कहिले खुल्छ चिडियाखाना ? जनावरलाई मान्छेको ‘न्यास्रो’, व्यवस्थापनमा समस्या

 असार १७, २०७७ बुधबार १२:४४:२६ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – दिनहुँ मान्छेको घुईंचो हुने सदर चिडियाखाना साढे तीन महिनादेखि सुनसान छ । लकडाउन सुरु हुनुभन्दा ५ दिनअघि चैत ६ गतेदेखि चिडियाखाना बन्द भएको हो ।

बन्द चिडियाखाना कहिले खुल्छ अझै ठेगान छैन । चिडियाखाना लामो समय बन्द हुँदा व्यवस्थापनमा त समस्या हुने भएको छ नै । चिडियाखानाका केही जनावर पनि नियास्रो मान्न थालेका छन् ।

‘खासगरी वनमान्छे, चराचुरुंगी र बाँदर प्रजातिका जनावर पहिलेजस्तो रमाएको देखिंदैन’ चिडियाखानाका प्रमुख डा. चीरञ्जीवि प्रसाद पोख्रेलले उज्यालो अनलाइनसँग भन्नुभयो । सधैं मान्छेसँग घुलमिल हुँदै आएका यी जनावर धेरै दिनदेखि मान्छे नदेख्दा अनौठो मान्ने गरेको उहाँले बताउनुभयो । ‘चिडियाखानाका धेरै जनावरलाई मान्छेको नियास्रो लागेको छ’ उहाँले भन्नुभयो ।

लकडाउन हुनुभन्दा पहिले हरेक  दिन  २/३  हजारको हाराहारीमा र शनिबारको दिन ६ हजारको हाराहारीमा दर्शकहरु चिडियाखाना अवलोकन गर्न पुग्थे । यसबाट चिडियाखानाले दिनहुँ सरदर तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । जनावरको खाना, औषधि उपचार, रेखदेखदेखि कर्मचारी व्यवस्थापनसम्मको लागि यही आम्दानीले धान्दै आएको थियो । तर कोरोनाको त्रासको कारण बन्द गर्नुपरेको चिडियाखानामा आम्दानी नभएपछि अहिले व्यवस्थापनमा समस्या भएको पोख्रेलले बताउनुभयो ।

कोरोना भाइरसको महामारी अझै कति समय लम्बिन्छ भन्न सक्ने अवस्था नभएकाले चिडियाखाना पनि कहिलेदेखि खुल्छ भन्ने अनिश्चित जस्तै भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखाना सञ्चालन गर्न अहिले  धौधौ भएको छ । चिडियाखानामा १ सय ११ प्रजातिका १ हजार ९२ वटा जनावर छन् ।

सरकारको तयारी

सरकारले लकडाउन खुकुलो बनाए पनि चिडियाखाना खुलाउने निर्णय गरिसकेको छैन । वन तथा बातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना तत्काल चिडियाखाना खुल्ने सम्भावना नभएको बताउनुहुन्छ । मन्त्रालयले भौतिक दूरी कायम गरेर फेरि खुला गर्ने तयारी गरे पनि महामारीको बेला जीवजन्तुको नजिक जान हुँदैन कि भनेर निर्णय नगरेको बताउनुभयो । 

अहिले चिडियाखानामा जुन तरिकारले जनावरको स्याहारसुसार भइरहेको छ त्यही अनुसार गर्ने र २, ४ महिनापछि पनि  यस्तै अवस्था रह्यो भने के गर्ने भन्ने सम्बन्धमा सम्बन्धित निकायहरुबीच छलफल भइरहेको उहाँले बताउनुभयो । खर्च व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग पनि छलफल गर्ने तयारी भएको उहाँको भनाई छ । तर ठोस रुपमा अहिले नै यही गर्ने भन्ने अवस्थामा भने नपुगेको उहाँले बताउनुभयो । 

२०५२  साल पुस १४ गतेदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापनको जिम्मा लिएको चिडियाखानामा पछिल्लो समय नयाँ प्रजातिका जीवजन्तु थपिएका छन् । ठूला जनावरहरु अर्ना, बाघ, भालु र गैंडाका साथै

रेडपान्डा, अष्ट्रिज जस्ता नयाँ प्रजाति  पनि छन् । तर यी सबै जनावरलाई आवश्यक पर्ने पर्याप्त ठाउँ चिडियाखानामा छैन । 

जनावरलाई खेल्न, लुक्न तथा घुमफिरका लागि पर्याप्त खुला ठाउँ छैन । सदर चिडियाखाना साँघुरो भएको भन्दै सम्भावित ठाउँमा सार्ने भन्ने पनि बेलाबेला छलफल हुने गरेको छ । चिडियाखानाले संरक्षित जनावरको व्यवस्थापनसँगै उद्धार र औषधि उपचारको काम पनि गर्दै आएको छ ।

फोटो सौजन्य : चिडियाखाना

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया