कांग्रेस र राजपाको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशकाे बजेट पारित

 असार २४, २०७७ बुधबार १७:०:२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित भएको छ ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको बजेट प्रतिपक्षीको नाराबाजीका बीच पनि बहुमतले पारित भएको हो । बजेट पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले भने सरकारविरुद्ध रोस्ट्रममा नाराबाजी गरिरहेका थिए।

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको थियो ।

प्रतिपक्षी दलले प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेस भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए ।

सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेटमाथिको छलफल अगाडि बढाउनु भएकाे थियाे । बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालकाे लागि स्थगित भएको छ ।

सभामुख अर्जुनबहादुर थापाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएकाे जनाकारी दिनु भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया