‘गयौ मेरो जीवनमा आगो झोसेर’

 साउन २९, २०७७ बिहिबार १३:४९:४८ | इन्द्रसरा खड्का
unn.prixa.net

'भन्थ्यौ जिउँला सीता र राम झैँ

आखिर भयौँ जुन र घाम झैँ

गयौ मेरो जीवनमा आगो झोसेर

के मा चित्त बुझेन ए सानु, जिउने मुटु त्यही पनि लग्यौ खोसेर...'

रामराजा थापा र प्रमिला न्याैपाने (श्रीमान्–श्रीमती)

 कसैले फोन गर्दा मोबाइलमा यही गीत बज्छ । ठ्याक्कै यही गीतसँगै मेल खाएको छ, उहाँको जीवन । 

 आफ्नै भन्ने मान्छेले मन हैन, शरीर जलाएर कुरुप बनाइदिएपछि उहाँले मोबाइलमा यो गीतको रिङ ब्याकटोन राख्नुभएको हो ।

 अनुहार पूरै जलेको छ । बायाँ कान छैन । हात खुट्टा पनि जलेका छन् । ६ पटक अप्रेशन गर्दा पेट र तिघ्राको छाला पनि सकियो । पीडा झनै थपिँदै   गएको छ ।

 आधा शरीर जलेर ६ महिनादेखि अस्पतालको शय्यामा छटपटाइ रहनुभएका उहाँ नुवाकोट विदुर नगरपालिका ३ का २६ वर्षीय रामराजा थापा   हुनुहुन्छ  ।

 आफ्नै श्रीमतीले शरीरमा तेजाब खन्याइदिएपछि रामराजा यस्तो अवस्थामा पुग्नुभएको हो । पहिलेको भन्दा केही निको भए पनि घाउ भने उस्तै पोल्छ । 

 झण्डै पाँच महिनादेखि शिक्षण अस्पतालको शय्यामा रहनुभएका रामराजालाई केही दिनअघि अस्पतालले डिस्चार्ज गरी घर पठायो । निको भएर हैन,   अस्पतालमा कोरोनाको त्रासले ।

 अस्पतालले घर पठाएपछि अहिले उहाँ गुहेश्वरीमा दाइ भाउजुसँगै बस्नुभएको छ ।

 उहाँलाई अस्पताल पुर्‍याउने र ल्याउने काम उहाँकै दाइ शुभराजा थापाले गर्नुहुन्छ ।

 

यस्तो थियो घटना

नुवाकोट घर भएका रामराजा श्रीमती र तीन महिनाको छोरासँगै काठमाण्डौको पुरानो गुहेश्वरीमा बस्नुहुन्थ्यो । 

उहाँ काठमाण्डौ–धरान चल्ने माइक्रोबस चलाउनु हुन्थ्यो । २०७६ फागुन २५ धरानबाट काठमाण्डौ आउनुभयो ।

कोठामा पुग्नेबित्तिकै ६ बजिसकेको थियो । रामराजासँगै उहाँको साला पनि गाडीमै काम गर्थे । 

श्रीमती प्रमिलाले कसैको फोन आउँदा पहिलेदेखि नै शङ्का गर्थिन् । यही विषयमा सामान्य मनमुटाव भइरहन्थ्यो ।

२५ गते दिनभरको यात्रामा थकित हुनुहुन्थ्यो, खाना खाएर रामराजा सुत्न जानुभयो । रातिको १२ बजेको हुँदो हो, उहाँ मस्त निद्रामा हुनुहुन्थ्यो । सुतिरहेको बेला शरीरमा पानी खन्याए जस्तै भयो । एक्कासी आँखा खुले ।

आँखा खुल्दा शरीर पूरै पोल्यो । श्रीमती सुतिरहेकै थिइन् । बेस्सरी अनुहार जल्न थालेपछि उहाँ चिच्याउनुभयो ।

उहाँ कराएको वल्लो–पल्लो कोठाकाले सुने । सबैजना के भयो भन्दै हतार हतारमा आए । लगत्तै रामराजालाई गाेङ्गबुमा रहेको विनायक अस्पतालमा लगियो ।

‘विनायक अस्पताल पुग्दासम्म होसमै थिएँ । त्यसपछि के भयो थाहा भएन । होसमा आउँदा त त्रिवि शिक्षण अस्पतालमा पो रहेछु’, ६ महिनाअघिको घटना सम्झँदै रामराजाले भन्नुभयो । 

घटना भएको भोलिपल्ट २६ गते रामराजाका दाइले बुहारी प्रमिलाविरुद्ध प्रहरीमा उजुरी दिनुभयो । प्रहरीले कल्पनालाई पक्राउ गर्‍याे । 

प्रमिलाले सुरुमा आफूले यस्तो काम नगरेको बताइन् । झ्यालबाट कसैले हालेको हुन सक्ने भन्दै पन्छिन खोजिन् । तर केरकार गर्दै जाँदा प्रमिलाले आफूले तेजाब प्रहार गरेकाे स्वीकार गरिन् ।

पक्राउ परेको २४ दिनमै जिल्ला अदालत काठमाण्डौले प्रमिलालाई डेढ लाख धरौटीमा छोड्ने फैसला गर्‍याे । बच्चा सानै भएको र अहिले कोरोनाको त्रास भएको भन्दै अदालतले छोड्ने फैसला गरेपछि प्रमिला अहिले कहाँ छिन् भन्ने रामराजालाई थाहा छैन । 

‘मार्न खोजेकी थिइ तर म मरिनँ । अहिले ऊ कहाँ छ थाहा छैन । अदालतले धरौटीमा छोडिदियो भन्ने कुरा दाइको मुखबाट सुने । अहिले कहाँ छ, के छऽ मलाई थाहा छैन’, रामराजाले भन्नुभयो ।

आफ्नै मान्छेबाट धोका

नुवाकोटका रामराजा र धादिङकी प्रमिला न्यौपानेको २०६८ सालमा काठमाण्डौमा यात्राकै क्रममा भेट भएको हो ।

पहिलो भेटमै एकअर्काले नम्बर साटासाट गरे । यात्रामा भएको भेटपछि फोनमा कुराकानी हुन थाल्यो । कुराकानी सँगसँगै भेटघाट बढ्यो ।

प्रेम भयो र दुवैले बिहे गर्ने निर्णय गरे । २०६९ साल मङ्सिरमा काठमाण्डौको गोङ्गबुमा उनीहरुले बिहे गरे ।

बिहेपछि पनि दिन राम्रै गरी बितिरहेका थिए । प्रमिला घरको काम गर्ने, रामराजा गाडी चलाउने गर्दा खान बस्न पुगेकै थियो ।

गाडी चलाउने काम, प्रेमराजा कहिले घरमा आउने कहिले बाहिरै बस्नुपर्ने हुन्थ्यो । रामराजा बाहिर बस्दा प्रमिलाले शङ्का गर्न थालिन् ।

बिस्तारै रामराजा र प्रमिलाको मनमुटाव सुरु हुन थाल्यो । त्यही मनमुटावले २५ गते रातिको तेजाब घटनासम्म पुर्‍यायाे ।  

‘जसलाई मैले यति माया गरेको थिएँ, जसको आँखामा आफ्ना सपना देखेको थिएँ, उसैले मलाई आज यस्तो कुरुप बनाएर गइ । मैले यस्तो कल्पना नै गरेको थिएन । अहिले यस्तो अवस्थामा बाँच्नु परेको छ’, रामराजाले भन्नुभयो ।

थापालाई अहिले उपचार गर्न आर्थिक अभाव भएको छ । लगातारको अस्पताल बसाइ र ६ पटक अप्रेशन गर्दा आठ लाख रुपैयाँ खर्च भइसक्यो ।

रामराजाको उपचारकाे लागि  देश विदेशमा रहेका धेरै नेपालीले आर्थिक सहयोग गरे । एक/दुई सङ्घ संस्थाले पनि सहयोग गरे । तर नेपाल सरकारबाट कुनै सहयोग नपाउँदा उहाँलाई दुःख लागेको छ । 

‘भएको पैसा पनि सकियो । अझै कानको अप्रेशन गर्न बाँकी छ । दुःखमा पर्दा सरकारले सहयोग गर्छ भन्ने सुनेको थिएँ । हामीले सरकारबाट कुनै सहयोग पाएनौँ’, रामराजाका दाइ शुभरामले भन्नुभयो ।

मजदुरी गरी साँझ/बिहानको छाक टार्ने शुभराज अहिले भाइको उपचारमै व्यस्त हुनुहुन्छ । अस्पताल जानै पर्‍याे, रेखदेख गर्नै पर्‍याे । भएको पैसा सकियो, घाउ सञ्चो भएन । अबको पैसा कहाँबाट जुटाउने भन्ने चिन्तामा थापाको परिवार छ ।

‘यस्तो अवस्थामा सरकारले सहयोग गर्छ भन्ने सुनेको थिएँ । अलिकति सहयोग गरे पनि हामी जस्तो गरिबलाई सजिलो हुन्थ्यो’, उहाँले भन्नुभयो ।

जिल्ला अदालत काठमाण्डौले श्रीमतीलाई धरौटीमा छोडेकोप्रति रामराजाले आपत्ति जनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘अब जिन्दगीभरको यो दाग न धोएर जान्छ, न मेटेर । नेपालमा यस्ता अपराध गर्नेलाई कडा सजाय नहुँदा म जस्ता धेरै नेपालीले कुरुप अनुहार लिएर बस्नु परेको छ ।’

महिलामाथि एसिड आक्रमण हुँदा नेतादेखि कलाकारसम्म भेट्न अस्पतालमै पुग्छन् । तर रामराजा पाँच महिनादेखि अस्पतालमा हुँदा कुनै अधिकारकर्मी नआएकोमा उहाँ दुःखी हुनुभएको छ ।

‘कतिपय घाउ हौसलाले पनि निको हुन्छन् । धेरै महिला दिदीबहिनीलाई मेरो जस्तै घटना हुँदा सबै जना हौसला दिन अस्पताल पुग्नुहुन्छ ।

तर मलाई भने कसैले कस्तो छ सम्म पनि भनेर सोधी/खोजी गरेनन्, धेरै दुःख लागेको छ’, रामराजाले भन्नुभयो । 

अन्तिम अपडेट: भदौ ३, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया