कोरोना महामारीकै बीचमा विदेश जान २३ सय ७ जनाले लिए पुनः श्रम स्वीकृति

 असार ३१, २०७७ बुधबार १०:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार कार्यालयका अनुसार पछिल्लो १२ दिनमा २३ सय ७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका हुन् । नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएसँगै गएको वर्ष फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति खुलेसँगै असार १८ गतेदेखि २३० महिला र २ हजार ७७ जना पुरुष गरी २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

कुन देश जान खोज्ने कति ? कोरोना महामारी सुरु भएपछि खाडीका देश र मलेसियामा रहेका नेपाली स्वदेश फर्कन आतुर छन् । सरकारले कहिले उद्धार गर्छ भनेर पर्खिरहेका छन् । तर आफ्नै देशमा, आफ्नै घरमा भएकाहरु भने यिनै देशमा जान तयार भएका छन् ।

कोरोना महामारीको चपेटामा परेर यूएईबाट ४५ हजार जनाले स्वदेश फर्कने चाहना राख्दै दूतावासमा आफ्नो नाम दर्ता गराएका छन् । तर अहिले पुनः श्रम स्वीकृति लिनेमा पनि सबैभन्दा धेरै यूएई जान खोज्ने नै रहेका छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार यूएई जानका लागि १२ दिनको अवधिमा मात्रै ९५४ पुरुष र १४७ महिला गरी ११ सय १ जनाले पुनः श्रम स्वीकृति लिइसकेका छन् । यूएईपछि कतार जाने खोज्नेको सङ्ख्या पनि धेरै नै छ ।

कतार जानका लागि २९५ जनाले, मलेसियाका लागि २४२ जनाले, कुवेतका लागि ७५ जनाले, ओमानका लागि ३५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । बहराइनका लागि ३५ जना, अफगानिस्तानका लागि ५, ब्रुनाईका लागि २०, क्यानाडाका लागि १, चेक रिपब्लिकका लागि ५, फिनल्याण्डका लागि १, जर्मनीका लागि १, इजरायलका लागि १०, जापानका लागि ३०२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

यस्तै जोर्डनका लागि ५ जनाले, माल्दिभ्सका लागि १४ जनाले, माल्टाका लागि १६ जनाले, न्युजिल्याण्डका लागि ४ जनाले, पोल्याण्डका लागि २७ जनाले, कोरियाका लागि १६ जनाले, रोमानियाका लागि १०, सेसल्सका लागि ७ र अमेरिकाका लागि ६ जना गरी विभिन्न ३१ देशमा जानका लागि २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

भिसाको र करारको म्याद भएकालाई सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Laxman Mudbari

    July 15, 2020, 12:35 p.m.

    मेरो दाइको पनि श्रम गर्न पर्ने हो , तर हेटौंडावाट काठमाडौँ आउनको लागि न कुनै गाडी छ , बल्ल पाएपनि ३४०० भन्छ सुमोले / बाइकमा आउन भनुंभने दाइलाई वाइक चलाउन आउंदैन, मलाई आउँछ तर वाइकमा २ जना चढ्न दिंदैन , अब कसरी आउने भनिदिनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया