ताप्लेजुङका एक दर्जन बढी गाउँ पहिरोको उच्च जोखिममा, सम्बन्धित निकायलाई सतर्क रहन आग्रह

 असार १३, २०७७ शनिबार ९:५:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – वर्षायाम सुरु भएसँगै ताप्लेजुङको उत्तरी हिमाली पर्यटकीय गाउँ ओलाङ गाउँपालिकाका बासिन्दा त्रासमा छन् । वर्षा सुरु भएसँगै ओलाङ वासीहरुलाई राति निन्द्रा लाग्न छोडेको छ ।

तमोर नदीको किनारमा रहेको ओलाङचुङगोला बजार पहिरोको उच्च जोखिममा रहेको छ । कतिबेला बाढी आउँछ र लिएर जान्छ भन्ने त्राशमा बस्नुपरेको स्थानीयको भनाइ छ । फक्ताङलुङ गाउँ पालिकाका प्रवक्तासमेत रहनुभएका ओलाङचुङगोला निवासी छेतेन शेर्पा ओलाङचुङगोला बजार पहिरोको उच्च जोखिममा रहेको बताउनुहुन्छ । 

लगातारको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका–४, इखाबुको रानी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको र विद्यालयमा रहेका शैक्षिक सामग्री, ल्याप्टपलगायत बगाएको विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताउनुभयो । 

लगातार वर्षाको कारण ताप्लेजुङका विभिन्न ठाउँमा केही दिनयता बाढी पहिरो गइरहेकोले जिल्लावासीलाई थप त्रसित बनाएको छ । 

विगतका वर्षमा पनि जिल्लावासीहरु बाढी पहिरोबाट पीडित भएको देखिन्छ । २०७३ सालमा दोखुमा पहिरो जाँदा चार जनाको ज्यान गएको थियो भने सयौँ घरपरिवारहरु विस्थापित भएका थिए ।

त्यस्तै २०७२ सालमा जिल्लाका तत्कालीन गाविसहरु खोक्लिङ, लिबाङ, लिङतेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको ज्यान गएको थियो । त्यो पहिरोका पीडित अहिले पनि गाँस, वास र कपासको लागि उत्तिकै सङ्र्घष गरिरहेका छन् । 

२०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा ११ जनाले ज्यान गुमाएका थिए । त्यो वर्षको पहिरोबाट विस्थापित भएर जिल्ला सदरमुकाम आउनुभएका तेजबहादुर भट्टराई त्यो पहिरो सम्झिँदै भन्नुहुन्छ, ‘रातको समयमा थोरैले मात्र मेरो परिवार बँचेको थियो ।’ 

विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ताप्लेजुङमा पहिरोको कारण २० वर्षको अवधिमा एक सय ४४ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं विस्थापित भएका छन् ।

दुई दर्जन बढी गाउँ पहिरोको उच्च जोखिममा 

ताप्लेजुङका दुई दर्जनभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले नौ वटा पालिकाका दुई दर्जन बढी गाउँलाई पहिरोको उच्च जोखिममा राखेको छ । पछिल्लो २० वर्षमा गएका पहिरोलाई मध्यनजर गर्दै दुई दर्जन बढी गाउँलाई पहिरोको उच्च जोखिममा राखेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । 

सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे, पेदाङ र सिनाम पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै सिदिङवा गाउँपालिकाको सादेवा, सुरुमखिम, लिम्बुदिन, कालीखोला र आङ्खोपमा पनि पहिलोको जोखिम छ । पाथीभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सीबोटेमा पनि पहिरो कति बेला जाने हो, थाहा छैन । 

सदरमुकाम रहेको फुङलिङ नगरपालिकाको ११ वटा वडामध्ये फुङलिङ बजार पनि पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाकै दोखु, हाङदेवा र फुरुम्बु गाउँ पनि पहिरोको उच्च जोखिममा छ । 

ताप्लेजुङकै सबैभन्दा ठूलो फक्तालुङ गाउँपालिकाका ७ मध्ये ६ गाउँ पहिरोको उच्च जोखिममा छन् । लिङखिम, ओलाङचुङगोला, लेलेप, तापेथोक, ईखाबु र सावादिन पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थपन समितिले जनाएको छ । 

मिक्वाखोला गाउँपालिकाको पहिरोको उच्च जोखिममा खोक्लिङ, लिवाङ र सावाँ रहेका छन् । आठराई त्रिवेणी गाउँपालिकाको फुलबारी र निघुरादिन गाउँ पनि पहिरोको उच्च जोखिममा छन् । 


सम्बन्धित निकायलाई चनाखो हुन आग्रह 

विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आफ्नो मातहतमा रहेका सरकारी कार्यालय तथा पालिकालाई आ–आफ्नो क्षमताले भ्याएसम्म बन्दोबस्तीका समग्रीसहित सतर्क रहन आग्रह गर्नुभएको छ ।  

निरौलाले जिल्ला विकास समन्वय समिति, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायत सबै सरकारी कार्यालयलाई चनाखो बस्न आग्रह गर्नुभएको छ । साथै नेपाल रेडक्रस, पत्रकारका साथै सम्पूर्ण जिल्लामा रहेका सङ्घ संस्थालाई सजग भएर बस्न आग्रह गर्नुभएको छ । 

भौगोलिक विकटता भएको ताप्लेजुङमा धेरै भिरालो जमिन तथा धेरै खोलानाला भएका कारण पनि बाढी पहिरोको उच्च जोखिम रहेको विज्ञहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया