समस्यामा परेका परदेशीका छोराछोरीलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामग्री वितरण

 असार २१, २०७७ आइतबार १६:५३:५९
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारीको कारण समस्यामा परेका अभिभावकका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरभित्रका ७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । परदेशमा मृत्यु भएका २ जना, सम्पर्कबिहीन भएका ४ जना र भनेको जस्तो कमाइ नभएर फर्किएका १ जना गरी ७ जनाका बालबालिकालाई प्रतिव्यक्ति ६ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्री नभएकै कारण बालबालिकाहरुलाई विद्यालय पठाउन समस्या भएकाहरुको पहिचाहन गरी शैक्षिक सामाग्री वितरण गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद बश्यालले कामको सिलसिलामा परदेश गएर समस्यामा रहेका बालबालिकाका अभिभाकहरुलाई शैक्षिक रामग्री वितरण गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि वैदेशिक रोजगारीको कारण समस्यामा रहेका परिवारलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ३९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना सामी सञ्चालन भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया