डलरको भाउ अहिलेसम्मकै उच्च
मंसिर ७, २०८१ शुक्रबार
गएको जेठ १ गते राती गुल्मीमा क्वरेण्टीनमा बसेका चन्द्रबहादुर परियारले आत्महत्या गरेको खबर सार्वजनिक भयो । गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका परियारलाई त्यही दिन दिउँसो स्थानीय आदर्श माध्यामिक विद्यालयको क्वरेण्टीनमा राखिएको थियो ।
राति शौचालय जान क्वरेण्टीनबाट बाहिर निस्किएका परियारलाई ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वरेण्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।बझाङको छबिसपाथिभेरा गाउँपालिका ७ का ३२ वर्षीय रमेश धामीलाई पनि क्वरेण्टीनमै आत्महत्या गरेको अवस्थामा भेटियो । क्वरेण्टीनको सुरक्षाघेराका लागि राखिएको डोरीमा झुण्डिएर धामीले आत्महत्या गरेको वडाध्यक्ष पदम बहादुर मण्डेलले जानकारी दिनुभयो ।
अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गर्नुभयो । लकडाउनका बेला जागिर गुमाएका आउजी पुनर्वहालीको माग पूरा नभएपछि तनावमा हुनुहुन्थ्यो । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गर्नुभएको थियो ।
यी त केही उदाहरण मात्र हुन् । लकडाउन सुरु भएपछिको दुई महिनाको अवधिमा मात्रै देशभर १३ सय ७१ जनाले आत्महत्या गरेका प्रहरी प्रधान कार्यालय नक्सालका डीआइजी निरजबहादुर शाहीले जानकारी दिनुभयो ।
११ सय ४४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने १ सय ९७ जनाले विष खाएर र १ जनाले आगो लगाएर आफ्नै ज्यान लिएका छन् । त्यस्तै ७ जनाले औजार तथा हातहतियारको प्रयोग गरेर, १२ जनाले हामफालेर, १ जनाले करेन्ट लगाएर र ९ जनाले डुबेर आत्महत्या गरेका शाहीले जानकारी दिनुभयो ।
यस अवधिमा बालबालिकालेसमेत आत्महत्या गरेको तथ्याँक छ । लकडाउनको अवधिमा ९८ जना बालक र ५९ जना बालिकाले आत्महत्या गरेका छन् । यस्तै ५ सय ४ जना महिला र ७ सय १० जना पुरुषले आत्महत्या गरेका छन्।
सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा २ सय ८६ जनाले लकडाउनको अवधिमा आत्महत्या गरेका छन् । काठमाण्डौमा उपत्यकामा ८९ जना, सुदूरपश्चिममा १ सय ३९ जना, कर्णाली प्रदेशमा ७९ जना, गण्डकी प्रदेशमा १ सय ५१ जना, वाग्मती प्रदेशमा १ सय २० र प्रदेश नम्बर १ मा २ सय २६ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको यो आँकडा हेर्दा निकै डरलाग्दो छ । आत्महत्याको जरो सामाजिक, आर्थिक र पारिवारिक कुरासँग जोडिएर आउने मानसिक रोगविज्ञ डा. पुस्कर शर्मा बताउनुहुन्छ । लकडाउनका अवधिमा क्वरेण्टीनमा नै आत्महत्या गर्नु पनि एक हिसाबले यी कुराहरुसँगै जोडिएर आउने उहाँ बताउनुहुन्छ । यदि आवश्यक परामर्श र सहयोग हुने हो भने आत्महत्यालाई पुरै निर्मूल पार्न नसके पनि केही हदसम्म कम गर्न सकिने उहाँ बताउनुहुन्छ ।
मानसिक रोगविज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘मानसिक रोगी जब आत्महत्याको आईसीयूमा पुग्छ, तब आत्महत्या गर्छन् ।’ डा. शर्माको भाषामा आत्महत्याको आईसीयू भनेको निराशा र डिप्रेसनको अन्तिम अवस्था हो । मलाई त मर्न मन लागेको छ भन्नु, एकोहोरो हुनु र अरु समयमाभन्दा अलि फरक व्यवहार देखिनु यो अवस्थाका लक्षणहरु हुन् ।
यस्ता व्यवहार देखिएकालाई अरु बिरामीलाई जस्तो सिधै आईसीयूमा राख्न नसके पनि यस्ता बिरामीको आईसीयू भनेको मनोपरामर्श, सहयोग, माया र सद्भाव भएको उहाँ बताउनुहुन्छ । यस्तो अवस्थामा पुग्न नदिनका लागि परिवार, साथीभाइ र समाजको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
कतिपयमा भने यस्तो लक्षण नदेखिन पनि सक्छ । सधैँ हास्ने बोल्ने, बाहिर हेर्दा केही नभएको जस्तो देखिने मान्छेमा पनि भित्रभित्र निराशा छाएको, जीवनदेखि हार मानिसकेको हुन सक्ने भएकाले यस्तो व्यक्तिलाई भने परामर्श दिन गाह्रो हुन्छ ।
त्यसैले आफुलाई आफ्ना परिवारका सदस्य, छरछिमेकी अथवा कसैलाई समस्या परेको छ कि भनेर आफूले सम्झाउने, मनोपरामर्शका लागि डाक्टर तथा परामर्शदाता भएको ठाउँमा लैजान सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपालमा आत्महत्या गर्नेको सँख्या बर्सेनि बढ्दै गइरहेको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ५ हजारको हाराहारीमा रहेका आत्महत्याको सँख्या त्यसपछिको वर्षमा ३ सय थपियो । गएको आर्थिक वर्षमा त झन् बढेर ५ हजार ७ सय ८५ पुग्यो । औषतमा नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको जोखिममा युवा र किशोरकिशोरी हुने गरेका छन् । अझ लकडाउनको अवधिमा त औषतमा १७ जनाले आत्महत्या गरेका पाइएको छ ।
आत्महत्या गर्नेसम्म पुर्याउन मानिसलाई सामाजिक, मनोवैज्ञानिक र जैविक पक्षले विशेष भूमिका खेलेको हुन्छ । आवेशमा आएर, लागूऔषधको लतमा फसेर, सम्बन्ध बिग्रिएर, आर्थिक लेनदेनमा धक्का लाग्यो भनेर र तत्कालीन आवेशको कारण प्रायःले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्वमा २० देखि ३० वर्षका मानिसको अकाल मृत्युको प्रमुख कारण सडक दुर्घटनापछि आत्महत्या हो ।
आत्महत्याबाट बच्न र बनाउनका लागि मानसिक स्वास्थ्य ठिक हुनुपर्ने टीपीओ नेपालकी मनोविमर्शदाता पार्वती श्रेष्ठ बताउनुहुन्छ । जीवनयापनको शैली स्वस्थ हुुनुपर्ने भएकाले नियमित योग र ध्यान लगायतका क्रियाकलापको आवश्यकता हुने उहाँ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार नकारात्मक धारणा मनमा आउन नदिन आफूलाई व्यस्त र खुसी राख्ने प्रयास गर्नुपर्छ । आफूलाई के कस्तो व्यवहार वा क्रियाकलापको बेला आत्महत्या गरौँ जस्तो लाग्छ, सकेसम्म त्यस्ता व्यवहार र क्रियाकलापबाट टाढा रहने प्रयास गर्नुपर्छ । यदि आफूलाई आत्महत्याको सोच आएको छ भने कसैलाई भन्ने र कसैले आत्महत्या गर्न मन लागेको जस्तो कुरा गरेमा वा सामाजिक सञ्जालमा निराशाजनक कुराहरु लेखेमा उसको मनोभावना बुझ्ने कोशिस गर्नुपर्छ ।
खिल्ली र खिसी गरेमा उसलाई झन् बढी मानसिक तनाव हुन सक्छ र आत्महत्या गर्ने अवस्थासम्म पुग्न सक्छ । एकदमै तनाव भयो, आत्महत्या गर्ने सोच आयो भने तत्कालका लागि बच्चाहरुसँग खेल्ने, मन परेको कुरा खाने र मन परेको काम गर्न सकिन्छ । दीर्घकालीन समाधानका लागि भने उपचार नै गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।
आत्महत्या हेर्दा एक जनाको मृत्यु जस्तो देखिन्छ, तर त्यसमा परिवार र समाजको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो समाजमा आत्महत्याको बारेमा धेरै नराम्रो धारणा पाइन्छ । कसैले आत्महत्या गर्ने प्रयास गरेर बचेको छ भने हेलाको दृष्टिकोणले हेर्ने, त्यतिबेलै मरेको भए हुन्थ्यो भनेर खिली गर्ने गरिएको पनि भेटिन्छ । यसलाई एकदमै शंवेदनशील भएर हेर्नुपर्ने उहाँको भनाई छ ।
कतिपय आत्महत्या भएका ठाउँ वरपरका मानिसले अथवा आफन्तहरुले पहिला यसो गर्यो, उसो गर्यो अनि आत्महत्या गर्यो भनेर सिलसिलाबद्ध तरिकाले भन्ने गरेका हुन्छन् । यसरी भनेका कुरा तनावमा भएका मानिस वा बालबालिकाले पनि सुनिरहेका हुन सक्छन् । जसले गर्दा उनीहरुलाई आत्महत्या गर्न प्रेरित गरिरहेको हुन्छ । त्यसैले यस्ता क्रियाकलापबाट पनि बच्नुपर्ने उहाँ बताउनुहुन्छ ।
लकडाउनपछिको समयमा कोरोना भाइरसको सङ्क्रमणको डर, रोजगारी गुम्नु, व्यापार व्यवसायमा घाटा लाग्नु, बढी समय एकान्तमा बिताउनु र बाँकी विश्वसँगको सम्बन्धमा दूरी आउनुले धेरै मानिसहरुमा मनोरोगको समस्या बढेको मनोचिकित्सकहरु बताउँछन् । आफ्नो परिवारको सदस्य तथा साथीभाइमा यस्तो समस्या त छैन भन्नेतर्फ ध्यान दिनसके समयमै आत्महत्या गर्नबाट रोक्न सकिन्छ । कसैमा आत्महत्याको सोच आए तथा एकोहोरिएर बस्ने समस्या देखिए तुरुन्तै मनोचिकित्सकलाई सम्पर्क गर्नुपर्ने डाक्टरहरुले सुझाएका छन् ।
आत्महत्याको पछाडि धेरै कारण भए पनि सबै कारण समाजसँग सम्बन्धित हुने समाजशास्त्री निर्मला ढकाल बताउनुहुन्छ । नेपालमा अहिलेको समयमा कुन उमेर समूहका किशोरकिशोरी, महिला र पुरुषले किन आत्महत्या गरे भन्ने विस्तृत रुपमा अनुसन्धान हुन नसकेको उहाँको भनाई छ ।
अहिले मानिसहरु सबै कुराबाट बञ्चित भएका छन् । साथीहरुलाई भेट्न पाएका छैनन् । मनोरञ्जन पाएका छैनन् । जागिर छुटेको छ । सधैँ घुमफिर गरिरहनेहरुले घरभित्रै बस्नु परिरहेको छ । लकडाउन खोले पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । कतिपय आइसोलेसनमा छन् । धेरैले गरिखाने बाटो गुमाएका छन् । भएको पैसा सकिएपछि र विकल्प नदेख्दा आत्महत्या गर्नेको सँख्या बढेको र यो सँख्या अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ ।
विभिन्न अध्ययनले सन २०३० पछि संसारका तीन जनामध्ये एक जनाले मानसिक समस्या भोग्नुपर्ने देखाएको थियो । तर कोरोना भाइरसका कारण सन २०२० मै संसारले यो नियती झेल्नुपर्ने हुनसक्ने विज्ञले बताएका छन् । कोरोनाको प्रकोप अझै कति समय रहन्छ र मानिसले कति असहज परिस्थितिको सामना गर्नुपर्छ भन्न सकिने अवस्था छैन ।
यही कुरालाई मध्यनजर गर्दै अमेरिका लगायतका कतिपय देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नहुँदै मानसिक परामर्श थालिएको छ । मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क रुपमा खटिइरहेका छन् । अरु देशहरुले पनि मानसिक परामर्शका लागि काम थालिसकेका छन् ।
नेपालमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मनोवैज्ञानिक उपचारका लागि रकम विनियोजन गरिए पनि राज्यस्तरबाट अरु काम हुन सकेको छैन । नेपालमा दैनिक रुपमा मानसिक रोग र आत्महत्याको दर बढ्दै गएको अवस्थामा सरकारी स्तरबाटै समस्याको पहिचान र समयमै उपचारको लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यसका साथै सबैलाई मनोरोगबारे ज्ञान दिने र घर परिवारमा पनि यसबारे खुलेर बहस चलाउनुपर्ने विज्ञको सुझाव छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।