पर्यटकको खचाखच हुने कञ्चनजङ्घा क्षेत्र सुनसान बन्यो

 भदौ १९, २०७७ शुक्रबार १७:२:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

सुनसान खम्बछेन

ताप्लेजुङ –अघिल्ला वर्षहरूमा भदौ महिना शुरु नहुँदै कञ्चनजङ्घामा विदेशी पर्यटक आउने गरेका थिए । कञ्चनजङ्घा संरक्षण क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार पारिन्थ्यो । ​होटेलहरु पर्यटकले भरिभराउ हुन्थे । तर, यसपटक पर्यटकीय सिजन शुरु भइसक्दा पनि पर्यटक देखिएका छैनन् । दैनिक ५० देखि दुईसय सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने कञ्चनजङ्घा क्षेत्र यति बेला सुनसान बनेको छ । 

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण पर्यटक आउन नपाएपछि कञ्चनजङ्घा संरक्षण क्षेत्र सुनसान बनेको हो । कञ्चनजङ्घा मात्र होइन देशका पर्यटकीय गन्तव्य अहिले पर्यटकको पर्खाइमा रहेका छन् । 

विश्वको तेश्रो तथा देशको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घाले पर्यटकलाई पर्खिरहेको छ । विगतका वर्षहरूमा विदेशी पर्यटक आउने यो समयमा अहिले पर्यटक देख्न नपाएको त्यस क्षेत्रका होटल व्यवसायीहरु बताउछन् । कोभिडको सङ्क्रमणबाट जोगिन विभिन्न देशले अर्को देशमा आवत जावतमा  रोक लगाएपछि विश्वभरका पर्यटक घुमफिर गर्न आएका छैनन् । 

त्यसमाथि नेपाल सरकारले हवाई सेवामा रोक लगाएपछि पर्यटक भित्रिने मूलढोका नै बन्द गरेका कारण पनि पर्यटक नआएको व्यवसायीको गुनासो छ । पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा कञ्चजङ्घा संरक्षण क्षेत्रका व्यवसायीहरूको रोजिरोटी नै गुमेको छ ।

पहिलो चरणको लकडाउन सकिएपछि गएको साउन ७ देखि खुल्ला गरेको सरकारले १५ साउनदेखि होटेल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङलगायत पर्यटनसम्बन्धी व्यवसाय खुला गरेको थियो । पर्यटन मन्त्रालयले भदौ एक गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने र विदेशी पर्यटकलाई घुमफिर गर्न आउन दिने रणनीति बनाइरहेको थियो ।

मन्त्रालयले पर्यटन व्यवसायको सुरक्षा प्रोटोकल पनि बनाइसकेको थियो । विदेशी पर्यटकलाई कसरी नेपाल प्रवेश गराउने र घुमफिर गर्न दिने भनेर रणनीति बनाइरहेका बेला कोरोना सङ्क्रमित ह्वात्तै बढ्न थालेपछि अहिले देशमा प्राय जसो लकडाउन वा निषेधाज्ञा जारी गरिएको छ । सरकारले १७ भदौदेखि सिमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । तर, यी उडानमा विदेशी पर्यटक नेपालमा घुमफिर गर्न आउन पाउने छैनन् ।

ताप्लेजुङमा भने कोरोना संक्रमित अहिलेसम्म फेला परेका छैनन् । । विदेशबाट आएकाहरुलाई क्वरेण्टीनमा राखेर मात्र समाजमा जान दिने व्यवस्था गरेकाले पनि अहिले कोरोना संक्रमणबाट जिल्ला बचेको छ । विदेशबाट आएका ५ जनामा कोरोना देखिए पनि सबै निको भएर घर फर्किसकेकाका छन् । पर्यटकको पर्खाइमा घञ्चनजङघा संरक्षणबासी

​कञ्चनजङ्घा संरक्षण क्षेत्रका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । कहिले कोरोनाको औषधि आउँछ अनि सहज वातावरण हुन्छ र पुनः पर्यटकको चहलपहल होला भन्ने पर्खाइमा छन् घञ्चनजंघा संरक्षणबासी ।

कञ्चनजंघा संरक्षण क्षेत्रको घुन्सामा यतीबेला होटलहरुमा पर्यटकको चहलपहल हुने गरेको थियो ।  गएको वर्ष यही समयमा होटेलका बेडहरु भरीभराउ हुने गरेका थिए । घुन्सामा शेर्पा गेष्टहाउस संचालन गरेर बस्तुभएका छेतेन ठण्डु शेर्पा पर्यटक नआएर अहिले गेष्ट हाउस खाली भएको बताउनुहुन्छ । 

होटल व्यवसायी शेर्पाका अनुसार ‘अहिले त सिजनमै सबै होटेल खाली छन् ।’ घुन्सामा पर्यटक आवतजावत गर्दा चहलपहल हुने गरेको थियो ।  स्वदेशी तथा विदेशी पर्यटकको आवत जावतले सबै होटल व्यवसायीको व्यवसाय राम्रै हुन्थ्यो । तर, यो वर्ष पर्यटक आउजाउ ठप्प भएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र विकास समितिका (केक्याप) का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार यो सिजनमा दैनिक आन्तरिक तथा बाह्य गरी दुई सय पर्यटक संरक्षण क्षेत्र पुग्ने गर्थे । संरक्षण क्षेत्रको घुन्सामा ४५ घरमध्ये १२ वटा होटल, घुन्सादेखि माथि रोनार्कमा ६, सेलेलेमा २, ग्याव्ला, फलोन ५ होटल रहेको होटल व्यवसायी छेतेन डण्डु शेर्पाले बताउनुभयो । कञ्चनजंघाको वेस क्याममा  उता, सेखाथुममा एक करोड लगानी गरेर बनाएको होटेल अहिले सुनसान भएको सेकाथुमका होटल व्यावसायी ग्याबु शेर्पाले बताउनुभयो ।  

कञ्चजङ्घा संरक्षण क्षेत्रका आकर्षणहरु

​कञ्चजङ्घा संरक्षण क्षेत्रमा विशेस गरेर  लुङथुङ झरना, पर्यटकीय बस्ती ओलाङचुङगोला, चार सयबर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, पर्यटकीय बस्ती घुन्सा लगायत दर्जनौ पर्यटकीय स्थानहरु रहेका छन् ।  विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चजंघा (८५८६ मिटर) हिमाल प्रमुख आकर्षक रहेको छ ।  

त्यस क्षेत्रमा रहेको सिजेमा तालको अवलोकनका लागि आउने गर्छन् । यो संरक्षण क्षेत्रमा विशेष गरी डेनमार्क, चीन, बेलायत, इजरायल, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । कञ्चजङ्घा संरक्षण क्षेत्रका अध्यक्ष फेम्बुका आनुसार संरक्षण क्षेत्रमा वार्षिक विदेशी पर्यटक मात्र १ हजार बढि आउने गरेको बताउनुभयो । 

संरक्षण क्षेत्रका होटल व्यावसायी खान नपाउने अवस्थामा

हिमाली पर्यटकीय गाउँ घुन्सामा संकलन गरेको खाध्य सामाग्री सकिँदै गएको छ । लामो समयदेखि होटल चलाउँदै आउनुभएका घन्साका छेतेन डण्डु शेर्पा यो बस्तीका ४५ घर तथा ग्याव्ला, फले, खम्बछेन, सेलेले, रोनार्क जस्ता क्षेत्रका बस्तिका सयाैं परिवारले खान नपाउने अवस्था आएको बताउनुहुन्छ । यी क्षेत्रमा कुनै उत्पादन छैन । यी क्षेत्रमा आलु उत्पादन भए पनि यस वर्ष धेरै पानी परेका करण आलु उत्पादन समेत नभएको शेर्पाले बताउनुभयो । 

लकडाउन भएको ६ महिना बितिसकेको छ । यस अवधिमा भण्डारण गरिएको खाध्यान्न समेत सकिएको र होटल व्यवसाय समेत नचलेका कराण खाध्यन्न समेत किन्न नसकेको उहाँको भनाइ छ । 
पर्यटन व्यवसाय ठप्प भएकाले वैकल्पिक पेसा समेत नभएकाले भोकमरी हुने अवस्था आएको उहाँको भनाइ छ ।

‘जग्गा जमिन समेत छैन भए पनि हिमाली क्षेत्र भएकाले केही उत्पादन नहुने भएकाले अर्को बैकल्पिक खेती समेत गर्न सकिदैन’, उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया