नातेदार र चिनेजानेबाटै महिला असुरक्षित, हजुरबासमेत बलात्कारी !

 असार १०, २०७७ बुधबार १०:५६:२४ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै –

घटना १ : गएको शुक्रबार राति कञ्चनपुरमा नाै वर्षीया बालिका आफ्नै फुपूको छोराबाट बलात्कृत भइन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १० का २० वर्षीय बीरेन्द्र दयालले मामाघरमा आएकी बहिनीलाई जबर्जस्ती गरे । 

भोलिपल्ट बालिकाले आमासँग यो कुरा भनेपछि घटना सार्वजनिक भयो । परिवारले तुरुन्तै प्रहरीलाई खबर गर्‍याे र उनी पक्राउ परे । 

घटना २ : नवलपरासी कावासोतीकी १४ वर्षीया बालिका अहिले काठमाण्डौको एक सेल्टर हाउसमा छिन् । बुवाले आफूमाथि गरेको घिनलाग्दो दुर्व्यवहार सहन नसकेपछि उनले छिमेकी काकीको सहयोगमा गएको जेठमा प्रहरीलाई खबर गरिन्  ।

प्रहरीले बुवालाई पक्राउ गरेपछि घरमा आमाले उनलाई बस्न दिइनन् । घरमा बस्ने वातावरण नभएपछि उनलाई महिला अधिकारकर्मीको सहयोगमा काठमाण्डौ ल्याइयो । 

प्रहरीले पक्राउ गरेको बुवालार्ई कारबाही भयो वा भएन भन्नेबारे बालिकालाई जानकारी छैन । 

नातेदार र चिनेजानेबाटै महिला असुरक्षित

माथिका दुई घटना त उदाहरण मात्र हुन् । नातेदार र चिनेजानेकाबाटै बालिका, किशोरी तथा महिला बलात्कृत हुने घटना बढिरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म चिनेजानेका र नातेदारबाट मात्रै एक हजार पाँच सय ४५ बालिका, किशोरी र महिला बलात्कृत भएका छन् ।

यस्तै चार सय ६ जना महिला नचिनेको व्यक्तिबाट बलात्कृत भएका छन् । आफ्नै बुवा र सौतेनी बुवाबाट ३५ बालिका बलात्कृत भएका छन् । 

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार हजुरबुवाबाट १३, काका, मामा, ठूलोबुवाबाट ३३, छोराबाट दुई, दाजु, भाइ, काका, मामाको छोरा, ठूलाबुवाको छोराबाट २३, देवर, जेठाजुबाट आठ, श्रीमानबाट २८, केटा साथीबाट ७७, छिमेकीबाट पाँच सय १९, भिनाजुबाट तीन, शिक्षकबाट ४४, घर मालिकबाट तीन र अन्य चिनेजानेकोबाट सात सय १७ जना किशोरी तथा महिला बलात्कृत भएका छन् । 

यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ३७ महिला, बालिका तथा किशोरी चिनेजानेको तथा नातेदारबाटै बलात्कृत भएका छन् । अनि पाँच सय ३३ जना नचिनेको व्यक्तिबाट बलात्कृत भएका छन् । 

नातेदार र चिनेजानेबाटै बलात्कारका घटना किन हुन्छ ?

डा. सुवोध पोख्रेलकुनै पनि मानिस सामान्य अवस्थामा छ भने उसले साना बालिकालाई जबर्जस्ती गर्दैन ।

यसैमाथि बुवा, काकाहरुले आफ्नै छोरी, बहिनी भतिजीलाई बलात्कार गर्दैनन् । तर मनमा केही न केही कुण्ठा बोकेको व्यक्तिले यस्तो गर्न सक्छ । 

कसैलाई कसैको बोली सुन्नेबित्तिकै, कसैको आँखा देख्नेबित्तिकै, कसैलाई छुनेबित्तिकै यौन उत्तेजना हुन्छ ।

इन्द्रीय पछाडि मन हुन्छ, इन्द्रीयलाई मनले नियन्त्रण गर्छ । मनले पनि नियन्त्रण गर्न सकिएन भने बुद्धिले गर्छ । बुद्धिले पनि सकिएन भने विवेकले गर्छ ।

विवेकले यो मेरा लागि हानिकारक छ, मैले यस्तो गर्न हुँदैन भन्ने थाहा पायो भने उसले जबर्जस्ती गर्दैन । 

यदी उसले इन्द्रीय, मन, बुद्धि, विवेक सबैलाई नियन्त्रण गर्न सकेन भने जबर्जस्ती गर्छ र यस्तो साधारण अवस्थामा कुनै व्यक्तिले गर्न सक्दैन । त्यस्तो व्यक्तिलार्ई मानसिक समस्या भएको बुझ्नुपर्छ ।

बुवाले छोरीलाई, दाइले बहिनीलाई, काकाले भतिजीलाई बलात्कार गरेका घटनाहरुमा अध्ययन नै गर्नुपर्छ । यस्ता व्यक्तिलाई कैद सजाय गरेर मात्रै हुँदैन, उसलाई सुधार गृहमा नै राख्नुपर्ने हुन्छ । 

होला मान्छेले केही रिसिबी मेट्न वा प्रतिशोधको हिसाबले पनि यसो गर्न सक्लान् । तर यस्तो व्यक्तिले एकैछिनपछि आत्मग्लानी महसुस गर्छ । आत्मग्लानी गर्ने व्यक्तिलाई सजाय दिए पुग्छ भने हाडनाता करणी गर्नेलाई सजाय र सुधार गृह दुवैको आवश्यकता पर्छ ।

विश्वासिलो व्यक्तिबाटै बलात्कार किन ?

मनोविद् स्मृति घिमिरे

मानिस कतिखेर बलात्कारी हुन्छ भन्ने सन्दर्भमा कतिपयको मानसिक स्थिति ठिक नभएर पनि हुन सक्छ । किन उसले बलात्कार गर्‍याे भन्नेबारे अध्ययन हुँदैन ।

अहिले विश्वका कतिपय देशमा गरिएको अनुसन्धानले के देखाएको छ भने जति पनि बलात्कार गर्ने अपराधीहरु छन्, उनीमध्ये ६० प्रतिशत सानोमा आफै बलात्कृत भएको व्यक्ति भएको देखाएको छ । तर नेपालमा भने यस विषयमा कुनै अध्ययन, अनुसन्धान भएको छैन ।  

यसैमा पनि अझ आफ्नै नातेदार, चिनेजानेकै व्यक्तिबाट बालबालिका अझै भनौं बालिका बलात्कृत भएको देखिन्छ । बालबालिकाको सबैभन्दा विश्वासिलो पात्र भनेकै बुवा, काका, मामा र आफन्त हुन् ।

उनीहरुलाई मिठो खानेकुरा देखायो र कसैलाई नभन्नु भन्दा उनीहरुले कसैलाई भन्दैनन् । यसले गर्दा पनि उनीहरु जोखिममा पर्छन् ।

अभिभावकले आफूमाथि गरिरहेको दुर्व्यवहार बालिकालाई थाहा हुँदैन र उनीहरु भन्न सक्दैनन् । अर्को कुरा के छ भने कतिपय वयस्क पुरुष वयस्क महिलासँग सम्बन्ध राख्न आफूलाई असक्षम भएको महसुस गर्ने पनि हुन्छन् । त्यसैले उनीहरुले बालिकालाई दुर्व्यवहार गर्न खोज्छन् ।

बालिकाले कुनै कुरा भन्न सक्दैनन् वा भनिहाले पनि डर, धम्की दिन सकिन्छ भन्ने मानसिकता बनाउँछन् । त्यस्तै अर्को कुरा यौनका विषयमा खुलेर कुरा नगर्नुले पनि यस्ता घटनाहरु बढ्ने गर्छन् । 

बसाईं सराई, एकल परिवारले पनि यस्ता घटना बढ्दैछन् 

समाजमा हुने हरेक घटना समाजको स्वरुपसँग जोडिएका हुन्छन् । यसका लागि घरपरिवारको बनोट कस्तो छ, त्योभित्रको सम्बन्ध कस्तो हुने, त्यो समाजमा हुने हिंसाको प्रकृतिहरु कस्ता हुन्छन् भन्ने कुरामा भर पर्छ । 

पहिले पहिले परिवार ठूलो हुन्थ्यो ।

समाजशास्त्री निर्मला ढकालत्यो परिवारभित्र सासुससुरा, छोराबुहारी नातीनातीना सबै हुन्थे । घरका कोही सदस्य काममा निस्कँदा पनि घरमा बुढाबुढी, बालबालिका हुन्थे । बालबालिकाको रेखदेख हुन्थ्यो । अहिले त्यस्तो छैन । मान्छे एकल परिवारमा बस्ने गरेका छन् ।

त्यसैमाथि बसाईं सराई बढ्दो छ । जस्तो कुनै मानिस गाउँबाट बसाइ सरेर शहर पस्छ । आमाबुवा दुवै जागिरे छन् भने बच्चालाई आफन्त, नातेदारको घरमा लगेर छोड्ने गरिन्छ । यसले पनि जोखिम बढ्छ ।  ​

अर्को कुरा बालबालिकालाई शाारीरिक अवस्थाको बारेमा थाहा हुँदैन । यो विषयमा न त विद्यालयमा पढाइ हुन्छ, न त घरभित्र नै । ९, १० कक्षामा पुग्दा मात्र  जाँदा मात्र बल्ल यो कुराको पढाइ हुन्छ । 

यसकारण कस्तो हेराइ, छुवाइ नराम्रो हो भन्ने कुरा बालबालिकालाई थाहा हुँदैन । बालबच्चा पहिलेदेखि नै दुर्व्यवहारमा परिरहेका हुन्छन् । तर जब बालिकामाथि बलात्कार हुन्छ तब कुरा बाहिर आउँछ ।

बलात्कार हुनुभन्दा अगाडिका दुर्व्यवहारका कुरा अझै आएको पाइँदैन । अझै अर्को कुरा भन्दा पहिले आफै पीडित बनेका व्यक्ति नै पछि गएर पीडक बनेका हुन्छन् । सानैमा उनीहरुले यस्तो दुर्व्यवहार भोगिरहेका हुन्छन् । पछि गएर अरुलाई झम्टन्छन् ।

यस्ता घटनाहरु बाहिर आउँदा बलात्कार गर्ने मान्छेलाई पक्राउ गरिन्छ, सजाय दिलाइन्छ र छोडिन्छ । यसले यस्तो किन गर्‍याे, उसको मानसिक स्थिति कस्तो थियो भन्नेबारे अध्ययन हुँदैन । त्यसैले पनि यस्ता घटनाहरु बढिरहेका छन्

। 

तथ्याँकमा हेर्नुहाेस् :

  • आर्थिक वर्ष २०७४/७५

  • आर्थिक वर्ष २०७५/७६

अन्तिम अपडेट: बैशाख १३, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया