उद्धार उडान पुनः सुरु भएकै दिन आज पाँच उडानमार्फत ५९२ जना स्वदेश आइपुगे

 असार ३१, २०७७ बुधबार १९:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिन रोकिएको नेपालीको उद्धार उडान सुरु भएसँगै आज विभिन्न पाँच उडानमार्फत ५ सय ९२ नेपाली आएका छन् भने दुई उडानमार्फत ४६ जना विदेश गएका छन् ।

आज यूएईबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । एअर अरेबियामार्फत यूएईको सारजहाबाट १६६ जना र फ्लाई दुबईमार्फत ११८ जना स्वदेश आएका छन् । फ्लाई दुबईले एक नेपालीको शव पनि ल्याएको छ । कतारको दोहाबाट कतार एअरवेजमार्फत १४२ जना नेपाली स्वदेश आइपुगेका छन् । मलेसियाको क्लालाम्पुरबाट १७ जना र सिल्क एअरमार्फत सिङ्गापुरबाट दुई बच्चासहित १४९ नेपाली स्वदेश आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आज मलेसियाबाट आएको मलेसियन एअरलाइन्समार्फत ४० जना र एअर अरेबियामार्फत ६ जना नेपाली विदेश गएका छन् । आज यूएईमा मात्रै चार वटा जहाज नेपाली लिन जाँदैछन् ।

हिमालय एअरलाइन्सका दुई र नेपाल एअरलाइन्सका दुई आज राति यूएई जाने विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको एक जहाज कतारको दोहा जाँदैछ । आज नेपाली लिन जान, नेपाली लिएर आएका र ती जहाज फर्कन गरी १७ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ १० उडान भएका छन् ।

भोलि बिहीबार नेपाली ल्याउन र लिन जानका लागि ९ उडान हुनेछ । खाडीका देश साउदी यूएई र कतारबाट नेपालीहरु आउँदैछन् भने यी साउदी र यूएईमा समस्यामा परेका नेपाली लिन जहाजहरु जानेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया