कर्णालीमा ४२ प्रतिशत कोरोना सङ्क्रमित निको भए

 असार ८, २०७७ सोमबार १०:४४:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गएको छ  । अहिलेसम्म ४२ प्रतिशत अर्थात पाँचसय ३१ जना निको भएर घर फर्किसकेका छन् ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार जाजरकोटमा एक, जुम्लाका २५, कालिकोटमा २७, सल्यानका ४४, सुर्खेतका ९३ र दैलेखका तीनसय ४१ जना  निको भएका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म चार जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ । सुर्खेतमा २, डोल्पा र दैलेखका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो ।

अहिलेसम्म कर्णालीमा एक हजार दुईसय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये १६ जना कर्णालीका विभिन्न जिल्लामा बस्दै आएका अन्य प्रदेशका हुन् । कर्णाली प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सबैभन्दा बढी कोरोना सङ्क्रमितको संख्या दैलेखमा छ ।  दैलेखमा कोरोना सङ्क्रमितको संख्या सातसय ११ रहेको छ । 

यस्तै सुर्खेतमा दुईसय ७९, सल्यानमा एक ६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक/एक जना कोरोना सङ्क्रमित छन् ।

अहिलेसम्म भेटिएका सङ्क्रमितमध्ये एक हजार एकसय ५३ जना पुरुष र एकसय तीन जना महिला रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया