भौगर्भिक अध्ययन सहित बाढी पहिरो पीडितको पुनर्स्थापना र स्थानान्तरण हुने

 भदौ ३१, २०७७ बुधबार ७:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भौगर्भिक अध्ययन सहित बाढी पहिरो पीडितको पुनर्स्थापना र स्थानान्तरण गर्ने भएको छ । सिन्धुपाल्चोक सहित पहिरोको जोखिम रहेका बस्तीहरुको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वय र काम थालिएको हो ।

बाढीपहिरो पीडितको पुनर्स्थापना र स्थानान्तरणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छलफलपछि कार्ययोजना बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव, सिंचाइ विभागका उपमहानिर्देशक, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख, प्रदेश सरकारको सम्बन्धित मन्त्रालयका प्रतिनिधि एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रहनुभएको छ ।

समितिले १५ दिनभित्र जोखिम बस्तीको पहिचान गर्नेछ । संरक्षण गर्न सकिने बस्तीका लागि संरक्षण सम्बन्धी कार्ययोजना पनि बनाउनेछ । त्यसैगरी, बस्ती स्थानान्तरण गर्नुपर्ने भए सुरक्षित स्थान सहित त्यसको कार्यतालिका र कार्ययोजना पनि प्रस्ताव गर्नेछ ।

त्यसका लागि आवश्यक बजेट एवं त्यसको स्रोत, जनशक्ति, विद्यमान कानूनी व्यवस्था र एकीकृत प्राविधिक निर्देशिका पनि तयार गर्नेछ । त्यस्तै, समितिले संविधानमा तोकिएको तहगत सरकारको जिम्मेवारीका आधारमा कार्य विभाजन गर्न पनि सिफारिस गर्नेछ ।

समितिले तयार गरेको एकीकृत कार्ययोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकमा प्रस्तुत हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राकृतिक प्रकोपसँग जोडिएका क्षेत्रमा काम गर्ने निकायहरुबीच बृहत समन्वयको आवश्यकता देखिएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया