कोरोनाविरुद्ध लड्न आफ्नै शरीरको क्षमतामा भर : जस्तो खान्की उस्तै रोगप्रतिरोधी क्षमता

 साउन २८, २०७७ बुधबार १०:५३:२८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – नेपालमा पनि दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । त्यसमा दीर्घरोगी, बुढापाका तथा गर्भवती/सुत्केरी धेरै छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा सङक्रमणको जोखिम उच्च हुने गरेको तथ्याङ्कले देखाएको छ ।

डाक्टर र विज्ञहरुले दीर्घरोगी, बुढापाका, बालबालिका, गर्भवती÷सुत्केरी कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका बताउँदै आएका छन् । अहिलेसम्मको तथ्याङ्कले पनि यही देखाएको छ । त्यसैले सकेसम्म सङ्क्रमणबाट आफूलाई बचाउनुपर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । 

अब विस्तारै मौसम परिर्वतनको समय पनि सुरु हुँदैछ । मौसम फेरबदल हुँदा रुघाखोकी, ज्वरो लगायत विभिन्न रोगहरुको सङ्क्रमणदर पनि उच्च हुन्छ । रोगसँग लड्ने क्षमता कमजोर भए कोरोना भाइरस मात्रै होइन, अरु रोगहरुको जोखिम पनि उत्तिकै हुन्छ । यस्ता रोगको सङ्क्रमण हुन नदिन शरीरको प्रतिरक्षा मजबुत बनाउन जरुरी छ ।

डाक्टर, पोषणविद् तथा जनस्वास्थ्यका विज्ञहरूले कोभिड–१९ सहित अरु रोगको सङ्क्रमणबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउन सुझाव दिइरहेका बेला धेरैलाई लाग्न सक्छ, प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ त ? यसका लागि खान्की र आफ्नै आनीबानीमा मुख्य ध्यान पुर्याउनुपर्ने डाक्टरहरुको सल्लाह छ । 

रोग प्रतिरोधात्मक क्षमता बढाउन यी खानेकुरा खानुपर्छ

कोरोना भाइरसबाट बच्ने पहिलो उपाय भनेकै सङ्क्रमणबाट जोगिनु हो । त्यसपछि आफूलाई सङ्क्रमण नहुने गरी शरीरलाई तयार पार्नु महत्वपूर्ण हुन्छ । त्यसका लागि रोगसँग लड्ने क्षमता बढाउनु नै उत्तम विकल्प रहेको जनस्वास्थ्य एवं स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरस विरुद्ध लड्न पनि आफ्नै शरीरको क्षमतामा भर पर्छ । जस्तो खान्की उस्तै रोगप्रतिरोधी क्षमता बन्छ ।’ 
सन्तुलित आहार सँगसँगै शारीरिक अभ्यास पनि उत्तिकै आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन, भिटामिन र खनिज भएका तर कार्बाेहाइड्रेट कम भएका खानेकुरा खान उहाँको सल्लाह छ । हरियो सागसब्जी, फलफुल, दूध, दही, अण्डा, माछा मासु खानुपर्छ’ भिटामिन र खनिजले शरीरलाई प्रतीरक्षा गर्ने काम गर्छ भने प्रोटिनले शरीरको वृद्धिमा सहयोग पुर्याउँछ ।

यी खानेकुराले इम्युनिटी पावर मात्र नभएर शरीर स्वस्थ, निरोगी र फुर्तिलो हुन्छ । महत्वपूर्ण भिटामिन ए, बी, सी, डी, ई र खनिज पाइने खानेकुरामा बढी जोड दिन डाक्टर कार्कीको सुझाव छ ।
भिटामिन ‘ए’ ले श्वासप्रश्वासका कोषिकाको आकार कायम राख्ने हुनाले चिज, गाजर, सागसब्जी, फर्सी, अन्डा, फलफुल खानुपर्छ ।

यस्तै भिटामिन ‘सी’ भएका खानेकुरा कागती, सुन्तला, अम्बा, अंगुर, गोलभेंडा खानुपर्छ । खनिज पदार्थ पाइने बोडी, गेडागुडी, च्याउ, केराउ, बदाम, मासु, अण्डा खानुपर्छ ।
सिन्की, गोभीले पेटमा हुने स्वस्थ ब्याक्टेरियाको संख्या बढाउनुका साथै भाइरल इन्फ्लुएन्जासँग जुध्ने प्रतिरोधात्मक क्षमता बढ्छ । फ्लू, रुघाखोकीका जस्तै कोरोना भाइरसको पनि उस्तै लक्षण भएकाले अदुवा, लसुनमा पाइने प्राकृतिक तत्व एन्टिअक्सिडेन्टले श्वासप्रश्वासको समस्यामा रोगसँग लड्न बलियो बनाउँछ भान्सामा दैनिक प्रयोग गर्नु उपयुक्त हुन्छ । 

आयुर्वेदका विज्ञ डाक्टर ऋषिराम कोइरालाका अनुसार आयुर्वेदिक पद्धतिबाट पनि शरीरमा शक्ति आर्जन गर्न सकिन्छ । ‘दैनिक रूपमा खाने घरेलु मसलाले पनि शरीरमा शक्ति दिन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘भान्सामा प्रयोग हुँदै आएका मसलाहरु जस्तै बेसार, अदुवा, लसुन, मेथी, जिरा, मरिच, दालचिनी, टिमुर, तुलसी, आयुर्वेदिक चुर्ण लगायतको प्रयोगले रोगप्रतिरोधी क्षमता बढाउँछ ।’ 

जंकफुड, मध्यपान, धूमपानबाट टाढा

शरीरको प्रतिरोधी क्षमता बलियो भए प्रतिकूल मौसममा पनि रोगबाट जोगिन सकिन्छ । विज्ञ भन्छन्, ‘कुनै पनि रोग लाग्दा वा भाइरस, ब्याक्टेरिया, प्यारासाइट्सको सङक्रमण हुँदा शरीरको प्रतिरक्षा प्रणाली नै कमजोर हुन्छ । प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गरी रोगका किटाणुको अन्त्य गर्न सक्छ । त्यस्तै कोरोना भाइरसलाई कमजोर बनाउन शरीरमा रोग प्रतिरोधात्मक तत्व नै बढी खानुपर्छ ।’

विज्ञहरुले जंकफुड, मध्यपान, धूमपानबाट टाढा रहन पनि सुझाव दिएका छन् । अत्यधिक जाँडरक्सी, धूमपानले रोग प्रतिरोधी कोषको क्षमता घटाउँछ । विज्ञहरुकाअनुसार पर्याप्त मात्रामा पानी पिउन सके शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । र, प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानी सकेसम्म तातो वा मनतातो हुनु राम्रो मानिन्छ । केराउ, चना, मुङ, मेथी लगायतका गेडागुडी उमारेर खाने हो भने फाइदा गर्ने पोषणविद् डाक्टर अरुणा उप्रेती बताउहुन्छ । 

तर अरु कुनै रोग भएकाहरुले डाक्टर र पोषणविद्को सल्लाहमा मात्रा मिलाएर मात्रै खानेकुरा खान उप्रेतीको सुझाव छ । त्यस्तै काँक्रो, गाँजर, टमाटर, मुला, प्याजको सलादले खानालाई पचाउनमा मद्दत गर्छ । सलादमा रहेको पोषक तत्वले शरीरको प्रतिरोधी क्षमता बढाउँछ । धेरै भुटे तारेको, प्रशोधित खानेकुरा, जंकफुड खाने, व्यायाम नगर्ने बानी रोगको घर बन्ने उहाँको भनाई छ । 

कोरोना भाइरसले श्वासनली हुँदै फोक्सोमा आक्रमण गर्ने र धुमपानले पनि फोक्सोमै असर गर्ने भएकाले यसबाट भाइरसलाई बल पुग्छ । गुड्खा, खैनीसूर्ति पनि नखान र खानेबानी भए हटाउन डाक्टरको सुझाव छ ।

आनीबानी सुधारमा जोड

सन्तुलित खानपिनसँगै ध्यान, योग, उठबस, निद्रा, तनाव कम गर्ने, सकारात्मक सोंच राख्ने जस्ता पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । उनीहरुले सुझाएजस्तै खानपिन, शारीरिक व्यायाम र रहनसहनले रोगसँग लड्ने क्षमता बढाउँछ । बिहान घाममा बस्ने र शरीरमा तेल लगाउँदा पनि रोगब्याधी विरुद्धको क्षमता बढ्छ ।

सरकारले पनि खानपान, आयुर्वेद औषधि, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने बारेमा प्रोटोकल नै बनाएको छ । भान्छामा दैनिक प्रयोग गरिने मरमसला लगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने प्रोटोकलमा उल्लेख छ ।

आनीबानीलाई सुधार गर्न जनस्वास्थ्यका विज्ञले जोड दिंदै आएका छन् । हाछ्युँ गर्दा, खोक्दा, हात मिलाउँदा वा छुँदा, कोरोना भाइरस सङ्क्रमित व्यक्तिको सम्पर्कबाट नै भाइरस अर्कोलाई सर्ने हुनाले भौतिक दूरी कायम गर्ने, नियमित सरसफाइ र साबुन पानीले हात धुने, मास्क लगाउने र साबुनपानी उपलब्ध नभए स्यानिटाइजरको प्रयोग गर्न बिर्सनु हुँदैन ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया