अगस्टदेखि कुवेतले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने, कुवेत प्रवेश गर्नेको साथमा पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने

 असार १८, २०७७ बिहिबार ९:४०:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतले अगस्ट १ तारिखदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ ।

कुवतेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै तीन चरणमा उडान खुल्ला गरिनेछ । पहिलो चरणमा ३० प्रतिशतभन्दा बढी उडान नगरिने जनाइएको छ ।

त्यहाँको आधिकारिक स्रोतलाई उदृत गर्दै अरब टाइम्सले लेखेको छ, ‘व्यवसायिक उडान नागरिक तथा प्रवासी सबैको लागि खुल्ला गरिनेछन् ।’

पहिलो चरणको परिचालन क्षमता अनुसार आवागमनसहित दैनिक १२० देखि १३० उडानबाट ८ हजारदेखि १० हजारसम्म यात्रुले यात्रा गर्न सक्ने कुवेतले जनाएको छ । विमानस्थलमा भिड नहोस् भन्नको लागि एक उडानदेखि अर्को उडानको समयावधि एक घण्टा तोकिएको छ ।

दोस्रो चरणको उडान फ्रेब्रुअरी १ देखि सुरु भएर ६ महिनासम्म चल्नेछ । यस्तै २०२१ को अगस्ट १ देखि तेस्रो चरण सुरु हुनेछ । यस चरणमा दैनिक ३ सय  उडानका साथ ३० हजार यात्रुले उडान गर्ने कुवेत सरकारले लक्ष्य लिएको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय एअरपोर्टको लागि निर्धारित अन्तर्राष्ट्रिय निर्देशिका अनुरुप नै उडान हुने जनाइएको छ । 

निकट भविष्यमा आफ्नो व्यवसायिक उडान सञ्चालन गर्न लागेका विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतबीच द्विपक्षीय सम्झौता हुनेछ । कुवेत जानेहरुले अनिवार्य रुपमा पीसीआर परीक्षण गरेको हुनुपर्नेछ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया