अन्ततः ट्रम्प गले, मास्क लगाउन भए तयार

 असार १८, २०७७ बिहिबार २०:१३:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पनि मास्क प्रयोगका पक्षमा रहेको बताएका छन् । मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका ट्रम्पले अति भिड भएको ठाउँमा आफूले पनि मास्क लगाउने भन्दै आफू मास्कको पक्षमा रहेको बताएकाे बीबीसीले जनाएको छ ।

आफूले यसअघि पनि एक पटक मास्क लगाएको र त्यो मानिसहरुले देखेको ट्रम्पले बताएकाे खबरमा उल्लेख छ । अमेरिकामा काेराेना सङ्क्रमणले तीव्र रुप लिइसक्दा समेत विज्ञहरुको सुझावसमेत नमानिरहेका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई कोरोना नियन्त्रणकाे लागि महत्त्वका साथ हेरिएको छ ।

उनले बिहीबार आफूले मास्क लगाउँदा लाेन रेन्जर जस्ताे देखिने बताएका छन् । लाेन रेन्जर हलिवुड अभिनेता हुन्, जाे आफ्नाे आँखामा कालाे रङ्गकाे मास्क लगाउने गर्थे । 

फक्स न्युजलाई दिएकाे एक अन्तर्वार्ताकाे क्रममा ट्रम्पले आफू मास्क लगाउनेकाे लागि तयार भएकाे बताए । मास्क लगाउनु राम्राे भएकाे उनले बताए । रिपब्लिकन सांसदले यसअघि राष्ट्रपतिले सार्वजनिक ठाउँमा मास्क लगाउँदा राम्राे सन्देश जाने सुझाव दिएकाे भाेलिपल्ट ट्रम्पले यस्ताे बताएका हुन् । 

यसअघि ट्रम्पले कमाण्डर इन चिफले कैयाैँ राष्ट्र प्रमुखसँग भेट गर्नुपर्ने र मास्क लगाउनु अशाेभनीय हुने बताएका थिए । 

विश्वका सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेको अमेरिकामा २७ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा एक लाख ३० हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । विश्वमा अहिलेसम्म एक करोड आठ लाख ४७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच लाख १९ हजार आठ सयभन्दा धेरेको ज्यान गइसकेको छ । ६० लाख ६५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया