अनि रोकियो बालविवाह

 भदौ ८, २०७७ सोमबार ६:३८:१० | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै - सानो खरले छाएको घर, माटोले लिपेको आँगन । त्यही आँगनमा बिहेको मण्डप । अनि बिहानैदेखि सुरु बिहेको रौनक ।

उत्साहित बेहुला बेहुली, खुसी आमाबुवा, रमाइलो वातावरण । कोरोनाकै कहरमा पनि आफन्तहरु जम्मा भए । बिहेको तयारी बिहान ४ बजेदेखि सुरु भए पनि बेहुला बेहुलीको मण्डपमा गरिने काम ९ बजेतिर सुरु भयो ।  पुरोहित मन्त्र पढिरहेका थिए ।

आफन्तहरु नाचगान गरिरहेका थिए । बिहान करिब ११ बजेतिर एक्कासी प्रहरी पुगे ।  प्रहरी देख्नेबित्तिकै बिहेको रौनक हरायो । मण्डपबाटै पुरोहितसहित बेहुला बेहुली पक्राउ परे । यो घटना अघिल्लो हप्ता बिहीबारको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोर र १६ वर्षीया किशोरीले उमेर नपुग्दै बिहे गर्दै थिए ।

इलाका प्रहरी कार्यालय धामपुरले बालविवाह हुन लागेको थाहा पाएपछि मण्डपबाटै पुरोहितसहित बेहुला, बेहुलीलाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले केटाकेटीलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगायो । अहिले उनीहरु आ-आफ्नो घरमा बसिरहेका छन् । 

सन्तपुरका १७ वर्षीय किशोर र नजिकैको गाउँकी १६ वर्षीया किशोरी एउटै विद्यालयमा कक्षा १० मा पढ्थे । एउटा कक्षामा पढ्ने उनीहरु एक वर्ष पहिलेदेखि नै प्रेममा परेका थिए । कोरोना महामारीका कारण चैत ११ गतेदेखि लकडाउन भएपछि विद्यालय बन्द भयो । उनीहरुको भेटघाट पनि रोकियो । फोनबाटै कुराकानी हुन थाल्यो ।

केटाकेटी दुवैको परिवारलाई उनीहरुको मायाको बारेमा जानकारी थियो । लकडाउनले विद्यालय खुल्ने पक्कापक्की नहुँदा उनीहरुले बिहे गर्ने निर्णय गरे । उनीहरुको निर्णयमा परिवार पनि राजी भए । केटाले साउन २८ गते राति केटीलाई भगाएर ल्याए ।

छोराले बुहारी भगाएर ल्याएपछि २९ गते नै परिवारले बिहे गरिदिने निर्णय गरे । तर, केटाकेटी दुवैको उमेर नपुगेको थाहा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपछि अभिभावकले बिहे नगराएरै केटाकेटीलाई आ-आफ्नो घरमा राख्ने भनेपछि अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ । अहिले उनीहरु आ-आफ्नो घरमा बसेका छन् ।

स्थानीयले छुटाए बाल बिहे गर्नेलाई

चैत २२ गते देशभर लकडाउन थियो । सबैजना कोरोना भाइरसको त्रासमा थिए । घर बाहिर जान त के तल्लो माथिल्लो घरमा जान पनि डर थियो । शहरमाभन्दा अझै त्रास गाउँमा थियो ।  यही बीचमा दैलेखको नौमूले गाउँपालिकाकी बिबा नामजाली मगरलाई भने अर्कै पीर थियो, उमेर नपुग्दै बिहे गरेका केटाकेटीलाई कसरी अलग गर्ने भन्ने ।

‘बालविवाह गर्न हुँदैन भन्दै दिनहुँ सम्झाउँछौँ, तर केटाकेटी मान्दैनन् । बिहे गरिसकेपछि अलग कसरी गराउने निकै चिन्ता हुन्छ’ बिबाले भन्नुभयो । २०७६ चैत २१ नौमूलेको द्वारीकाका १७ वर्षीय एक केटाले नौमूलेकै अर्को गाउँबाट १६ वर्षीया केटी भगाएर ल्याए ।

छोराले केटी भगाएर ल्याएको थाहा पाउने बित्तिकै केटाकी आमा बिबाकहाँ पुग्नुभयो । बिबा खाना खाएर सुत्ने तयारी गर्दै हुनुहुन्थ्यो । हतार-हतारमा आएकी केटाकी आमाले एकै स्वरमा भन्नुभयो, ‘छोरालाई जति सम्झाउँदा पनि लागेन । आखिर भगाएर केटी ल्याएरै छोड्यो, अब के गर्ने ?’

बिबाले उतिखेरै छलफल केन्द्रका सबै सहभागीलाई फोन गर्नुभयो । भोलिपल्ट चैत २२ गते बिहान सबै जम्मा भए । केटाकेटी दुवैलाई सँगै राखेर छलफल सुरु भयो । केटा केटीलाई सम्झाइ-बुझाइ गरेर उमेर नपुगुञ्जेलसम्म आ-आफ्नो घरमा बस्नुपर्ने कुरा भयो । तर केटाकेटी दुवै तयार भएनन् ।

‘हामीले बिहे गरिसक्यौं अब सँगै बस्छौँ, किन अलग बस्ने भन्दै दुवै जनाले सुरुमा भनेकै सुनेनन् । सम्झाउँदै जाँदा केटा तयार भए, केटी तयार भइनन्,’ त्यो दिन सम्झँदै बिबाले भन्नुभयो । बिबाले केटीलाई मनाउन उनको बुवालाई फोन गर्नुभयो । बुवाले पनि त्यसै भन्नुभयो, ‘हाम्रो इज्जत छैन र ? बिहे गरेकी छोरीलाई फर्काएर घरमा कसरी ल्याउनु ? 

सम्झाइबुझाइ गर्न समस्या भयो । पछि बुझदै जाँदा केटीका बुवा वडा नम्बर ६ को निर्वाचित वडा सदस्य भएको थाहा भयो । वडा सदस्यको पहलमा छोरीको उमेर पुगेपछि तिनै केटासँग बिहे गराइदिने सहमति भयो । र २३ गते बिहान छोरी लिएर फर्किए । 

नौमूलेकै कालिकाका १५ वर्षीय किशोरले चैत ४ गते गाउँकै १४ वर्षीया केटीलाई भगाएर घर ल्याए । २० वर्ष नपुगी बिहे गर्न नपाइने भन्दै सबै जनाले केटा र केटीलाई छुट्याएर राख्ने कुरा भयो । तर केटाका आमा बुवा र केटा केटी नै तयार भएनन् । सानै उमेरमा बिहे गर्दा शारीरिक, मानसिक समस्या हुने भन्दै सम्झाउँदा आमाबुवाले माने, तर केटाकेटी तयार भएनन् ।

उनीहरुलाई सम्झाउन निकै गाह्रो भयो । आमाबुवाले नै प्रहरीलाई खबर गर्छु भन्दा बल्ल केटाकेटी अलग बस्न तयार भए । २० वर्षपछि बिहे गर्ने निर्णयअनुसार ५ जोडी अहिले आ-आफ्नो घरमा बसिरहेका छन् । 

प्रहरीमा उजुरी कम

स्थानीय स्तरमा बालविवाह दिनहुँ भइरहे पनि प्रहरीमा उजुरी भने पर्दैनन् । प्रहरी प्रधान कार्यलय नक्सालका अनुसार देशभर गएको आर्थिक वर्ष २०७६/०७७ मा ६४ उजुरी मात्रै प्रहरीमा परेका छन् । जसमा सबैभन्दा धेरै प्रदेश नम्बर २ मा १३ वटा उजुरी परेका छन् भने प्रदेश नम्बर ५ मा  ११ वटा बालविवाहका उजुरी परेका छन् ।

यस्तै प्रदेश नम्बर १७, वाग्मती प्रदेशमा ९, काठमाण्डौ उपत्यकामा ५, गण्डकी प्रदेशमा ५, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा ५ वटा उजुरी परेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भने देशभर ८६ बालविवाहका उजुरी परेका थिए ।

प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका डीएसपी दिप्ती कार्की बालविवाह रोक्न प्रहरी मात्रै नभइ नागरिकको भूमिका पनि उत्तिकै आवश्यक रहेको बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया