टिकट काट्न नसकेर ओमानबाट घर फर्कन पाउनुभएको छैन ? दूतावासमा निवेदन दिनुहोस्

 साउन १६, २०७७ शुक्रबार ७:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा समस्यामा पर्नुभएको छ तर टिकट काट्ने पैसा नभएर घर फर्कन पाउनुभएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउनुहोस् ।

कोरोनाको कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैं टिकट किनेर घर फर्कन नसक्ने नेपालीले दूतावासले तोकेको ढाँचा अनुसार फारम भरेर बुझाउन अनुरोध गरिएको छ । यसबारेमा थप बुझ्न परेका दूतावासमा कार्यालय समयमा श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा सम्पर्क गर्न सकिन्छ ।

साथै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि फोन गरेर बुझ्न र सहयोग लिन सकिने दूतावासले जनाएको छ । सरकारले विदेशमा अलपत्र परेका, रोजगारदाताले सहयोग नगरेका, आफैं टिकट काटेर फर्कन नसक्ने नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्ने निर्णय गरिसकेको छ ।

त्यसका लागि निर्देशिका समेत बनाएको छ । निर्देशिकाको मापदण्डमा पर्ने श्रमिकलाई अब दूतावासको समन्वयमा निःशुल्क उद्धार हुनेछ । यो प्रक्रिया ओमानमा रहेको नेपाली दूतावासले सुरु गरेको छ । फारम भरेर दूतावासमा [email protected] मा मेल गर्न सकिने छ।

यस्तै ओमानमा समस्यामा रहेर घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि अगष्ट १४ मा चौथो उडान हुने भएको छ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि प्राथमिकतामा परेका १८० जना नेपालीको नाम दूतावासले सार्वजनिक गरेको छ । यो उडान पनि ओमानबाट सलाम एअरले भर्नेछ । ओमानमा रहेको नेपाली दूतावासको समन्वयमा सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा सलाम एअरले यसअघि तीन उडानमार्फत नेपाली ल्याइसकेको छ ।

प्राथमिकतामा परेकाले आफूलाई पायक पर्ने ठाउँमा कोरोनाको पीसीआर जाँच गरेर टिकट काट्न दूतावासले अनुरोध गरेको छ ।

फारमकाे ढाँचा हेर्नुहाेस्

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया