क्वरेण्टीनबाट फर्किएकामा पनि कोरोना देखिएपछि थप सतर्कता आवश्यक

 असार १४, २०७७ आइतबार ८:४०:३३ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामको प्रयासबीच कतिपय प्रदेशमा क्वरेण्टीनमा बसेर घर पठाइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

१४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएकाहरुमा सङ्क्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजारभन्दा बढीलाई घर पठाइएको थियो । घर पठाइएकामध्ये दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अरु पनि कतिपय ठाउँमा उपचारपछि निको भएका भनिएकाहरुमा पनि फेरि कोरोना पोजेटिभ भएका खबरहरु सार्वजनिक भएका छन् । 

यसरी लक्षण देखिएन भन्दै क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदायमा फैलिन्छ या फैलिँदैन भन्ने कुराले धेरैमा डर बढेको छ । कतिपयले लक्षण नदेखिएकालाई क्वरेण्टीनबाट घर पठाउँदा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको बताएका छन् । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भने लक्षण कम भएकाहरुमा कोरोना पोजेटिभ भए पनि उनीहरुले अरुमा सार्ने क्रम पनि कम हुने बताउनुहुन्छ । 

विश्व स्वास्थ्य सङ्गठनले कोरोना पोजेटिभ भएको १० दिनमा भाइरस निष्क्रिय हुने र त्यसले अरुमा सार्ने जोखिम पनि कम हुने बताएको छ । विश्व स्वास्थ्य सङ्ठगनले १० दिन भाइरस सक्रिय हुने र ११ दिनबाट निष्क्रिय हुने बताए पनि नेपालमा १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भनिएको छ ।

डराउने अवस्था छैन

मन्त्रालयका सहप्रवक्ता अधिकारी १४ दिनसम्म निगरानीमा बसेर घर फर्किएकामा कोरोना सङ्क्रमण देखिनुले समुदायस्तरमा फैलने जोखिम धेरै नहुने बताउनुहुन्छ । तर कहिलेकाहीँ क्वरेण्टीनबाट घरमा जाँदै गर्दा  बाटोमा सङ्क्रमितको सम्पर्कमा आएमा, क्वरेण्टीनमा  बसेको अन्तिम दिनतिर नयाँ सङ्क्रमितको सम्पर्क भएमा भने भाइरस सर्ने जोखिम हुन्छ । त्यसैले १४ दिनको क्वरेण्टीन बसाइपछि घर फर्किँदा  मलाई त कोरोना छैन भनेर सावधानी नअपनाउँदा भने कोरोना फैलने जोखिम हुने उहाँ बताउनुहुन्छ । अधिकारी भन्नुहुन्छ, ‘त्यसैले अर्को १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ भनिएको हो ।’

क्वरेण्टीनमा पनि सावधानी अपनाउनुपर्छ

अधिकारीका अनुसार क्वरेण्टीनमा पनि निकै सावधानी अपनाउनुपर्छ । माक्स लगाउने, दुरी कायम गर्ने, हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका काम गर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेको क्वरेण्टीनको मापदण्ड पूरा गर्नुपर्ने उहाँ बताउनुहुन्छ । कतिपय ठाउँमा भौतिक दुरीलाई ख्याल नगरिएको पनि पाइएकोले लापरवाही गर्दा आफूसँगै परिवार र समाज नै जोखिममा हुन सक्ने भएकोले सावधानी अपनाउन पनि उहाँको आग्रह छ । 

‘अहिल्यै चरण छुट्याइएको छैन’ 

नेपालमा सङ्क्रमितको दर बढ्दै गए पनि अहिले हामी यही चरणमा छौँ भन्ने अवस्थामा नभएको उहाँ बताउनुहुन्छ । विदेशबाट आएर अरुलाई सरेको १–२ वटा केस बाहेक अहिले प्रायः सङ्क्रमण क्वरेण्टीनमा भएकाहरुमा मात्र देखिएको छ । विदेशबाट आएर सिधै क्वरेण्टीनमा बसेपछि मात्र समुदायमा जाने गरेकाले अहिले समुदायमै फैलिसक्यो भन्ने अवस्था नभएको उहाँले बताउनुभयो । 

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दर ११ हजारभन्दा धेरै नाघिसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा ८० प्रतिशतमा भाइरसको लक्षण नै देखिएको छैन । १५ प्रतिशतलाई सामान्य उपचारको आवश्यकता र ५ प्रतिशतलाई भने सघन उपचारको आवश्यक रहेको पाइएको उहाँले बताउनुभयो । यो बिलकुलै नयाँ रोग भएकोले यसबारे अध्ययन भइरहेको उहाँको भनाइ छ ।

यस्तै नेपालमा अरु देशकोे तुलनामा मृत्युदर निकै नै कम देखिएको छ । यसो भन्दैमा अब यस्तै हुन्छ, यो भन्दा धेरै महामारी फैलँदैन र मृत्युदर बढ्दैन भन्ने अवस्था भने नभएको उहाँ बताउनुहुन्छ । ‘नेपालमा धेरैमा कोरोनाको लक्षण युवा समूहमा देखिएको छ । अझै हामी कोरोना नियन्त्रण गर्न सक्ने अवस्थामै छौँ । यदि नियन्त्रण गर्न सकिएन, समुदायस्तरमा फैलियो भने मृत्युदर बढ्न पनि सक्छ । यसमा पनि अध्ययन भइरहेकाले अहिल्यै यस्तो अवस्था हो भन्न सकिँदैन’, उहाँले भन्नुभयो । 

भोलिका दिनमा के हुन्छ भन्न सक्ने अवस्था छैन

अहिलेसम्म नियन्त्रणकै अवस्थामा रहेको भाइरस समुदायस्तरमा फैलियो भने अवस्था जटिल पनि बन्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउनुहुन्छ । मृत्युदर तुलनात्मक रुपमा कम त देखिएको छ तर अध्ययन र अनुसन्धानविना नै मृत्युदर कम भएको भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । सङ्क्रमण दर बढ्दै छ । त्यसैले भोलिका दिनमा रोग कडा पनि हुन सक्छ  ।

प्रेसर र सुगर रोग भएका बिरामीमा कोरोनाको सङ्क्रमण देखियो भने घातक हुन सक्ने उहाँ बताउनुहुन्छ । विभिन्न अध्ययनले सुरुका दिनदेखि अहिलेसम्म आइपुग्दा सङ्क्रमण दर कम देखाए पनि अमेरिका, बेलायत, फ्रान्स र स्पेनलगायतका देशमा कतिमा खोकी लागेको थियो, कतिलाई टाउको र पेट दुख्नेलगायतका समस्या भएको थियो भन्ने यकिन नभएकाले नेपालमा जटिल अवस्था आउँछ कि आउँदैन अहिल्यै भन्न नसकिने डा. राजभण्डारीले बताउनुभयो ।

अबको विकल्प परीक्षण

नेपालमा लकडाउन खुकुलो भइसकेको छ । मानिसहरु व्यापार व्यवसायमा सक्रिय हुन थालिसकेका छन् । त्यसैले जोखिम पनि बढ्न सक्ने भन्दै विज्ञहरुले अझै सचेत हुनुपर्ने बताएका छन् । हुन त पछिल्लो समय नेपालमा पीसीआर परीक्षणको दायरा बढेको छ । यो नेपालको लागि पनि राम्रै कुरा हो । तर नेपालमा लक्षण देखिएकामा परीक्षणको दायरा बढाइएको छ, लक्षण नदेखिएकामा परीक्षण निकै कम भएका छन् । नेपालमा लक्षण देखिएका र बिरामी परेका मानिसहरु नै कम छन् । अहिले सरकारले विदेशबाट नेपाल आएका मानिसमा परीक्षणको दायरा बढाएको छ ।

परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढ्न थालेका छन् । सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । तर त्यो कुन अवधिसम्म रहन्छ वा कतिलाई उच्च बिन्दु भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था भने छैन । भारतलगायतका देशहरुसँग तुुलना गरेर नेपालबारे भन्न गाह्रो भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता समिर अधिकारी बताउनुहुन्छ । भारतमा फरक–फरक किसिमको अवस्था देखिएको छ । सबै राज्यको अवस्था एकै खालको छैन । त्यसकारण पनि नेपालको अवस्था अन्य कुनै देशसँग तुलना गरेर विश्लेषण गर्न सहज छैन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया