स्वदेशमै रहेकाहरु विदेश जान आतुर : १३ दिनमा १७ सय ३७ जनाले लिए पुनः श्रम स्वीकृति

 साउन १३, २०७७ मंगलबार १८:२०:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कने बाटो पर्खिरहँदा स्वदेशमै रहेका कतिपय भने विदेश जान आतुर देखिएका छन् ।

साउन महिनाको १३ दिनमा मात्रै १७ सय ३७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार साउन १ गतेदेखि आज मंगलबारसम्ममा विभिन्न २४ देश जानका लागि १७ सय ३७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

कोरोना महामारीकै बीचमा खाडीका देश र मलेसिया जान खोज्ने नेपालीको सङ्ख्या धेरै रहेको छ । यी देशमा समस्यामा परेका नेपाली स्वदेश फर्कन नसकेर सरकारको उद्धारको प्रतिक्षामा छन् । तर बिदामा घर आएका र कोरोनाको कारण फर्कन नपाएका नेपाली पुनः श्रम स्वीकृति खुलेपछि विदेश जान तयार भएका छन् ।

सबैभन्दा धेरै ७४१ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । यूएईबाट नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि अन्य देशको तुलनामा बढी छ । यूएईबाट नेपाल फर्कने चाहना राख्दै ४५ हजारभन्दा धेरैले दूतावासमा निवेदन दिएका छन् ।

यूएईपछि कतार जानका लागि ५०७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने मलेसिया जान २३५ जनाले पुनः श्रम स्वीकृति लिइसकेका छन् । खाडीकै अर्को देश बहराइन जान ३२ जनाले, कुवेत जान ७५ जनाले, ओमान जान ३९ जनाले र साउदी जान १८ जनाले पुनः श्रम स्वीकृति लिएका श्रम कार्यालयले जनाएको छ ।

यस्तै अफगानिस्तानका लागि ६, ब्रुनाइका लागि ३४, कम्बोडियाका लागि १ जनाले, चीनका लागि १, क्रोएसियाका लागि १, चेक रिपब्लिकका लागि १, जापान जान ३० जनाले, जोर्डन जान १ जनाले, मकाउ जान १० जनाले, माल्दिभ्सका लागि ८ जनाले, माल्टाका लागि ६ जनाले, पोल्याण्डका लागि १५ जनाले र सेसल्सका लागि २ पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया