कोरोना महामारीको अझै खराब अवस्था आउन सक्छ : विश्व स्वास्थ्य संगठन

 असार १६, २०७७ मंगलबार ९:२७:४६ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा  भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने बताउनुभएको हो । उहाँले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको बताउनुभएको छ ।

महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँको भनाई छ ।  केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न उहाँले आग्रहसमेत गर्नुभएको छ ।

ती देशले महामारी लगभग नियन्त्रणमा लिएका छन् । ६ महिनाको अवधिमा  विश्वभर सङ्क्रमितको संख्या एक करोड दुई लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने  ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजारभन्दा धेरै छ । कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया