर  अहिले भने कारोबार नै कम भएको र अझ बिक्री त हुँदै नभएको शाक्य बताउनुहुन्छ । 
सरकारको आम्दानीमा पनि गिरावट
पसलमा सुन कारोबार नहुँदा सरकारले करोडौँ रुपैयाँको राजश्व गुमाएको छ । । लकडाउनको अवधिमा मात्रै सरकारले झण्डै ४२ करोड रुपैयाँ राजश्व गुमाईसकेको छ । नेपालका बैंकहरुले दैनिक १० किलोग्राम सुन आयात गर्न पाउँछन् । सरकारले एक किलो सुन आयात वापत ६ लाख ५० हजार भन्सार शुल्क लिँदै आएको थियो । यसको आधारमा हिसाब गर्ने हो भने सरकारले ६५ लाख रुपैयाँ दैनिक राजश्व गुमाउँदै आएको छ । महिनामा १९ करोड ५० लाख राजश्व र पत्थर, हिरालगायत पार्टपूर्जा आयात गर्दा हुने २२ करोड राजस्व उठेको छैन ।  
एकैपटक सुन बेच्न नआउन आग्रह 
अहिले सुन महंगो भएको र पसल पनि बिस्तारै खुल्न थालेको अवस्था छ । यसले गर्दा आउँदा दिनमा सुन किन्ने भन्दा पनि बेच्नेहरु बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लकडाउनको समयमा धेरैको रोजीरोटी खोसिएको छ । धेरैलाई हातमुख जोर्न गाह्रो हुँदै गएको छ । यस्तो बेलामा सुन किन्ने भन्दा पनि बेच्नेहरुको भिडभाड लाग्न सक्ने शाक्य बताउनुहुन्छ । बेच्नेको भिडभाडलाई कम गर्नका लागि एकैपटक सुन बेच्न नआउन महासंघले सार्वजनिक सूचना निकालेर अनुरोध गरिसकेको छ । 
देशभर २२ हजारभन्दा धेरै सुनचाँदी व्यवसायी छन्  । २ लाखको हाराहारीमा कालिगढ रहेका शाक्यले बताउनुभयो । धेरैजसो कालिगढ भारतका भएकाले तत्काल काममा फर्काउने अवस्था नभएको उहाँ बताउनुहुन्छ । जसका कारण उनीहरुको रोजगारीसमेत संकटमा परेको छ । पछिल्लो समय शहरीकरण र मानिसहरुको सुनचाँदी प्रतिको मोह बढ्दै गएकाले नेपाली बजारमा पनि सुनचाँदीको कारोबार फस्टाउँदै गएको थियो । तर झण्डै  एक वर्षदेखि सुनको मूल्य निरन्तर रुपमा बढेकाले कारोबार भने घट्दै गएको छ । सुनचाँदीको क्षेत्रमा भएको घाटाबारे सरकारसँग छलफल भइरहेको र सरकारले केही राहतको प्याकेज ल्याउनेमा आशावादी भएको शाक्यले  बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया