एसईईमा नम्बर कम दिएकाे भन्दै विद्यार्थीले शिक्षक कुटेपछि विद्यालय बन्द

 भदौ १५, २०७७ सोमबार १४:३०:४३ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेपछि सिन्धुलीको सुनकोशी गाँउपालिका ७ मझुवामा रहेको गणेश मावि सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए । त्यसलगत्तै शिक्षकहरुको बसेको स्टाफ बैठकले सुरक्षाको माग गर्दै कार्यरत शिक्षकले अनिश्चितकालका लागि विद्यालय बन्द गराएका हुन् ।

विद्यालयका शिक्षक झलक दाहालले शिक्षकहरु विद्यार्थीबाटै असुरक्षित भएकोले बैठक बसी सुरक्षाको माग गर्दै अनिश्चितकालीन रुपमा विद्यालय वन्द गरिएको हो । शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै तीन जना विद्यार्थी कार्यालयमा प्रवेश गरी प्रअ सुनुवार र शिक्षक भण्डारीलाई कुटपिट गरेको उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘तीन जना छात्र सरासर कार्यालय कोठामा प्रवेश गरेर पहिला हेडसरलाई मुखमा हिर्काए र अर्का शिक्षकलाई लछारपछार गरे । कुटपिटबाट प्रअ सुनुवारको मुखमा गम्भीर चोट लागेको छ, नाथ्री फुटेर रगत बगेको र ओठ समेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।’

स्थानीय स्वास्थ्य चौकीमा दुवै जना शिक्षकको प्राथमिक उपचार गरिएको छ । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको र तिनैमध्येका तीन जनाले कुटपिट गरेको विद्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया