कर्णालीमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २ सय १७

 साउन १६, २०७७ शुक्रबार २०:३६:२४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा शुक्रबार एक जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य महाशाखाका अनुसार दैलेखका एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा एक हजार नौ सय ३८ जनामा कारोना सङ्क्रमण देखिएकाे छ । यसमध्ये एक हजार सात सय २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार मात्रै १८ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।

महाशाखाका अनुसार कर्णाली प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १७ छ । महाशाखाले दिएको जानकारी अनुसार सुर्खेतमा ४० जना, दैलेखमा एक सय २९ जना, जाजरकोटमा १२ जना, सल्यानमा नौ जना, मुगुमा एक जना र कालीकोटमा १२ जना संक्रिय कोरोना सङ्क्रमित छन् ।

सङ्क्रमित मध्ये दुई सय तीन जनाकाे आइसोलेसनमा र १४ जनाकाे होम आइसोलेसनमा उपचार भइरहेकाे महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । कर्णालीमा अहिलेसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो समय कर्णालीमा आइसोलेसन र क्वरेण्टीन रित्तिँदै गएकाे छ । अहिले बाहिरबाट आउने व्यक्तिहरुको सङ्ख्यामा पनि कमी आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले बताउनुभयो । सरकारले विद्यालयमा रहेका क्वरेण्टीन हटाउन भनेकाले कर्णालीमा विद्यालय खाली गर्न थालिएको र समुदायस्तरमा पनि कोरोना परीक्षण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया