बैतडीमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्दै

 भदौ १६, २०७७ मंगलबार २०:२२:५८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी –  बैतडीमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।

गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिएकाे स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पाटन नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जना, दोगडाकेदार गाउँपालिकाका चार महिला र दुई पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका एक महिला, पञ्चेश्वर गाउँपालिकाका एक पुरुष र सिगास गाउँपालिकाका एक महिलामा स्क्रब टाइफस पुष्टि भएको जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले बताउनुभयाे ।  

गएकाे आर्थिक वर्षमा बैतडीमा ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । 

माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

यस्तै बैतडीमा डेङ्गीका बिरामी पनि देखिन थालेकाे स्वास्थ्य कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जनामा डेङ्गी रोग देखा परेको जोशीले बताउनुभयो । डेङ्गी एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले टोकाइबाट बच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबर आउने लगायतका लक्षण देखा पर्छन् भने डेङ्गी भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । 

अन्तिम अपडेट: चैत ५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया