बैतडीमा बारअनुसार नागरिकताको प्रमाणपत्र वितरण गरिँदै

 असोज २, २०७७ शुक्रबार ११:२६:१३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - कोरोना भाइरसको जोखिम बढेपछि  जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार फरक-फरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । 

फरक पालिकाअनुसार नागरिकलाई फरक-फरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । आइतबार र सोमबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गरिनेछ । यस्तै, मङ्गलबार र बुधबार पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गरिने छ । 

यस्तै बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई नागरिकता प्रदान गरिने छ । पुर्चौंडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय हाताबाटै नियमितरुपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

नेपाली नागरिकता प्रमाणपत्रबाहेक अन्य सेवा भने सबै पालिकाका नागरिकलाई हप्ताको छ दिन नै प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । यस्तै जिल्लामा सङ्घीय सरकारको निर्णयानुसार अहिलेका लागि सार्वजनिक गाडी सञ्चालन हुने दिने तर स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्यरुपमा पालना गर्ने गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, 'मास्क नलगाई हिँड्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड नपाउनेलाई भने कानुनअनुसार कारबाही हुनेछ ।' गएकाे भदौ ८ गतदेखि जारी निषेधाज्ञा भदौ ३१ मा सकिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो  ।

अन्तिम अपडेट: चैत १५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया