प्रदेश १ मा ८८ प्रतिशतले जिते कोरोना

 साउन ५, २०७७ सोमबार १०:९:९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ मा सोमबारसम्म ८८ प्रतिशत कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

गएको वैशाख ५ गतेदेखि आजसम्ममा कोरोना सङ्क्रमित भएकामध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएकोमा ७ सय २ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएकामध्ये ८८ जना अहिले पनि उपचाररत छन् ।

७ वटा केन्द्रमध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ सय ६६ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेशन अस्पतालबाट २ सय ६० जना, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, विराटनगरबाट १ सय ५८ जना डिस्चार्ज भएका छन् । 

कोभिड-१९ आइसोलेशन केन्द्र, चौदण्डीगढीबाट १५ जना, उद्योग वाणिज्य सङ्घ, फुङलिङ अस्थायी केन्द्र (ताप्लेजुङ) बाट २ जना र जिल्ला अस्पताल खोटाङ, अस्थायी केन्द्रबाट १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा अहिलेसम्म १ जना वृद्धको ज्यान गएको छ । ज्यान गुमाएका व्यक्ति प्रदेश २ सप्तरीका हुन । उनको धरानमा उपचारको क्रममा ज्यान गएको थियो । प्रदेश १ मा सोमबारसम्म ३५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार  अहिलेसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । 

परीक्षण गरिएकामध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा स्वाब संकलन गरिएको दिन नै रिपोर्ट आउने गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।  प्रदेश १ मा कोरोना सङ्क्रमित भएकाहरुको उपचारका लागि ७ वटा आइसोलेशन केन्द्र राखिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया