खाडीका देश र मलेसियामा समस्यामा रहेकाको स्वदेश फिर्तीलाई प्राथमिकता, यस्तो छ नयाँ उडान तालिका

 साउन १३, २०७७ मंगलबार १७:१५:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एअरलाइन्स नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् ।

जुलाई ३१ तारिखदेखि हुने चाै‌ंथो चरणको उद्धार उडानका लागि नेपाली एअरलाइन्सले आउँदो अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एअरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । यूएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको  क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । 

हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म जम्मा १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एअरलाइन्सका कति उडान ?

नेपाल एअरलाइन्सले जुलाई ३१ तारिखमा जापान र कुवेत उडान गर्नेछ । 

अगष्ट १ मा क्वालालम्पुर र कतार, अगष्ट २ मा जेदाह र दुबई, अगष्ट ३ मा अष्टे«लिया र कतार, अगष्ट ४ मा दुबई र कतार, अगष्ट ५ मा रियाद र दमाम, अगष्ट ६ मा रियाद र दुबई, अगष्ट ७ मा रियाद र दमाम र अगष्ट ८ तारिखमा जेदाह र दुबईमा चार्टर्ड उडान गर्ने जनाएको छ ।

हिमालयले जुलाई ३० र अगष्ट १ तारिखमा कुवेतमा दुई उडान गर्नेछ । 

चीनको कुनमिङमा जुलाई ३१ मा एक मात्र उडान हुनेछ । जुलाई ३१ र अगष्ट ३ तारिखमा दोहामा उडान गर्ने हिमालयले जुलाई ३१, अगष्ट १,२, ३ र ४ तारिखसम्म अबुधाबी गन्तव्यमा चार्टड उडान गर्नेछ ।

त्यस्तै अगष्ट २, ३, ६ र ७ तारिखका दिन क्वालालम्पुर र अगष्ट ४, ५, ६ र ७ तारिखमा दमाम उडान गरिने हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालीको उद्धारका लागि विदेशी एअरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एअरले कुवेतबाट, इत्तिहाद एअरले अबुधाबी, एअर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबईबाट, कतार एअरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । यही अवधिमा मालिण्डो एअरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

यसअघि नेपाल एअरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो । 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा विदेशमा समस्यामा परेका नेपालीको चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती भइरहेको छ । 

अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आउँदो भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ ।

लकडाउनको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया