आत्महत्याको बाटोबाट फर्किएकाहरुले देखेको सुन्दर संसार

 भदौ २५, २०७७ बिहिबार १०:५७:३५ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । गएको चैत १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् । कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर कतिपयले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा धेरैको ज्यान जाने गरेको छ । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ । 

लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ । समस्यालाई बाँड्न सके तनाव कम हुने र आत्महत्या रोक्न सकिने विज्ञले बताएका छन् । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ । 

आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको हुन्छ । त्यस्ता व्यक्तिलाई बेलैमा सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिन्छ । आत्महत्याको बाटो रोजेका कतिपयले आफैँ मनोपरामर्शकोमा पुगेर ज्यान जोगाउन सफल भएका छन् ।

यस्तैमध्ये दुई जनाको अनुभव :

अनुभव १ :

म मरेको भए आज यो सुन्दर संसारमा हुने थिइनँ । बाँचेर थाहा पाएँ, जिन्दगी के हो र कसरी जिउनुपर्छ भनेर । अहिले मलाई कोरोना सङ्क्रमण हुन्छ कि, यही रोगले पो मरिने हो कि भन्दै ज्यानको माया लाग्न थालेको छ । 

मर्नु समस्याको समाधान हैन रहेछ । म जस्तै कतिपयलाई लाग्दो हो बरु मर्नु नै बेस । तर हैन रहेछ । म भन्छु जिन्दगीमा हाँसेर बाँच्नु जति रमाइलो रोएर बस्नु हैन रहेछ । 

अहिले जस्तै पहिले मलाई ज्यानको माया लागेको हुँदो हो भने म आफ्नो जिन्दगीलाई डोरीमा झुण्ड्याउने प्रयास गर्ने थिइनँ । रुखमा डोरीले झुण्डिएर जीवन सकाउने योजनासहित आजभन्दा ५ वर्ष पहिले आत्महत्या गर्न तयार भएकी थिएँ । तर म मर्न सकिनँ।

रुखमा डोरी लगाएर मर्न तयार नभएकी हैन । खै, कसरी एकाएक छोराछोरीको माया लागेर आयो । र, मर्न सकिन फेरि घर फर्किएँ । मेरो घर सल्यान हो । मेरो विवाह सानै उमेरमा भयोे । मेरो श्रीमान छारे रोगी हुनुहुन्थ्यो ।  यो रोग सर्छ भनेर कसैले पनि वास्ता गर्नु हुँदैन थियो । 

विवाहको एक वर्षपछि परिवारले छुट्याउन खोजे । तर, मैले मानिँन । गाउँमा अरुले पनि कुरा काट्न थाले । म र मेरो श्रीमान देख्ने बित्तिकै मान्छे टाढैबाट भाग्न थाले । बिहे गरेको केही वर्षपछि छोरी जन्मिइन् । श्रीमानलाई छारे रोगले छोपी रहने, सबैले अपहेलना गर्थे । घरमा साना छोराछोरी, आर्थिक अवस्था कमजोर भएकाले मलाई दिक्दारीपनको समस्या भयो  । 

त्यसैमाथि श्रीमानले दिनदिनै रक्सी पिएर सताउन थाल्नुभयो । मलाई के गरौँ, कसो गराैँ  हुन थाल्यो । त्यसपछिका दिनहरु मेरा लागि कष्टकर हुँदै गए । एक्लै बस्न मन पर्न थाल्यो । कसरी बाँच्नु, जिन्दगी सोचेजस्तो नहुँदो रहेछ । अब बाँचेर काम छैन भन्ने सोच मनमा आउन थाल्यो । 

यस्तै भैरहेको बेला म कता कताबाट मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालमा जोडिन पुगेँ । सुरुमा फोनबाट समस्या राखेँ । एकदिन सीएमसी नेपालको कार्यक्रममा पुगेँ । त्यहाँ सबै समस्या भएकाहरुको मनका कुराबारे छलफल भएको रहेछ ।

मैले पनि मेरो मनका कुरा भन्दै गएँ । मन हल्का भयो । पछि औषधि खाएँ । औषधि र परामर्शले मेरो समस्या पूरा निको भएको छ । अहिले म ठिक छु । छोराछोरीको हेरचाह गरेर घरमै बसेकी छु । मेरो जस्तै समस्यामा अरु पनि हुनुहोला । तर मेरो आग्रह छ, जीवन सकाउने प्रयास नगर्नुहोला । सुख, दुःख सबैलाई हुँदो रहेछ । दुःखसँग जुध्न सकेपछि जीवन रमाइलो हुँदो रहेछ ।

अनुभव २ :

स-साना कुरामा पनि चिन्ता, तनाव, उदासीपन भइरहन्छ । यही चिन्ता, तनाव र डिप्रेशनमै खुसी भएर बाँच्न सक्नु नै जिन्दगी रहेछ । आजभन्दा ८ वर्ष पहिले मेरा हरेक दिन डिप्रेशनमै बित्थे । मरौँ कि बाँचौँ भन्ने दोधार हुन्थ्यो ।अहिले म डिप्रेशनलाई साइड लगाएर जिउने भएकी छु ।

जुनबेला म डिप्रेशनमा परेँ, त्यतिबेला मेरा दिन आँसु र तनावमै बिते । न निद्रा लाग्थ्यो, न त भोक । काम गर्न मन पनि लाग्दैन थियो । रातको सन्नाटा र शून्यतादेखि यति डर लाग्थ्यो कि त्यति मसानघाटदेखि डर लाग्दैनथ्यो । मलाई हेर्दा त्यस्तो समस्या थिएन । तर मन खुसी थिएन । लाग्थ्यो रात नभइ दिएको भए हुन्थ्यो । जब रात पथ्र्यो, तब मलाई लाग्थ्यो मेरो जिन्दगीका विरुद्ध आन्दोलन गरौँ । हाँस्न छोडिदिउँ, बाँच्नै छोडिदिउँ ।

फेरि आफैँले आफैँसँग प्रश्न गर्थेँ, यो जिन्दगी किन सखाप पारौँ ? यस्तै मन्थन र प्रश्नले मनमा कुस्ती खेल्थ्यो । त्यही मनले एकदिन उत्तर दियो, तँलाई मर्न यति रहर छ भने आजसम्म बाँच्नुको के अर्थ ? जीवनको कुनै कुनामा खुसीको बीउ उम्रिँदैन भने बाँच्नुको के अर्थ ?

म दोधारमा पर्थेँ। योगा, विपासना तथा परामर्शले यो समस्याबाट छुट्करा पाइन्छ भन्ने सुनेकी पनि थिएँ । तर, कहाँ जाने कसरी गर्ने थाहा थिएन । मैले धेरैपटक मर्ने प्रयास पनि गरेँ, तर मर्न सकिनँ । मलाइ के भएको थियो थाहा थिएन । एकदिन गाउँमा एउटा कार्यक्रममा पुगेको थिएँ । त्यहाँ मैले भोगिरहेकै समस्याको विषयमा छलफल भैरहेको थियो । 

त्यसपछि मैले थाहा पाएँ यो त मानसिक समस्या पो रहेछ । त्यसपछि म सीएमसी नेपालमा पुगेँ । त्यहाँ मलाई धेरै काउन्सिलिङको गर्नुपर्यो । अहिले म एकदम स्वस्थ छु । मलाई मर्नुभन्दा बाँच्न मन लाग्छ । मलाई दोस्रो जीवन दिने मनोचिकित्सक, मनोपरामर्शदाता लगायत सबैलाई धेरै धन्यवाद । 

आत्महत्या गर्न खोज्नेलाई बचाउन सकिन्छ

मनोचिकित्सक शालिग्राम भट्टराई 

विभिन्न अध्ययनले के देखाएको छ भने आत्महत्या गर्नेमध्ये २५ देखि ३० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याका कारण आत्महत्या गर्छन् ।

नेपालको हकमा कुरा गर्दा उदास, चिन्ता, लागुपदार्थ सेवनलगायतका कारण आत्महत्या गरेको पाइन्छ । कोही एक्कासी आवेशमा आएर पनि आत्महत्या गर्ने गर्छन् । बद्लिँदो जीवनशैली अनुसार मान्छेका इच्छा, आकांक्षा धेरै हुन्छन् । तीमध्ये कतिपय पूरा हुँदैनन् । अर्को कुरा अहिले देखासिकी पनि बढेको छ । 

अरुले राम्रो गरेको छ भने म पनि त्यस्तै गराैँ भन्ने चाहन्छन् तर हुँदैन । यस्तै कारण मानिस आत्महत्या गर्छन् । मान्छे जब म केही गर्न सक्दिनँ, मेरो संसारमा कोही छैन, मैले बाँचेर के गर्नु भन्ने खालका कुरा मनमा खेलाउँछ, दीर्घकालिन रोगहरुबाट ग्रसित छ भने त्यस्ता मानिसमा आत्महत्याको सोच विकास हुन्छ । उनीहरुले आत्महत्या गर्ने सम्भावना पनि बढी हुन्छ । 

यस्ता घटनाहरु रोकथामका लागि सबैभन्दा पहिले जनचेतना नै हो । पहिलेभन्दा अहिले नेपाल सरकारले आत्महत्या रोकथाममा चासो दिएको छ । वडास्तरदेखि पालिकामा पनि मनोसामाजिक स्वास्थ्यका विषयमा ध्यान दिन थालिएको छ ।  अहिले वडामै पनि सचेतनाका कार्यक्रमहरु भइरहेका छन् । यसमा व्यक्ति, परिवार, समाज सबै क्षत्रको भूमिका महत्वपूर्ण हुन्छ । 

आत्महत्या गर्ने मान्छेले कुनै न कुनै सङ्केत गरेकै हुन्छ । परिवारभित्र, साथीभाइ, आफन्तजनहरुमा कुरा गर्दा नै उसले सङ्केत देखाइरहेको हुन्छ । कसैले बाँच्न मन छैन भनेको हुन सक्छ । कसैले म निकै तनावमा छु, मलाई समस्या छ भनेको हुन सक्छ । 

अहिले धेरैजना सामाजिक सञ्जालको पहुँचमा छन् कतिपयले यस्ता कुरा स्टाटस लेखेर पोस्ट पनि गर्छन् ।  परिवार, आफन्त साथीभाइले सानो कुरामा पनि ध्यान दिएर उसलाई हौसला दिने हो भने त्यस्ता व्यक्तिलाई आत्महत्यामा जानबाट रोक्न सकिन्छ ।

अन्तिम अपडेट: असोज २०, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया