पञ्जाबमा विषाक्त रक्सी पिउँदा ८० जनाभन्दा बढीको मृत्यु

 साउन १८, २०७७ आइतबार १३:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत - भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध रक्सी बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त रक्सी पिएर सयौँ व्यक्तिको ज्यान जाने गरेको छ । अवैध यस्तो रक्सी स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ । 

प्रहरीकाअनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ । 

यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त रक्सी खाएर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको सङ्ख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताउनु भएको छ । 

उहाँले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया