विदेशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमणदर घट्यो, सङ्क्रमितमध्ये ९२ प्रतिशत निको

 असार २८, २०७७ आइतबार ११:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणदर उल्लेख्य रुपमा घटेको छ ।

अघिल्लो साताको तुलनामा यो साता नयाँ कोरोना सङ्क्रमित घटेको र निको हुने नेपालीको सङ्ख्या बढेको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु निको भएका छन् ।

हिजो शनिबार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २७ हजार ३ सय ६२ जना नेपाली सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना सङ्क्रमण दर सामान्य रुपमा बढेको छ ।

यसअघि गएको सातासम्म १४ देशमा १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । यो साता कोही पनि नेपालीको कोरोनाको कारण ज्यान गएको छैन ।

मध्यपूर्वका देशबाहेक अन्य देशमा कोरोना सङ्क्रमणको जोखिम रहेकोप्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया