चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – काभ्रेका सुरेन्द्र तामाङ साउनको झरीमा पनि आफ्नाे काममा व्यस्त हुनुहुन्छ । कोरोनाको कारण देश लकडाउन हुँदा पनि सुरेन्द्र तामाङको टिमको रङ्गरोगन गर्ने पेसा भने सधैँ सामान्य चलिरह्यो ।
लकडाउनको सुरुसुरुमा काम अलिक कम आए पनि वैशाखको दोस्रो हप्ताबाट भने सामान्य जस्तै रह्यो । पाटन क्याम्पसबाट स्नातक पास गरेका सुरेन्द्र तामाङसँगै मकवानपुरका अरुण लामा र सरोज तामाङ पनि उपत्यकाबाहिरका पोखरा, मकवानपुर र चितवनलगायत उपत्यकाका विभिन्न ठाउँहरुमा घर तथा हाउजिङहरुमा रङ्गरोगनको काम गर्दै आइरहनुभएको छ ।
काठमाण्डौ छिरेपछि सुरुसुरुमा असनमा कपडाको व्यापार गरेका सुरेन्द्र कपडा व्यापारमा फाइदा नभएपछि रङ्गरोगनमा लाग्नुभएको हो । रङ्गरोगनमा लाग्दा मानिसहरुले सुरुसुरुमा स्नातक पढेर पनि यो के गरेको भनेर गिज्याउने गरेको सुरेन्द्रको तीतो अनुभव छ ।
दैनिक १५ सय रुपैयाँको दरले कमाउने सुरेन्द्रले मासिक ३० देखि ४५ हजार रुपैयाँसम्म कमाउने गर्नुभएको छ । आफ्नो सीपको सदुपयोग पनि हुने र बेला बेला घरपरिवारसँग भेटघाट हुने हुँदा सुरेन्द्र आफ्नो पेसामा सन्तुष्ट हुनुहुन्छ ।
रङ्गरोगन गरेर कमाएकोे पैसाले चार जनाको परिवारको राम्ररी लालन पालन गर्न पुगेकोमा उहाँलाई पेसाप्रति कुनै गुनासो छैन । उहाँ भन्नुहुन्छ, ‘कमाएको पैसाले एक छोरा, एक छोरी र श्रीमतीको सामान्य आवश्यकता पूरा गर्न पुगेको छ ।’ बचेको अलिकति पैसा उहाँले भविष्यको लागि भनेर जम्मासमेत गर्नुभएको छ ।
सुरुसुरुमा साथीभाइ सबै विदेश जाँदा विदेश जान मन लागे पनि अहिले भने उहाँमा विदेश जाने सोच नै हरायो । रङ्ग लगाउँदा भित्ताहरुमा डोरी बाँधेर झुन्डिनु पर्दा सुरुसुरुमा श्रीमतीले काम छोड्न किचकिच गरे पनि अहिले भने डराउन छोडेको उहाँ बताउनुहुन्छ ।
पेसा जोखिम भए पनि सुरक्षाका औजारहरु प्रयोग गर्दा त्यति धेरै जोखिम महसुस नगरेको उहाँ बताउनुहुन्छ । सुरेन्द्र तामाङकै टिममा बसेर काम गर्दै आइरहनुभएका मकवानपुरका अरुण लामा पनि आठ/दश वर्षदेखि यही पेसामा हुनुहुन्छ ।
औपचारिक पढाइ कक्षा ६ सम्म मात्रै भएका उहाँलाई काठमाण्डौ छिरेपछि काम खोज्न निकै गाह्रो पर्याे । सुरुमा धोबीघाटमा गाडी बनाउने ग्यारेजमा काम गर्नुभएका लामाका ती बेलाका दिनहरु निकै नै कष्टकर थिए ।
सुरुमा उहाँको तलब मासिक ३५ सय रुपैयाँ थियो । साहुकोमा काम सुरु गर्नुभएका उहाँ काठमाण्डौमा खान र बस्न पनि धौधौ भएका ती दिनहरु निकै नै कष्टकर भएकाे बतउनुहुन्छ । दुई वर्षजति पुराना गाडी बनाउने काम गरेपछि उहाँलाई अब विकल्प खोज्नुपर्ने महसुस भयो । चिनजानका साथीहरुले रङ्गराेगन पेसा राम्रो भएको बताएपछि उहाँ त्यसमै आबद्ध हुनु भयाे ।
सुरुमा रङ्गको गन्धले टाउको दुख्ने र काम नसिक्दा गाह्रो भए पनि बिस्तारै पेसामा भिज्दै जानुभयो । अहिले भने उहाँ यो पेसा अपनाएकोमा निकै नै खुसी हुनुहुन्छ । अर्काका घर र हाउजिङहरु रङ्ग्याएर
आफ्नो जीवन अलिकति भए पनि रङ्गीन बनाउन सफल उहाँ कमाएको पैसाले परिवारका सामान्य आवश्यक्ता सजिलै पूरा गर्न सफल हुनुभएको छ ।
उमेरले २८ पुगेका मकवानपुरकै सरोज तामाङ पनि रङ्गरोगनकै पेसामा हुनुहुन्छ । सुरेन्द्र र अरुणकै टिममा बसेर काम गर्दै आउनुभएका सरोज भने यो पेसामा लागेको धेरै भएको छैन । चार/पाँच वर्षदेखि रङ्गरोगन गर्दै आउनुभएका सरोज सानैदेखि पढाइमा कमजोर भएकाले पाँच कक्षा पनि पूरा गर्न सक्नु भएन ।
पढ्ने उमेरमा काठमाण्डौका विभिन्न रुटमा सहचालकको रुपमा काम गर्नुभएका उहाँले चालकको लाइसेन्ससमेत बनाइसक्नुभएको छ । सानै उमेरमा बिहे गरेका र पारिवारिक जीवनमा बाँधिन पुगेका उहाँलाई आफ्नो पढाइ पनि नभएको र कुनै सीप पनि नभएकोले जीवन निकै दुःखदायी हुन्छ कि भन्ने लाग्दथ्यो ।
चालक पेसा किन छोड्नुभयो भन्ने प्रश्नमा साहुको गाडी चलाउँदा कमाइ खासै नहुने र जोखिम पनि रङ्गरोगनमा कम हुने हुँदा यो पेसा अपनाएको उहाँको जवाफ छ । सुरेन्द्र, अरुण र सरोजले समूहमा मिलेर काम गर्ने गर्नुभएको छ । काठमाण्डौलगायत नजिकका अन्य सहरहरुमा समेत जाने गरेका उहाँहरु काम ठूलो भए अरु कामदारहरुलाई समेत साथमा लिने गर्नुभएको छ ।
घरहरुमा रङ्गरोगन गर्दा कमाइ सामान्य हुने गरे पनि ठूला हाउजिङहरुको काम पाए १५ देखि २० लाखसम्मको काम पाइने उहाँहरुको भनाइ छ । अरुले लिएको ठेक्कामा काम गर्दा कहिलेकाँही ठेकेदारले पैसा खाएर भाग्ने गरेको तीतो अनुभवसमेत उहाँहरुसँग छ ।
कुचो, ब्रस र रङ्गहरुले अरुका घरहरु रङ्गीन बनाउँदै आफ्नो जीवन पनि थोरै रङ्गीन बनाउने सपना बोकेका युवाहरु हुन सुरेन्द्र, अरुण र सरोज । उनीहरुको कुचो र ब्रससँग बितेको जीवनको कथा सामान्य कथा मात्र होइन । देशमा काम छैन के गर्न भन्दै गुनासो मात्रै बोकेर डोजरले बाटो खनेको हेरेर दिन बिताउने सयौँ युवाहरुलाई यसो पनि गर्न सकिन्छ भन्ने प्रेरणाको कथासमेत हो यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।