काठमाण्डौका सीमित रुटमा मात्रै गाडी सञ्चालन : मयूरको सबै बस चल्ने, बिजुली बसमा पुरानै भाडादर

 असार ३१, २०७७ बुधबार ८:३२:१५ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – साढे तीन महिनापछि काठमाण्डौका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् ।

सरकारले तोकेको मापदण्डअनुसार केही व्यवसायीले गाडी चलाउन थालेका छन् । तर सबै रुटमा सार्वजनिक गाडी चलेका छैनन् । मयूर यातायात, संयुक्त यातायात, सुन्दर यातायातलगायतका केही कम्पनीले सीमित रुटमा गाडी चलाउन थालेका हुन् । 

मयूर यातायातका सबै बस चल्ने

सोमबारदेखि बस चलाउन थालेको मयूर यातायातले बुधबारदेखि सबै बस सञ्चालन गर्ने भएको छ । ४४ वटा बस रहेको मयूर यातायात कम्पनीले आफ्ना सबै बस चलाउन चालक र सहचालकलाई तयारी अवस्थामा राखेको छ ।

कोरोेना भाइरसको जोखिम झन् बढ्दै गएकाले चालक र सहचालकको सुरक्षाका लागि पीपीई सेट उपलब्ध गराईने कम्पनीका सञ्चालक राज श्रेष्ठले जानकारी दिनुभयो । बुधबारदेखि आफ्ना ४४ वटै बस चलाउन बाहिरी जिल्लामा रोकिएका बसलाई पनि काठमाण्डौ ल्याइएको उहाँले बताउनुभयो । 

अहिले मयूरको बस चक्रपथ हुँदै सूर्यविनायकसम्म गुडिरहेको छ । मयूरले धुलिखेलसम्म दुई वटा बस सञ्चालनमा ल्याएको छ । काठमाण्डौ उपत्यकाबाहेक अरु जिल्लामा आवतजावत गर्न नपाइने भएकोले काभ्रेका प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रशासन कार्यलयको कर्मचारीसहित यात्रु बोक्ने गरी बस सञ्चालनमा ल्याइएको मयूर यातायातले जनाएको छ । कम्पनीले बुधबारदेखि कोटेश्वर, नयाँ बानेश्वर र रत्नपार्क हुँदै कलङ्कीसम्म पनि गाडी सञ्चालन गर्ने तयारी गरेको छ ।

सुन्दर यातायातका ४ वटा बस सञ्चालन

सुन्दर यातायातले चार वटा विद्युतीय बस मङ्गलबारदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीसँग रहेका सात वटा बसमध्ये चार वटा बस चक्रपथ र भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यसअघि लकडाउन हुनुभन्दा पहिले पनि सुन्दर यातायातले सबै गाडी सञ्चालनमा ल्याएको थिएन । 

चार्ज गरेर सञ्चालन गर्नुपर्ने र केही बस ‘स्ट्याण्ड बाई’ राख्नुपर्ने भएकोले सबै  सञ्चालनमा नल्याइएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी मापदण्डहरु जस्तैः स्यानिटाइजर प्रयोग गर्ने, दुई जनाको सिट क्षमतामा एक जना मात्रै यात्रु राख्नेलगायतका नियम लागू गरिएको कम्पनीले जनाएको छ । यस्तै कम्पनीका अनुसार भाडा पनि बढाइएको छैन । पहिलेको सहज अवस्थामा जस्तै गरी भाडा लिने गरिएको कम्पनीले जनाएको छ ।

साझाको बस बिहीबारदेखि चल्ने

साझा यातायातले काठमाण्डौ उपत्यकामा साउन १ गतेदेखि बस चलाउने तयारी गरेको छ । अहिले बस मर्मतको काम भइरहेको साझाले जनाएको छ ।

यातायात व्यवसायी महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताइरहँदा साझाले सरकारले तोकेको मापदण्डअनुसार बस सञ्चालन गर्ने भएको हो ।

गाडी चलाउनेबारे ‘टेबल टक’ गर्दैछौँ : महासङ्घ

सरकारले गाडी सञ्चालनको अनुमति दिनुभन्दा केही दिनअघि मात्रै यातायात व्यवसायीहरुले गाडी सञ्चालन गर्न आवश्यक वातावरण मिलाइ दिनुपर्यो भन्दै मागपत्र प्रस्तुत गरेका थिए । गाडीमा खिया लाग्यो, पार्टपुर्जा बिग्रन थाल्यो लगायत गुनासो लिएर यातायात व्यवसायीहरु सरकारसम्म पुगेका थिए । तर आवश्यक स्वास्थ्यका मापदण्ड अवलम्बन गरेर गाडी चलाउन सरकारले स्वीकृत दिएसँगै केही व्यवसायीहरुले भने केही मागसहित अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने बताएका छन् । 

गाडी चालक र सहचालकको स्वास्थ्य बीमा गर्नुपर्ने, सहुलियत कर्जाको व्यवस्था गर्नुपर्नेलगायत मागसहित यातायात व्यवसायीको सङ्गठनले सरकारसँग निरन्तर वार्ता गरिरहेको छ । पछि आइपर्ने चुनौतीबाट कसरी सामना गर्ने भन्नेबारे निर्क्योल गर्नको लागि आफूहरु सरकारसँग निरन्तर छलफलमा जुटिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘सरकारले गाडी सञ्चालन गर भनेर मात्रै हुँदैन, पछि आइपर्ने समस्यालाई पनि हेर्नुपर्छ । सरकारले केही कुराको ग्यारेण्टी नगरे अहिलेकै अवस्थामा गाडी चलाउन अप्ठ्यारो छ ।’ 

सरकारले ५० प्रतिशतसम्म गाडीभाडा बढाउन पाउने अधिकार व्यवसायीलाई दिएको भए पनि भाडाको भन्दा पनि स्वास्थ्यको विषय जोडिएकोले आफूहरु छलफलमै रहेको महासचिव सिटौलाले बताउनुभयो ।

तस्बिर : विकास तामाङ

अन्तिम अपडेट: चैत १२, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया