कोरोनाका कारण ‘ई–कमर्स’ मा क्रान्ति

 असोज २, २०७७ शुक्रबार १७:९:५६ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – सबै किसिमका सामग्री 'ई–कमर्स' कम्पनीको माध्यमबाट उपलब्ध गराउने सोच ज्ञानेन्द्र खड्कालाई चार वर्षअघि अर्थात् सन् २०१६ मा नै आएको थियो । अमेरिकामा रहँदा एक्सल ट्रिप र ग्यापु डटकम दुवै अनलाइन केन्द्रित व्यवसाय एकैसाथ लन्च गर्ने उहाँको तयारी थियो । तर लगानीदेखि पूर्वाधार व्यवस्थापन गर्न गाह्रो भएपछि खड्काले अमेरिकाबाट एक्सल ट्रिप मात्रै लन्च गर्नुभयो ।

ग्यापु डटकम डोमेन दर्ता गरेर मात्रै राख्नुभयो । पछि नेपाल पर्यटन बोर्डसँग विदेशी पर्यटक नेपाल ल्याउने र पर्यटन वर्ष सफल बनाउन पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित चार वर्षे सम्झौता भयो । पर्यटन बोर्डसँगको सम्झौतापछि नेपाल ओहोरदोहोर गरिरहन पर्ने भयो । त्यसपछि एउटा कम्पनी मात्रै किन दुवै कम्पनी सञ्चालन गरौैँ न भन्ने खड्कालाई लाग्यो ।

नेपालमा पनि ई–कमर्सको ठूलो भविष्य देख्नुभएका खड्काले ग्यापु डटकम नेपालमा नै सञ्चालन गर्ने तयारी थाल्नुभयो । तयारीस्वरुप सन् २०१९ को अगस्टदेखि नै प्रविधि विकास गर्ने काम थाल्नुभयो । अप्रिल महिनादेखि सेवा सुरु गर्ने तयारी भएको भए पनि चैतमा लकडाउन सुरु भएको तीन दिनपछि ग्यापुले सेवा दिन सुरु गरेको हो ।

नेपालमा २० वर्ष अघिदेखि ई–कमर्सको सुरुवात भएको मानिन्छ । दुई दशकदेखि ई–कमर्सको सुरु भए पनि समुदायलाई त्यति धेरै विश्वस्त बनाउन सकिरहेको थिएन । खड्काले कम्पनी सञ्चालन गर्दा पनि अनलाइनमार्फत सामान बिक्री हुन्छ कि हुँदैन भन्ने डर लागेको थियो । अर्कोतर्फ लकडाउनका कारण तरकारीदेखि फलफुल र खाद्य सामग्रीदेखि सबै सामान किन्न कहाँ जाने भन्ने अन्योल थियो । 

त्यस्तो अवस्थामा ई–कमर्स मात्रै एउटा भरपर्दो माध्यम हुन पुग्यो । अनलाइनमार्फत सामान किन्दा महँगो पर्छ कि भन्ने धारणालाई पनि आफूहरुले चिर्न सफल भएको उहाँको भनाइ छ ।
जिरादेखि हिरासम्म र नुनदेखि सुनसम्मको कारोबार ई–कमर्समार्फत गर्न सकिन्छ भन्ने कुरामा आफूहरुले विश्वस्त पार्न सफल भएको ग्यापु नेपालका संस्थापक खड्का बताउनुहुन्छ । 

अहिले ग्यापुमा एक हजारभन्दा बढी भेन्डर र चार लाखभन्दा बढी उत्पादन उपलब्ध रहेका छन् । हरेक दिन सात सयभन्दा धेरै अर्डरको व्यवस्थापन गरिरहेको ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

यस्तै घर तथा कार्यालयमा आउने विभिन्न समस्या समाधान गर्ने उद्देश्यले अर्को ई–कमर्स कम्पनी ‘निर्माण साथी’ स्थापना भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको असहज परिस्थितिमा पनि कम्पनीले प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रङ्गरोगन, सिपेज (चुहावट) रोकथामलगायतका डिजाइन डेकोरेशनदेखि निर्माण र पुनर्निर्माणसम्मका सबै काम गर्दै आएको ‘निर्माण साथी’ का प्रमुख कार्यकारी अधिकृत कुमार भट्टले बताउनुभयो । 

सेवाग्राहीले भनेजस्तो सेवा नपाउने र सेवा प्रवाह गर्नेहरुले पनि एकीकृत भएर काम गर्न नसकिरहेको अवस्थामा त्यो समस्या समाधानका लागि ‘निर्माण साथी’ सञ्चालनमा ल्याइएको भट्ट बताउनुहुन्छ । कसैलाई एक जना प्लम्बर चाहियो भने एप अथवा अनलाइनमा गएर बुक गर्न सक्ने र कसैलाई काम चाहिएको छ भने पनि अनलाइन अर्थात् मोबाइल एपमा गएर सेवा प्रवाह गर्न सक्ने ‘निर्माण साथी’ ले जनाएको छ । 

अनलाइनमा बुक गरेको दुई घण्टाभित्र सेवा प्रदान गरिने ‘निर्माण साथी’ का  प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो । 

यस्तै खानासँगै खाद्यान्न डेलिभरीका लागि अर्को इ–कमर्स कम्पनी भोजडिल सञ्चालनमा आएको छ । रेस्टुरेन्ट र होटलकै मूल्यमा ग्राहकलाई घरमा सेवा पुर्‍याउने र खाद्यान्न पनि उपलब्ध गराउने उद्देश्यले अनलाइन प्लेटफर्मको विकास गरिएको भोजडिलका अपरेशन म्यानेजर विष्णु सुवेदी बताउनुहुन्छ ।  

निकेत अग्रवालले सन् २०१५ मा नै अनलाइनमार्फत सेवा प्रवाह गर्ने सोच राख्नुभएको थियो । सुरुमा डेलिभरी नगर्ने र अर्डर मात्रै लिने गरी काम सुरु गरिएको भए पनि अहिले भने डेलिभरीसमेत सुरु गरिएको सुवेदीको भनाइ छ । 

लकडाउनभन्दा पहिले शुक्रबार र शनिबार धेरै अर्डर आउने गर्थ्यो । लकडाउनपछिको समयमा शुक्रबार र शनिबारको जस्तै गरी सबै दिन अर्डर धेरै आउने गरेको सुवेदी बताउनुहुन्छ । दैनिक झण्डै एक हजार अनलाइन अर्डर आउने गरेको र अर्डरअनुसार व्यवस्थापन गर्न नै गाह्रो भइरहेको भोजडिलका सुवेदी बताउनुहुन्छ ।

भोजडिल, ग्यापु, निर्माण साथीजस्ता धेरै ई–कमर्स कम्पनी अझै खुल्ने क्रममा छन् । एक सयभन्दा धेरै कम्पनीहरु यसबीचमै खुलिसकेका छन् । यस्ता कम्पनीले कोरोना सङ्क्रमण र त्यसले निम्त्याएको परिस्थितिले आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर पाएका छन् । 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण मानिसहरु अहिले घरबाहिर निस्कनुअघि धेरै विचार गर्छन् । कतिपय देशहरुमा अझै लकडाउन कायम नै छ । यस्तो परिस्थितिमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ । घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता पनि बढ्दो क्रममा रहेको इ–कमर्स कम्पनीका सञ्चालकहरु बताउँछन् ।

सेवा प्रवाह गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने, ग्राहकको विवरण, बिल बिजक, परिचयपत्र, डेलिभरी गर्नेको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने प्रावधान सरकारले बनाएको छ । सबै सेवा प्रोभाइडरहरुलाई मास्क, ग्लोब्स, स्यानिटाइजर लगायत स्वास्थ्य सावधानीका लागि आवश्यक सामग्री उपलब्ध गराइएको सेवा प्रदायक कम्पनीका सञ्चालकहरुको भनाइ छ ।

सेवा लिनका लागि घरबाट बाहिर निस्कन नपर्ने, समयको सदुपयोग हुने लगायत कारण सेवाग्राहीहरु अनलाइन अर्डर र अनलाइन भुक्तानीतर्फ आकर्षित हुन थालेका छन् । कोरोना सङ्क्रमणको डरले धेरै मानिसहरु घरैमा सीमित हुनुपरेको सन्दर्भमा ई–कमर्स अर्थात् अनलाइन केन्द्रित कारोबारको महत्त्व झनै बढेको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया