प्रदेश २ को ६ वटा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी

 साउन १८, २०७७ आइतबार १९:४०:५९ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – प्रदेश नम्बर २ को ६ वटा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । स्थानीयस्तरमा कोरोना भाइरसको सङ्क्रमणकाे दर बढ्न थालेपछि स्थानीय प्रशासनले सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेकाे हो ।

महोत्तरी सदरमुकाममा गएकाे शुक्रबार मध्यराति देखि पाँच दिनको लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । शनिबार र आइतबार गरी दुई दिन जारी निषेधाज्ञा सफल रहेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिकाको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिनको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी गरेको भट्टराईले जनाउनुभयो ।

सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमा सङ्क्रमित बढेपछि थप सङ्क्रमण फैलिन नदिन तयारी पूर्वाभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । मन्त्री यादवले सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदेश नम्बर २ मा आवश्यक स्राेत, साधन उपलब्ध गराउन मागसमेत गर्नुभएको हो ।

समुदायमा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न प्रदेश २ को आठ जिल्लामा मास्क नलगाउने ५४ हजार जनालाई कारबाही गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

प्रदेश २ को राजधानी जनकपुरधामसहित सप्तरी, वीरगञ्ज, महोत्तरीमा केही दिनयता ट्राभल हिस्ट्री नै नभएकाहरुमा धमाधम कोरोना पुष्टि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय झाले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया