सामूहिक बलात्कारपछि गाउँमै असुरक्षित, दुई बहिनीसहित किशोरी काठमाण्डौमा

 भदौ १७, २०७७ बुधबार ११:११:५९ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै – बिरानो सहरमा सबै कुरा नौलो लाग्छ । दिनहुँ गाउँघर, खेतबारी गरिरहने उनलाई कोठाभित्रै बसिरहँदा उकुसमुकुस भएको छ ।

भर्खर १५ वर्षकी भइन् । एउटी बहिनी १३ वर्षकी छिन्, अर्की १० कि । आफू र दुई बहिनीको चिन्ताले बारम्बार झस्काइरहन्छ ।

धेरै कुरा बुझिसक्ने उमेर नै भएको छैन । तर उनलाई एउटै प्रश्नले सताइरहन्छ ‘हामीले किन गाउँ छोड्नुपर्यो ?’

मोरङका यी किशोरीको प्रश्नभन्दा गहिरो र गम्भीर छ, उनले भोगेको पीडा र व्यथा । सानैमा बुवा गुमाउनुपर्यो, आमा विदेशमा हुनुहुन्छ ।

दुई बहिनीको रेखदेख गर्ने जिम्मा उनको काँधमा छ । सानैमा यति ठूलो जिम्मेवारी बोकेकी उनीमाथि अत्याचार भयो । बलात्कृत हुनुपर्यो, त्यसपछि गाउँ निकाला । 

अहिले उनी बहिनीहरुसँगै काठमाण्डौमा सानीआमासँग बसेकी छिन् । उनलाई गाउँ फर्कन मन छैन ।

‘मलाई गाउँ फर्कन मन छैन । बरु केही काम गरेरै भए पनि यहीँ बस्छु । अपराधी गाउँमै छन् । फेरि गाउँ फर्कें भने तिनीहरुले बहिनीहरुलाई पनि बाँकी राख्दैनन्,’ गहभरी आँसु पार्दै १५ वर्षीया किशोरीले भनिन् ।

घटना यस्तो थियो 

घटना भएको ठ्याक्कै दिन उनलाई थाहा छैन । चैतको अन्तिमतिर हो, रातिको ९ बजेको थियो । छिमेकीको घरमा लाखबत्ती बाल्ने तयारी हुँदै थियो । त्यही लाखबत्ती बाल्ने दिनमा छिमेकी काकीले उनी लगायत साथीहरुलाई नाच्नुपर्छ भनेकी थिइन् । त्यसैको तयारीका लागि घर नजिकैको अर्को घरमा उनी साथीहरुसँग नाच्न सिक्दै थिइन् ।

त्यही बेला गाउँकै इन्द्र राई आए । उनले ‘तिम्रो आमाले ईमोमा कल गरेको छ । तिमीलाई बोलाइदिनु भन्नुभएको छ’ भन्दै बोलाए । उनी खुसी हुँदै हो र भन्दै हतारिंदै गइन् । सँगै इन्द्र राई र लक्ष्मण राई थिए । त्यो ठाउँबाट इन्द्रको घर १० मिनेट टाढा छ ।

तर उनले आफ्नो घर नभइ नजिकैको खोलामा लगे । त्यहाँ अरु तीन जना थिए ।  त्यहाँ पुग्नेबित्तिकै पाँच जनाले जबर्जस्ती गरे । 

‘मैले चिच्याउन खोज्दा मुख नै बन्द गरिदिए । दुईजना त चिनेकै थिएँ । अरु चिनेको थिइनँ । चिनेको दाइलाई दाइ यसो नगर्नुहोस् भन्दा मानेन’ उनले त्यो कहालीलाग्दो क्षण सम्झिइन् । 
जबर्जस्ती गरेपछि उनीहरु यो कुरा कसैलाई भनिस् भने मारिदिन्छु भन्दै आआफ्नो बाटो लागे ।

त्यो घटना सम्झँदै उनले भनिन्, ‘पछि त म उठ्नै सकिनँ । शरीरमा पुरै रगत थियो । कसैलाई नभनी चुपाचाप घर फर्किएँ ।’

उनले यो कुरा कसैलाई भनिनन् । घटना त्यतिमै सीमित रहेन । त्यसपछिका हरेक दिन इन्द्र र लक्ष्मण उनलाई बोलाउन थाले । तर उनी भने डराएर घरबाट बाहिर नै ननिस्कने भइसकेकी थिइन् । उनी बाहिर नजाँदा घरमै आउन थाले ।  तिमी नआए तिम्रो बहिनीलाई फकाएर बोलाउँछु, तिम्रो सानो बहिनीलाई पनि छोड्दिन भन्दै धम्की दिन थाले । 

अभिभावक नभएका तीन जना दिदी बहिनीहरुलाई घरमा बस्न एक्लै डर लाग्न थाल्यो । तर डराइ डराइ भए पनि घरमा बस्नुको विकल्प थिएन ।

उनको घरमा पटकपटक केटाहरु आउँदा गाउँलेहरुलाई पनि शंका लाग्न थाल्यो । पटकपटक बोलाउँदा उनी घरबाट ननिस्केपछि इन्द्र राईले छिमेकीसित आफूसँग सम्बन्ध रहेको बताउन थाले ।

घरमा तीन दिदीबहिनी मात्रै बस्थे ।  बुवाको डेढ वर्षअघि निधन भइसकेको थियो । आमा विदेश । उनीहरुको हेरचाह गर्ने कोही थिएन । 

हजुरआमा, हजुरबुवा भए पनि उनीहरु अलग बस्थे । दुईजना बहिनीको हेरचाह गर्ने जिम्मा उनैको थियो । 

घटना भएको दुई महिनापछि उनको पेट दुख्न थाल्यो । महिनावारी पनि रोकियो । अब यो समस्या कसलाई भन्ने ? 

उनले महिनावारी रोकिएको कुरा हजुरआमालाई भनिन् । हजुरआमाले कसको पाप बोकिस् भन्दै उल्टै कराउनुभयो । नातिनीको कुरा नसुनेर गाउँलेलाई सुनाउनुभयो । 

पछिल्लो दिन गाउँले जम्मा भए र केरकार गरे । इन्द्र, लक्ष्मण र उनीहरुका साथीहरुले आफूलाई जबर्जस्ती गरेको र कसैलाई भनेमा आफूसहित बहिनीहरुलाई मारिदिने धम्की दिएको बताइन् ।  

जेठ १० गते किशोरीका हजुरबुवाले जिल्ला प्रहरी कार्यालय मोरङमा इन्द्र र लक्ष्मण बिरुद्ध जाहेरी दिनुभयो । प्रहरीले चार जनालाई पक्राउ ग¥यो । र किशोरीलाई जिल्ला अस्पतालमा लगियो । 

अस्पतालमा जाँच गर्दा उनको पेटमा ३ हप्ताकोे बच्चा भएको थाहा भयो । यसले बालिकालाई समस्या हुने भन्दै गर्भपतन गराइयो ।

गाउँलेले नै बस्न दिएनन्
अस्पतालबाट घर फर्केपछि गाउँलेले नै घरमा बस्न नदिएको किशोरीले बताइन् । उनका अनुसार गाउँका कतिपयले तिनै केटाको जिम्मा लगाइदिने कुरा गरे । 

‘हजुरबाले पनि १ लाख रुपैयाँ दिन्छन् मिलेर बस, नभए घरै छोडेर गइहाल भन्नुभयो । गाउँका अरु महिला पनि गिज्याउन थाले, गाउँमा बस्नै गाह्रो थियो’ उनकी सानीमाले भन्नुभयो ।

आमाबुवा नभएका तीनजना बालिकालाई यस्तो अवस्थामा देख्दा गाउँकै एक जनाले कुवेतमा उनकी आमालाई खबर गरिदिए ।

आमाले छोरीहरु समस्यामा परेको कुरा काठमाण्डौमा रहेकी बहिनीलाई खबर गरिन् । दिदीले छोरीको समस्या सुनाएपछि काठमाण्डौमा बस्ने बहिनी वैशाख ७ गते मोरङ जानुभयो ।

सुरुमा त मोरङ जान समस्या भयो । कोरोना संक्रणबाट बच्न लकडाउन लगाइएको थियो । 

‘कोही नहुनेको भगवान हुन्छ भन्छ नि, हो रहेछ । मलाई ठ्याक्कै मोरङ जाने गाडी मिल्यो,’ उहाँले भन्नुभयो ।

वैशाख ७ गते नगरपालिकाले काठमाण्डौमा समस्यामा परेकाहरुलाई गाउँ फर्काइरहेको थियो ।  

किशोरीकी सानिमा ललितपुरको महालक्ष्मी नगरपालिकामा जानुभयो र आफ्नो समस्या सुनाउनुभयो । नगरपालिकाले सिफारिस दिएर वैशाख १२ गते मोरङ पुग्नुभयो ।

‘गाउँमा पुग्दा छोरीहरुको यस्तो अवस्था थियो कि कसरी भनौं । एकातिर लकडाउन अर्कोतिर गाउँमा बस्न समस्या । केटाका आफन्तहरुले गाउँ नै छोडेर जान धम्की दिइरहेका थिए’ उहाँले भन्नुभयो ।

‘नानीहरुको घर नै जंगलको बीचमा थियो । न त बलियो झ्याल ढोका, न कोही आफन्त, हेर्दै डर लाग्ने त्यस्ता केटाहरु भएको ठाउँमा उनीहरु त निकै जोखिममा थिए,’ उहाँले थप्नुभयो ।

उहाँले तीनै जना छोरीहरु लिएर इटहरी जानुभयो । लकडाउनका कारण काठमाण्डौ फर्कने गाडी थिएन । गाउँमा बस्न डर थियो । छोरीसहित उहाँ इटहरीमा कोठा लिएर बस्नुभयो । 

असार १२ गते लकडाउन केही खुकुलो भएपछि उहाँ छोरी लिएर काठमाण्डौ फर्कनुभयो । 

कुवेतबाट आमाको चित्कार : हामीलाई न्याय चाहिन्छ

छोरीहरुको खबरले कुवेतमा रहनुभएकी आमा तनावमा हुनुहुन्छ । 

कुवेतबाट उज्यालोसँग इमोमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो खबर सुनेदेखि न त खाना खाएको छु, न त निद्रा लाग्छ । नेपाल आउन सकिने अवस्था छैन । के गर्नु गरिबको कोही हँुदैन ।’
‘म दलित, श्रीमान चौधरी हामीलाई त त्यो समाजले पहिलेदेखि नै स्वीकारेको थिएन । अहिले मेरै छोरीमाथि यस्तो घिनलाग्दो काम गरे,’ उहाँले रुँदै व्यथा पोख्नुभयो ।

‘अपराधीलाई नाबालक भनेर छोड्ने, मेरो छोरीलाई गाउँमै बस्न नदिने यो कस्तो नियम हो । हामीलाई न्याय चाहिन्छ । अपराध गर्दा बालक हुँदैनन्, सजाय दिदा कसरी बालक हुन्छन् ?’ उहाँले भन्नुभयो । 
छोरीहरुकै भविष्यको लागि विदेश जानुभएकी उहाँलाई अहिले किन छोरीहरुलाई एक्लो छोडेर हिँडेछु भन्ने पछुतो लागेको छ । 

दुई जना पुर्पक्षको लागि थुनामा

किशोरीमाथि सामूहिक बलात्कार गर्ने ५ जनामध्ये ४ जनालाई जेठमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एकजना अझै फरार छन् । 

पक्राउ पर्नेमा गाउँकै इन्द्र राई, लक्ष्मण राई र उनीहरुका साथी कुमार राई, सन्देश लिम्बु रहेका छन् भने रोशन मगर फरार छन् । 

पक्राउ परेकाहरुलाई सोधपुछ गर्दा सबैले बलात्कार गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला अदालत मोरङले वैशाख ३१ गते फैसला गरी मुख्य अपराधी इन्द्र राई र लक्ष्मण राई नाबालक रहेको ठहर गरी अभिभावकको जिम्मा लगाएको छ । यस्तै  कुमार राई र सन्देश लिम्बुलाई पुर्पक्षका लागि थुनामा राखेको छ । 

गाउँ निकाला गरेको कुरा झुट हो : वडाध्यक्ष

किशोरीहरुलाई गाउँबाट निकालेको भन्ने कुरा झुटो भएको वडाध्यक्ष मुरारीलाल विश्वास थारुले बताउनुभयो । 

अभिभावक नभएका किशोरी आफ्नै घरमा असुरक्षित हुनु दुःखद भएको तर, समाजले गाउँमा बस्नै नदिएको भन्ने कुरामा सत्यता नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उनीहरु जोखिममा चाहिँ थिए । एकान्तमा घर, अभिभावक कोही थिएनन् । योभन्दा अघि पनि केटाहरु तिनको घर गइराख्ने रहेछन् । मलाई पछि थाहा भयो ।’

अध्यक्ष थारुले किशोरीहरु गाउँ फर्किएमा समस्या समाधान र सुरक्षाका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

2 Comments

  • John

    Sept. 9, 2020, 12:42 a.m.

    बलात्कार गर्न सक्ने आँट भएको मान्छेलाई नावालक भनेर आमावाबुको जिम्मा लगाइयो रे , हा हा हा अचम्म छ / वलात्कार गर्न चाहिँ नावालक नहुने, कारवाहीको कुरा आउँदा नावालक भयो / यो सब बलात्कारी र आफन्त अनि पुलिसको चलखेल हो / मान्छे मिले, बलात्कार गरे अनि पुलिसले समातेर आमावाबुको जिम्मा लगाए हैन, अब त्यो नावालिकाको हालत के भयो त ? थुक्क हाम्रो देशको प्रशासन ...जसको शक्ति त्यो संधै माथि ..नावालक भनेर हुन्छ, बलात्कार गर्न सक्नेलाई कारवाही गर्नेपर्छ /कम्तिमा नावालिकको परिवारलाई ५/५ लाख बलात्कारीवाट असुलेर दिनुपर्छ /

  •  0 Reply
  • Shyam Thapa

    Sept. 2, 2020, 11:55 a.m.

    यस्ता अपराधीलाई यत्तिकै छोड्न हुन्न /

  •  0 Reply

तपाईको प्रतिक्रिया