रानीपोखरीदेखि दशरथ रङ्गशालासम्म खुला ठाउँ निकाल्ने गुरुयोजनाको प्रस्ताव तयार

 साउन १३, २०७७ मंगलबार १८:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाण्डाैकाे मौलिकता झल्काउने र खुला ठाउँ 'ओपन स्पेस' निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ ।

याेजना अन्तर्गत सुरुवाती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको त्यस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनामा जमलमा पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रबलीकरणका लागि गएकाे वर्ष विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ डिजाइन सम्पन्न भएको र चालु आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट १० करोड रुपैयाँ बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलकाे जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत दुई अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापक, विद्यार्थी सङ्घ सङ्गठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताउनुभयो ।

२०७६ साल भदौ ५ गते प्राधिकरणका प्रमुख कार्यकारी अघिकृत ज्ञवाली, सचिव शिवहरी शर्मा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा,डा, तीर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिस्ट्रार, त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख लगायतबीच छलफल भएको थियो । जसमा जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन बनाउन प्रस्ताव गरिएको थियो भने कलेजको भवनको रेट्रोफिटिङ र नयाँ भवन बनाउनेबारे छलफल भएको थियो ।

२०७६ साल माघ १५ गते फेरि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष, रजिस्ट्रार, त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखसहितको बैठकमा घण्टाघरतर्फको भवन प्रबलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० वटा कोठाको प्रिफ्याब भवन बनाउने कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अघि बढाउने र घण्टाघर पछाडिको जग्गामा भवनको डिजाइन कार्य अगाडि बढाउनेबारे छलफल भएको थियो ।

बैठकमा जमलमा पहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन निर्माण गर्न त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजद्वारा प्राधिकरणसमक्ष राखेको प्रस्तावमा छलफल हुँदा त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गर्ने र प्राधिकरणले बजेट व्यवस्था मिलाउने कुरा भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय पुस्तकालयको महत्त्वलाई ध्यानमा राखी पहिले नै राष्ट्रिय पुस्तकालय रहेको पुल्चोककाे हरिहर भवनमा राष्ट्रिय पुस्तकालय एवं राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकाय रहने गरी बोलपत्र आह्वान भएको र निर्माण व्यवसायी छनाेटको चरणमा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले हरिहर भवन पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ करोड रुपैयाँ व्यवस्था भइसकेको छ ।

सुरुमा राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवनमा नै राष्ट्रिय पुस्तकालय बनाउनेबारेमा राष्ट्रिय पुस्तकालयसँग परामर्श गरी तीन वर्षअघि नै गुरुयोजना तयार पारिएको थियो । तर भारतीय एक्जिम बैंकको सहयोगमा पुनर्निर्माण गर्ने कार्यमा ढिलाइ हुँदा मन्त्रिपरिषद्ले जमलमा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो ।

'हरिहर भवनमा राष्ट्रिय पुस्तकालय बनाउने प्रक्रिया अघि बढिसकेको र बृहत्तर रानीपोखरीको गुरु योजनाको प्रस्ताव तयार भएको अवस्थामा जमलमा रहेकाे जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्नु सान्दर्भिक देखिन्छ । यस्तो गर्दा राष्ट्रिय पुस्तकालयका लागि हरिहर भवनमा पर्याप्त ठाउँसहितको पूर्वाधार तयार हुने र त्रिचन्द्र कलेजका लागि समेत थप भवन प्राप्त हुनेछ', प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, 'त्यहाँ व्यापारिक प्रयोजनका लागि भवन बनाउने कुरा सोच्न पनि सकिँदैन ।'

नेपालकै सबैभन्दा जेठो कलेजका रुपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवन जीर्ण भएका छन् । कलेजमा झण्डै १० हजार विद्यार्थी अध्ययनरत छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरोकारवाला सबै पक्षसँग छलफल गरी बृहत्तर रानीपोखरी गुरुयोजनाको प्रस्ताव तयार पारेको हो । अब बस्ने निर्देशक समितिको बैठकमा गुरुयाेजना पेस गर्ने प्राधिकरणले जनाएको छ ।

'प्रस्तावित गुरुयोजनाको प्रस्ताव पारित भइ कार्यान्वयन गर्दा खाली ठाउँसहित काठमाण्डाै उपत्यकाको मुहार फेर्न सक्छौँ', प्रमुख कार्यकारी ज्ञवालीले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया