कोरोना सङ्क्रमितकाे शवलाई अपमान गरेको स्वीकार्दै कर्नाटक राज्यका अधिकारीले माफी मागे

 असार १७, २०७७ बुधबार १८:५८:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको कर्नाटक राज्यका अधिकारीले कोरोना भाइरसकाे सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा कमजोरी भएको भन्दै माफी मागेका छन् ।

पीपीई लगाएका मानिसले कालो झोलामा बोकेको शव खाडलमा फ्याँकिदिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बेल्बारी जिल्लाका अधिकारीहरुले मृतकका परिवारसँग माफी मागेकाे बीबीसीले जनाएको छ ।

वरिष्ठ जिल्ला अधिकारी एसएस नकुलालले विज्ञप्ति निकालेर खाल्डोमा आठ जनाको शव फ्याँकिएको र यसमा आफूहरुबाट कमजोरी भएको भन्दै माफी मागेकाे खबरमा उल्लेख छ । साथै शव फ्याँक्ने काममा खटिएका मानिसहरुलाई जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतमा अन्धविश्वासकाे कारण कोरोना सङ्क्रमण भएका मानिस तथा कोरोनाकाे कारण मृत्यु भएकाहरुलाई अपमानजनक व्यवहार भइरहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म पाँच लाख ८७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १७ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म तीन लाख ४८ हजारभन्दा धेरै निको भएका छन् ।

विश्वमा एक करोड ६ लाखभन्दा धेरैमा सङ्क्रमण हुँदा पाँच लाख १४ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । ५८ लाख २४ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया