विदेशमा बसेर स्वदेशमा सहयाेग अभियान चलाउने पवित्रा भन्नुहुन्छ, ‘भाेकाे पेटले नै भाेकलाई चिन्छ’

 भदौ ३१, २०७७ बुधबार १२:९:४ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डाै – मन भएकाहरुले जहाँ रहेर पनि समाजसेवा गर्न सक्छन् । विभिन्न देशमा काम गरिरहेका मनकारी नेपालीहरुले स्वदेशमा दुःख पीडामा परेकाहरुलाई यसैगरी सेवा गरिरहेका छन् ।

विदेशमै बसेर नेपालीहरुको सेवाका लागि अभियानमा लाग्नेमध्ये एक जना हुनुहुन्छ, पवित्रा गौतम । धनकुटाको बुधबारेकी पवित्रा अहिले इजरायलमा हुनुहुन्छ । इजरायलबाटै उहाँले विभिन्न व्यक्ति र संघसंस्थासँग मिलेर नेपालमा समस्यामा रहेका दुःखमा परेका गरिबहरुलाई आर्थिक सहयोग गर्नुहुन्छ । 

‘हामीले गरेको सानो सहयोगले कसैको पेट भरिन्छ, औषधि पाउँछ भने त्योेभन्दा ठूलो खुसी के हुन्छ र ? यसैले पनि हामी विदेशबाटै सहयोग गरिरहेका छौँ’, पवित्राले उज्यालोसँग भन्नुभयो । 

पवित्राले दुःखी गरिबका लागि मात्र हैन, राष्ट्रियस्तरका विकास निर्माणका काममा पनि सहयोग जुटाउने अभियानको नेतृत्व गर्दै आउनुभएको छ ।

नेपाली मनका धनी छन् 

पवित्राले सामाजिक सञ्जालमार्फत अभियान चलाएर विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुमार्फत पैसा सङ्कलन गर्नुहुन्छ । ‘नेपालीहरु साँच्चै मनका धनी हुन्छन्, गरिबहरुको आँखाबाट बगेको आँसु देख्दा खाडीमा आफूले बगाएको पसिना भुल्छन् र सहयोगका लागि अघि बढ्छन्’, उहाँले आफ्नाे अनुभव सुनाउनुभयो । 

यसरी आर्थिक सङ्कलन गर्दा सबैभन्दा बढी खाडीबाट रकम उठ्ने गरेको उहाँ बताउनुहुन्छ ।  

‘हामीले जसको लागि भन्दै पैसा पठाउँछाैँ, त्यो रकम त्यहीँ पुग्छ । कुनै तलमाथि पर्दैन’, उहाँले भन्नुभयो, ‘पैसा पठाएको, उसले पाएकाे/नपाएको सबै सजिलै थाहा पाउन सकिने भएकाले पनि विश्वास बढेको छ ।’  पवित्राले नेपालमा मात्र हैन विदेशमा समस्यामा रहेका नेपालीहरुलाई पनि सहयोग गर्नुभएको छ । 

कतिपय नेपाली विदेशमै पीडामा पर्छन्

धनकुटाकी गोन्दा शेर्पाका भाइको क्षयरोगले ज्यान गयाे । भाइको उपचार र काज किरियाको ऋण तिर्न गोन्दा इजरायल पुग्नुभयो । इजरायल पुगिसकेपछि उहाँलाई पनि क्षयरोग देखियो । एक महिना उहाँ होस्टेलमा बस्नुभयो । त्यसपछिका १० महिना उहाँले अस्पतालमै बस्नुपर्‍याे ।

१० महिनापछि अस्पतालले अब तपाईँलाई ठिक हुन्छ, अरुलाई पनि सर्दैन भन्दै डिस्चार्ज गरिदियाे ।  अस्पतालको डिस्चार्जपछि उहाँ शेर्पा सङ्घको अपार्टमेन्टमा बस्नुभयो । तर त्यहाँ रहेका केही नेपालीले नै उहाँलाई त्यहाँ बस्न दिएनन् । 

नेपालीले नेपालीमाथि नै गर्नेे यस्तो व्यवहार पवित्रा आफैले पनि भोग्नुभएको छ । आफू इजरायल पुगेको तीन महिनापछि बिरामी पर्दा कतिपय नेपालीबाटै सहयोग पाउनुभएन ।  ‘म बिरामी पर्दा पनि नेपालीबाट सहयोग पाइनँ । त्यही व्यवहार फेरि गोन्दाले पनि भोग्नुपर्‍याे’, ति दिन सम्झँदै पवित्राले भन्नुभयो । 

अपार्टमेन्टमा बस्न नदिएपछि गोन्दालाई एक जना नेपाली मुना केसीको कोठामा राखियो । तर उहाँलाई रोगले च्याप्दै गयो र केही दिनपछि उहाँको ज्यान गयो । उहाँको शवलाई घरसम्म पुर्‍याउने व्यवस्थादेखि परिवारलाई दुई लाख ७० हजार रुपैयाँ जुटाउने काम पवित्रा आफैले गर्नुभयो ।  

झस्काइरहने एउटा घटना 

पवित्रालाई दुई वर्ष अघिको एउटा घटनाले आजसम्म झस्काइ रहन्छ । पवित्रा दिनभर आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । साँझतिर फुर्सद भयो । उहाँले आफ्नो म्यासेन्जर खोल्नुभयो ।

म्यासेन्जर खोल्ने बित्तिकै भिडियो कल आयो । पवित्राले फोन उठाउनुभयो । फेसबुक म्यासेन्जरमा भिडिओे कल गर्ने चितवनका ११ वर्षीय बालक विवेक आचार्य रहेछन् । उनी क्यान्सर लागेर भरतपुर अस्पतालमा भर्ना भएका रहेछन् ।

विवेकले म्यासेन्जरमा भने, ‘दिदी मर्नुभन्दा पहिले पेटभरि मासु र भात खान मन छ ।’ अस्पतालबाट एउटा बालकले यसो भन्दा उहाँलाई छटपटी भयो । उहाँले त्यसकाे भाेलिपल्ट नै नाै हजार रुपैयाँ पठाउनुभयो ।

त्यसपछि सहयोग सङ्कलन गरेर ७० हजार रुपैयाँ पनि पठाउनुभयो । तर दुःखको कुरा ती बालकको पैसा पठाएको केही दिनमै ज्यान गयो । अस्पतालको बेडबाट ११ वर्षीय बालकले भनेको त्यो शब्द उहाँको मानसपटलमा अहिलेसम्म ताजै छ । 

अहिले पहिलेजस्तो छैन । गाउँठाउँमा दुःखमा परेका, गरिबहरुका आवाज मिडियामा आउन थालेका छन् । ‘उहाँहरुका दुःख पीडाले नै मैले विदेशमा रहेका नेपाली दाजुभाइहरुसँग समन्वय गर्दै सकेको आर्थिक सहयोग जम्मा गरेर पठाउँछु’, पवित्राले भन्नुभयो । 

भोको पेटले नै भोकलाई चिन्छ 

नेपालीलाई आर्थिक सहयोग गर्ने पवित्रा धेरै कमाउने जागिरे र धनी हुनुहुन्न । उहाँ आफैले पनि कति दिन पेट भोकै राख्नुपरेको थियो, इच्छाहरुलाई मनमै मार्नुपरेको थियो । पवित्राका आफ्नै कथा छ । पैसा के हो ? यसको महत्त्व कति छ ? पैसा नहुँदा कस्तो जीवन जिउनुपर्छ उहाँलाई राम्रोसँग थाहा छ । पैसा नहुँदा पवित्राको पढ्ने सपना पूरा भएन । 

‘भोको पेट, मनको रहर अनि पैसाको महत्त्व मलाई राम्रोसँग थाहा छ । त्यसैले पनि कसैले भोकै बस्न नपरोस्, शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै म समाजसेवामा लागेकी हुँ’, पवित्राले आफ्नो विगत सुनाउनुभयो । पहाडी जिल्ला धनकुटामा जन्मनुभएकी पवित्राको बालापन पहाडमै बित्यो । उहाँलाई पढ्ने औधी रहर थियो । गाउँमा कक्षा ५ सम्म जसोतसो पढ्नुभयो । 

विद्यालय पुग्न जङ्गलको बाटो हुँदै एक घण्टाभन्दा बढी हिँड्नुपर्थ्याे । कहिले विद्यालय पुग्दा पढाइ सुरु भइसकेको हुन्थ्यो । कक्षामा ढिलो पुग्दा सजाय पाइन्थ्याे । त्यतिखेर छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता एकातिर थियो भने अर्कोतिर घरको आर्थिक अवस्था पनि राम्रो थिएन । 

पवित्राले विद्यालय छोड्नुको विकल्प थिएन । तर त्यसो भएन । पवित्राकी गाउँले फुपू नाता पर्ने एक जना काठमाण्डौमा हुनुहुन्थ्यो । उहाँ पढ्नको लागि फुपूसँगै काठमाण्डौ आउनुभयो । जुन रहर र सपना बोकेर पवित्रा काठमाण्डौ पुग्नुभयो तर काठमाण्डौ पुगिसकेपछि त्यसो भएन । 

काठमाण्डौ पुगिसकेपछि फुपूले बोली फेर्नुभयो । आफ्ना बच्चालाई हेरिदिएपछि खाना खुवाउन र बस्नसम्म दिने तर पढाउन नसकिने बताउनुभयो । पढ्ने इच्छाले काठमाण्डौ पुगेकी पवित्राले फुपूको बालबच्चा हेर्दै पढ्न थाल्नुभयो । ९ कक्षासम्म मात्र पढ्नुभयो ।

‘पैसा नहुँदा कोही आफ्नो हुँदैन रहेछ । मलाई त्यतिखेर थाहा भयो, पैसा नहुँदा के हुँदो रहेछ भन्ने’, पवित्राले आफ्नो अनुभव सुनाउनुभयो । फुपूसँगै बस्दा पवित्राको भेट भोजपुरका हरिप्रसाद ढकालसँग भयो । उहाँ नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो ।

अरुको घरमा बसेर काम गर्नुभन्दा उहाँलाई बिहे गरेर नै बस्न उचित लाग्यो । पवित्राले २०५२ साल वैशाख ३ गते ढकालसँगै बिहे गर्नुभयो । बिहेपछि पवित्रालार्ई आशा थियो, श्रीमान जागिरे हुनुहुन्छ, पढाउनुहुन्छ होला । तर बिहेपछि पवित्राले जे सोच्नुभएको थियो त्यो भएन । उहाँको पढाइ पनि छुट्यो । 

‘बिहेपछि त श्रीमान् र घरपरिवारको बन्धनमा परिँदो रहेछ’, पवित्राले ती दिन सम्झँदै भन्नुभयो, ‘बिहेपछि त झन् के पढ्न पाउनु, विद्यालय छोडेरै घरमा बसेँ ।’ बिहे गरेको एक वर्षपछि २०५३ साल भदौमा छोरा जन्मे । पवित्रा र  उहाँको श्रीमानको सम्बन्ध पनि चाहे जस्तो भएन । 

विदेशको सोच

श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि घर खर्च चलाउन झनै समस्या हुन थाल्यो । त्यसपछि उहाँलाई विदेश जानुपर्छ भन्ने लाग्यो । छोरा सानै थियो । उहाँले आफू विदेश जाने कुरा सानिमा र फुपूलाई भन्नुभयो । उहाँले छोरालाई होस्टेलमा राख्न र विदेश जान सल्लाह दिनुभयो ।

सानीमा र फुपूको सल्लाहअनुसार उहाँ इजरायल जाने निधोमा पुग्नुभयो । उहाँलाई विदेश जान आर्थिक सहयोग पनि फुपूहरुले नै गर्नुभयो । पवित्राले इजरायलको लागि वृद्धवृद्धाको हेरचाह गर्न केयर गिभरमा भिसा अप्लाइ गर्नुभयो । उहाँको भिसा लाग्यो र उहाँ २०६३ साल असार ३० गते इजरायल जानुभयो । 

त्यहाँ उहाँले वृद्धवृद्धाको हेरचाह गर्ने काम थाल्नुभयो । अहिले पनि उहाँ यही काममा हुनुहुन्छ । 

‘यहाँ काम सानो ठूलो हुँदैन । आ–आफ्नो सीप र क्षमताअनुसार जसले जे काम पनि गर्छ । काम गरे अनुसारको पैसा पनि हुन्छ’, उहाँले भन्नुभयो । पवित्रा इजरायल बस्न थाल्नुभएको १५ वर्ष भयो । उहाँको एक महिनाको तलब मासिक दुई लाख ७० हजार रुपैयाँभन्दा बढी हुन्छ । 

बेवारिसे नागरिकको लागि काम गर्ने योजना

१५ वर्षदेखि विदेशमा काम गर्दै आउनुभएकी पवित्रालाई अब नेपाल फर्केर सडकमा बेवारिसे अवस्थामा बसिरहेका नागरिकको हितमा काम गर्ने इच्छा छ ।

‘कोरोना कहरमा सडकमै बसेकाहरुको समाचार पढ्दा हेर्दा साह्रै मन पोल्यो, अब नेपाल फर्केर सडकका नागरिकको सेवा गर्न मन छ’, उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘सडकमा बस्ने मान्छे को हो ? किन सडकमा आयो ? उसको जग्गा जमिन छ या छैन ? यो विषयमा खोजी गर्ने काम सरकारको हो । तर विडम्बना हाम्रो सरकारलाई नागरिकको चिन्ता छैन ।’  

अन्तिम अपडेट: कात्तिक २५, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया