लकडाउनमा थालिएका वैकल्पिक काम : तनाव घट्यो, आम्दानीको बाटो खुल्यो

 साउन ११, २०७७ आइतबार १४:५३:४४ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै – सरकारले गएको चैत्र ११ गतेदेखि लकडाउन गर्‍याे । लकडाउनको पालना गर्दै नागरिक घरभित्रै बसे । कामकाज बन्द भयो, व्यापार व्यवसाय पनि ठप्प भए । अघिल्लो दिन लगाएको शटर महिनौँसम्म पनि खुलेनन् । धेरैको रोजीरोटी गुम्यो । 

आयआर्जनका बाटा बन्द भए । तनाव र निराशा बढ्दै गयो । तर लकडाउनलाई अवसरका रुपमा लिएर केहीले भने नयाँ उपाय खोजे । अनि भेट्टाए पनि । यसै मध्येकी एक ललितपुर धोबीघाटकी संगीता अमात्य हुनुहुन्छ । 

लकडाउनअघि अमात्यले कुपण्डोलमा बुटिक चलाउनुहुन्थ्यो । तर चैत १० गते बन्द गरेको बुटिकको ढोका दुई महिनासम्म खुलेन । घरमा बस्दा बस्दा मानसिक तनाव हुन थाल्यो । उहाँले घरमै बसेर गर्न सकिने कामको उपाय खोज्नुभयो ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै उहाँले आफ्नो रहर र चाहनालाई काममा परिणत गर्नुभयो । अमात्यलाई सानैदेखि अचार बनाउन खुबै मन जाग्थ्यो । लकडाउनका बेला फुर्सद भयो । फुर्सदको बेला रहरलाई किन पूरा नगर्ने भन्ने लाग्यो ।

 त्यसमाथि अरुले अचार बनाएर आम्दानीसमेत गर्दै आएको सुन्नुभएकी उहाँले अचार बनाउने काम सुरु गर्नुभयो । ‘अचार बनाउने सानैदेखिको   रहर छँदै थियो’, उहाँले भन्नुभयो, ‘अरुले अचार बनाएरै आम्दानी गरेका सफलताका कथाले इँटा थप्यो अनि रहरलाई अवसरमा परिणत गर्ने सही समय   यही हाे जस्तो पनि लाग्यो ।’

 लकडाउन अघिसम्म अमात्य अरुका रहर पूरा गर्नुहुन्थ्यो । ग्राहकका रहरअनुसारका लुगा डिजाइन गर्नुहुन्थ्यो । सबैले आफ्ना डिजाइन र रोजाइ   सुनाउँथे । त्यसमा उहाँ आफ्नो मेहनत भर्नुहुन्थ्यो र कुर्ता, सारी, लेहङ्गा बनाउनुहुन्थ्यो । तर लकडाउनले अरुका रहर घरभित्रै थुन्यो ।

 अनि अमात्यले आफ्नो रहर पूरा गर्न जेठदेखि अचार बनाउने काम थाल्नुभयो । उहाँलाई अचार बनाउने काममा श्रीमान् र छोरीको पनि सहयोग   मिलेको छ । जेठ र असार दुई महिनामा आँपका तीन प्रकार र अकबरे खुर्सानी, कागती, तामा, मुला, काँक्रालगायतका विभिन्न प्रकारका अचार   बनाउनुभयो ।

पहिलो पटक त्यो पनि लकडाउनका बेला बनाएको अचार कहाँ बेच्ने अर्को समस्या आइलाग्यो तर समस्या धेरै दिन रहेन । उहाँले फेसबुकको सहयोग लिनुभयो । पहिले लुगाका डिजाइन शेयर गर्ने फेसबुक पेज खोल्नुभयो ।

नाम ‘कलश अचार’ राख्नुभयो अनि पेजमा अचार बनाउँदै गरेको, आचारका बट्टासहितको फोटो राख्दै लेख्नुभयो, ‘तपाईंलाई अचार चाहिएको छ ? फोन गर्नुहोस्, हामी तपाईँको घरमै ल्याइ दिनेछौँ ।’

सधैं नयाँ नयाँ डिजाइनका लुगाका फोटोहरु शेयर गर्ने अमात्यले लकडाउनमा अचारको फोटो राख्दै शेयर गरेपछि चिनेजानेका, आफन्तहरुले फोन गर्न थाले । उहाँले लकडाउनमा आफूले अचार बनाउन सुरु गरेको बताउनुभयो ।

अमात्यले अचार बनाउन सुरु गरेको थाहा पाएपछि सुरुमा चिनजानमै रहेकाहरुले अचार मगाउन थाले । बिस्तारै अरु पसल र विभिन्न ठाउँबाट फोन गरेर अचारबारे सोध्न थाले । अहिले त दिनहुँ फोन गरेर अचारबारे सोध्ने र मगाउने गर्ने गरेको अमात्य बताउनुहुन्छ । 

‘बुटिकबाट त कहिले एक महिनामा दुई लाखसमेत आम्दानी हुन्थ्यो, हुँदै भएन भने पनि ४०/५० हजार रुपैयाँ त महिनामा फाइदा नै हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अचार बनाउन भर्खर सुरु गरेकी छु, लगानी गरेर अब यसलाई निरन्तरता दिन्छु ।’ प्रतिबट्टा एक सय ५० देखि पाँच सय रुपैयाँसम्म पर्ने अचार अमात्यले घरमै बनाउनुहुन्छ । ‘यो व्यवसाय दर्ता नै गरेर चलाउने योजना छ’, उहाँले भन्नुभयो, ‘गुणस्तर पनि मापन गर्नुपर्ने रहेछ, यसका लागि पहल गरिरहेकी छु ।’ 

प्रविधिको प्रयोग बढाउँदै अविरल थापा 

लकडाउनका बेला नयाँ अवसर खोजेर सफलताको बाटोतिर लम्किनेहरुको सूचीमा अविरल थापा पनि पर्नुहुन्छ । बनेपा घर भएका थापा  काठमाण्डौको  बानेश्वरमा बस्नुहुन्छ ।

थापाथलीमा रहेको पोलिगन कलेजमा पढाउनुहुन्छ । २०५७ सालदेखि पत्रकारिता गर्दै आउनुभएका थापा अहिले शिक्षण पेसासँगै फिल्म निर्माताको  रुपमा पनि काम गर्दै आउनुभएको छ । 

थापालाई पनि लकडाउनका बेला घरभित्र बस्दा उकुसमुकुस भयो । दिनहुँ काममा खटिने बानी परेका उहाँलाई महिनौँसम्म घर बस्न गाह्रो भयो ।  एकातिर कोरोनाको त्रास, अर्कोतिर घरभित्र बस्दाको तनाव ।

सुरुका दुई महिना के गर्ने, कसो गर्ने भन्ने आँटै आएन । लकडाउन थपिँदै गयो । थापालाई पनि लकडाउन बढ्दै गएपछि अब केही गर्नैपर्छ भन्ने लाग्यो ।  केही त गर्ने, के गर्ने, कसरी गर्ने भन्ने मेसो मिलेन । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय थापाले यही प्रविधिको उपयोग गर्ने विचार बनाउनुभयो ।

अनि साथीहरुसँग सल्लाह गर्नुभयो । थापाको योजनामा साथीहरु पनि सहमत भए । उहाँले फेसबुक पेज खोल्नुभयो । पेजको नाम ‘छिटो अनलाइन  स्टोर’  राख्नुभयो । त्यो पेजमा बच्चाहरुका लागि आवश्यक, टोपी, पञ्जा, जुत्ता, मोजा, कपडालगायतका सामाग्रीको फोटो पोस्ट गर्नुभयो ।

त्यसपछि सुरु भयो थापाको अनलाइन व्यवसाय । बच्चाहरुका लागि चाहिने सामग्रीको फोटो पोस्ट गरेपछि फेसबुक पेजमा कमेन्ट आउन थाले, ‘हामीलाई चाहियो ।’ थापाले पेजमै सम्पर्क नम्बर पनि राख्नुभएको थियो । कतिपयले फोन नै गर्न थाले ।

फोन गरेर बच्चाहरुका लागि सामान अर्डर गर्नेहरुको सङ्ख्या दिनहुँ बढ्न थाल्यो । ग्राहकको रोजाइअनुसारका कपडा होलसेलबाट लगेर घरमै पुर्‍याउने काम सुरु भयो । यसो गर्दा थापालाई कामसँगै पैसा पनि आउने बाटो बन्यो । ‘लकडाउनका बेला केही दिन भ्याइ नभ्याइ पनि भयो’, उहाँले भन्नुभयो, ‘अहिले लकडाउन खुलेसँगै बजार पनि खुले, त्यति धेरै माग भएको छैन तर काम भने निरन्तर चलिरहेको छ ।’

जागिर गुम्यो, विकल्पमा व्यापार 

 क्यामेरा बोक्दै रेस्टुरेन्ट र सेलिब्रेटी खोज्दै हिँड्ने पत्रकार इच्छा गुरुङ अहिले कपडा बोक्दै ग्राहकको घर घरमा पुग्नुहुन्छ । ग्राहकले फोनमार्फत कपडा   ल्याइदिन भनेपछि कपडा बोक्दै लोकेसन खोज्दै जानुहुन्छ ।

 उहाँ यसरी हिँड्न थालेकोे एक महिनाभन्दा बढी भयो । ‘कसैले टप्स, कसैले कुर्ता र कसैले अरु सामान चाहियो भन्दै फोन गर्छन् अनि घरमै पुगेर   कपडा पुर्‍याउँछु’, उहाँले भन्नुभयो, ‘एक ठाउँमा काम त बन्द भयो, अर्को विकल्प त खोज्नु परिहाल्यो नि ।’ 

 झण्डै तीन वर्ष जनता टेलिभिजनमा कार्यक्रम ‘सेलिब्रेटी किचन’ उत्पादन गरिरहनुभएकी गुरुङको लकडाउनमा कार्यक्रम बन्द भयो । कार्यक्रम बन्द   हुँदा  टेलिभिजनले एक महिना घरमै बस्न भन्यो । लकडाउनले बजार व्यवसाय सबै बन्द हुँदा गुरुङ पनि घरमै बस्नुभयो ।

 एक महिनापछि पत्रकारका लागि लकडाउन केही खुकुलो भयो । कोरोनाको त्रास पनि पहिलेको भन्दा कम भयो । उहाँलाई पनि अब अफिस जानुपर्छ   भन्ने लाग्यो तर अफिसबाटै फोन आयो । अनि भनियो ‘तपाईं अझै केही दिन घरमै बस्नुपर्‍यो ।’

 ‘पूर्णरुपमा रेस्टुरेन्ट नखुलेसम्म कार्यक्रम बनाउने अवस्था थिएन । कार्यक्रम नबन्दा जागिर नै छ भन्ने पक्का भएन । लकडाउनमा काम नै बन्द भएपछि   अनलाइन व्यापार सुरु गरेँ’, गुरुङले भन्नुभयो । 

 इच्छा गुरुङसँगै काम गर्ने पत्रकार शिलु अधिकारीले पनि सुन्धारामा रहेको सिभिल मलमा डेढ वर्ष पहिलेदेखि नै व्यापार सुरु गर्नुभएको थियो । तर   लकडाउनमा पसल पनि बन्द भयो । लकडाउनमा पसल पनि बन्द, काम पनि बन्द, अब के गर्ने ? शिलुलाई पनि उस्तै तनाव भयो ।

 गुरुङ र अधिकारीले जागिर नभए पनि पसलकै सामानलाई अनलाइनमार्फत कसरी बेच्न सक्छौँ भनेर योजना बनाउनुभयो । फेसबुकमै पेज नै बनाएर कपडाको अनलाइन व्यापार सुरु भयो । वैकल्पिक पेसा पहिलेदेखि नै रोजेकाले लकडाउनमा अनलाइनबाट सेवा दिन सहज भएको गुरुङले बताउनुभयो ।

लकडाउनले काम बन्द हुँदा क्वरेण्टीनको काम 

कोभिड–१९ का कारण काम बन्द भएपछि कञ्चनपुरका प्रकाशराज योगीले भने कोभिड–१९ सँगै जोडिएर काम थाल्नुभयो । लकडाउनका कारण  कैलालीमा प्रकाशित हुँदै आएको सेतो हिमाल दैनिक चैतदेखि बन्द भयो ।

योगी पत्रिकाको बजार शाखा प्रमुखका रुपमा झण्डै चार वर्षदेखि काम गर्दै आउनुभएको थियो । लकडाउनमा पत्रिका नै बन्द हुँदा उहाँको काम पनि  बन्द भयो । कोरोनाको डरकै कारण विदेश पुगेकाहरु पनि घर फर्के ।

दैनिक सयौँ नागरिक फर्किएपछि व्यवस्थापन गर्न पालिकालाई पनि भ्याइ नभ्याइ भयो । पालिकाले क्वरेण्टीन बनाउन र घर फर्किएकाहरुलाई राख्न  थाले  । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ ले क्वरेण्टीनको व्यवस्थापन गर्ने जिम्मा ठेक्कामा दियो । यसको जिम्मा योगीले लिनुभयो ।

उहाँले वडामा रहेका चार वटा क्वरेण्टीनमा आएकाहरुलाई राख्नेदेखि खुवाउनेसम्मको सबै व्यवस्थापनको जिम्मा लिनुभयो । उहाँले आफूलाई सघाउन  अरु चार जना साथी पनि खोज्नुभयो । साबुन, मास्क, स्यानिटाइजर, झुललगायतका सामान वितरण गर्ने र खाना पकाएर खुवाउने काम साथीहरुको  सहयोगमा थालनी भयो ।

लकडाउनका बेला वैकल्पिक योजना बनाएर काम गरेका यी केही उदाहरण मात्रै हुन् । लकडाउनमा कोही गाउँमा गएर खेतिपातीमा व्यस्त भए,  कतिपयले तरकारी, फलफुल बेच्ने काम पनि गरे । काम गर्ने आँट र सीप भएकाहरुलाई जस्तोसुकै महामारीले पनि आम्दानी गर्न रोक्दैन भन्ने उदाहरण धेरै छन् । 

के हुन सक्छन् अरु वैकल्पिक काम ?

अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीका अनुसार सबैभन्दा पहिला आफ्नो रुचिअनुसारको क्षमता विकास गर्न जान्नुपर्छ । उहाँ भन्नुहुन्छ, ‘हरेक व्यक्तिले म कुन काम गरिरहेको छु र यो काम निरन्तर हुन्छ कि हुँदैन, यसबाट कम वा बढी कस्तो आम्दानी हुन्छ,  यो कामपछि गएर बन्द भयो भने मैले अरु के गर्न सक्छु भन्नेबारे सोच्नुपर्छ ।

समय र परिस्थिति सधैँ एकनास हुँदैन । त्यसैले हामीले गर्दै आएको व्यवसाय, पेसा पनि सधैँ रहन्छ भन्ने हुँदैन । कुनै पनि मान्छेले म यो नभए अर्को यो काम गर्न सक्छु भन्ने आँट र त्यहीअनुसारको रुचि राख्नुपर्छ ।’ 

आफ्नो पेसासँगै बाहिरी ज्ञान, सीप पनि सिक्न आवश्यक छ र त्यहीअनुसारको क्षमता बढाउनुपर्नेमा उहाँको जोड छ । अर्को पाटो कामको योजनाअनुसारको स्रोत, साधन पनि जुटाउनुपर्छ । अहिले रोजगार गुमेको अवस्थामा अब के गर्ने भन्ने हुन सक्छ ।

अर्थविद् अधिकारीका अनुसार केही काम र तरिका यस्ता छन् :

गाउँगाउँमा उत्पादन गरेको तरकारी फलफुल सहर ल्याउन सकिन्छ । ​बिचौलियाको भन्दा कम मूल्यमा उपलब्ध गराउन सकिन्छ । अहिले बजारमा मास्कको माग बढ्दो छ । मास्क उत्पादनमा लागे फाइदा लिन सकिन्छ । 

बजार खुले पनि कपाल काट्न मान्छे अझै सैलुनमा गइसकेका छैनन् । यस्तो बेला घरघरमा गएर कपाल काट्ने काम गर्न सकिन्छ । घरघरमा पुगेर मोबाइल, ग्यास चुल्हो, विद्युतीय सामग्री मर्मत गर्ने काम पनि गर्न सकिन्छ । 

आम उपभोक्ताको रुचिलाई ध्यान दिँदै अरु यस्तै खालका वैकल्पिक पेसा अपनाउन अर्थविद् अधिकारीको सुझाव छ । 

अन्तिम अपडेट: कात्तिक ३, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया